रोनाल्डोसँग जोहेनेस्बर्ग विमानस्थलमा
यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया
विश्वकप हारेपछि
एक झोला पराजयको
नमीठो अनुभव बोकेर
घर फर्कदै गर्दा
अभा अपहरीत
क्रिस्चियानो रोनाल्डोलाई
जोहानेसबर्ग विवानस्थलमा
भेटेको थिएँ |
म उसको प्रसंशक हुँ
उसलाई बताएँ,
हार्नुको उसको पीडा
भाग लगायो मलाई,
मैले पनि पहिलो पल्ट
छातीमा मडारिरहेको
आफुले हारेको युद्धको वेदना बाँडें |
म रित्तो देखेर
उसले उत्सुकता जनायो,
“खै केमा बोकेका छौ तिम्ले पराजय?”
“पराजयको पुरानो पोको बोकेर
कति हिँडेँ कति
पाइला हराई जाने मान्छेको भीडमा
तर
कसैले सोधेन आजसम्म
त्यो झोलामा के थियो भनेर
त्यसैले
भर्खरै मात्र पराजय
झिकेर त्यो झोलाबाट
मनको खोकिलामा हालेकोछु |”
फेरि पनि उसले
आफ्नो हारको कुरा उठायो
मनै अमिलो पारेर
र आश्वासन दिएँ ,
“विश्वकप फेरि फेरि आउँछ
फेरिई फेरिई आउँछ
चारचार वर्षमा आउँछ
तिम्ले जित्न सक्ने
सम्भावनाहरू मरेका छैनन्
त्यो पराजयले पोल्यो भने
त्योभन्दा भयानक पराजय भोगेको,
स्विकार्नै कठिन हार बेहोरेको
एउटा सहनशील मान्छे पनि छ
भनेर सम्झनु मलाई
जो ल्याबरिन्थमा अलमलिएको
डेडालस जस्तै
निश्चित अनिश्चितताको
चक्रब्यूहमा फँसेकोछ |”
“म त सधैंकालागि
हारेको एउटा सिपाही,
नागरिकता खोसिएको अनागरिक
भाग्य फुटेर देशै हार्ने
साढेसातको दशा लागेको अभागी,
पराजय बोकेर तिमी
कमसेकम
आफ्नो देश त फर्कंदैछौ,
देशवासीसँग बाँड् दै दुःख
देशसँग बिलौना गर्न सक्नेछौ,
के तिमी मलाई भन्न सक्छौ
कहिले गरौंला म
अब अर्को युद्ध ?”
चुपचाप शिर निहुराएर
आँसु झार्दै
छाँद हाल्यो मलाई उसले
र
यसरी छुट्टियौं हामी |