लिथोको खोजीमा म

रुपनारायण पोखरेल
क्यालिफोर्निया, अमेरिका

मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ
लेखें मैले मेरो निस्तृत नियात्रा,
खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा
धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले ।
बोकेको छु मैले झोलामा नियालेर घरी घरी हेर्छु
अनि फेरि पट्याएर राख्छु मेरा प्रत्येक एकल यात्रामा ।
मानिसले थापेका धेरैवटा पसलमा
तिनै स्टेनशीलका निम्ति लिथो खोजें,
अरुलाई चाहिएका सबै सामग्री हुन्छन्
मैले खोजेको लिथो म पाउनै सक्तिन ।
दिनानुदिन विरहका छल्का मनमा उठ्छन्
माथि माथि उम्लेर पोखिन्छन्
जब पोखिन खोज्छन् अनि त्यही सकिएको रिफीलले
दियालोको प्रकाशमै भए पनि स्टेनशीलमा उतार्छु
र, फेरि लिथो खोज्न बजार पस्छु
अरुलाई चाहिएका सबै सामग्री हुन्छन्,
मैले खोजेको लिथो म पाउनै सक्तिनँ ।
कसैलाई सोध्न खोज्छु वैकल्पिक उपाय
तर, मेरा निरस्थी जिब्राले आँट गर्दैन
म साँच्चै याचकसरी यत्रतत्र भौंतारिन्छु
झोलामा आशै-आश बोकेर ।
दीक्षितले झैं हातको तकिया लगाई
गगन मुनि रुखका छहारीमा सुत्तै हिँड़्छु
अनि घुम्दै उस्तै मानिसका पसलमा पुग्छु,
अरुलाई चाहिएका सबै सामग्री हुन्छन्
मैले खोजेको नाथे लिथो म पाउनै सक्तिनँ ।

ती बजारमा बस्ने र मेरो
जीवनशैली अलग छ
सन्ध्या पहाड़ीले भनेझैं
‘‘पुरुष तिमीले,
शताब्दियौं लगाएर,
राम्रो जाल बुन्यौ,
हामीलाई अधुरोपन दियौ’’,
भान हुँदै मेरा यात्रामा
ठेस सहँदै हिँड़िरहें
अधुरोपन बोक्दै हिँड़ें
र, स्टेनशीलका पाना भर्दैरहें
यो अर्बाचीन युगले सबैको उदार गर्‍यो,
मलाई मैले खोजेको नाथे लिथो दिएन
मेरो नियात्रा स्टेनशीलमै अधुरो रह्यो ।
आधुनिक मुस्कान ओठमा बोक्ने धेरै छन्,
म मान्छे पढ़्ने मान्छे, त्यसैमा फरक छु,
उनीहरूमा दिव्य मुस्कान संरक्षित छ
साँच्चै ‘ओक्टेड’ सिद्धान्तसाबित छ
तर, म त हाईड्रोजनतुल्य छु
जतिखेर पनि जल्नसक्छु !
मलाई प्रयोग गर्न खोज्छन्,
जब मेरो जीवनशैली बुझ्छन्
यो फुटेको मुरली भनी फाल्छन्,
त्यसैले त, आफ्नै किनारा
खोज्दै हिँड़्ने म स्टेनशीलमै
नियात्रा उतारी
पुस्तकालयमा सजाउँदैछु ।

(२००१ नोभेम्बर २० को क्युनसेलमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *