लिला निशा, बुढो रुख र सान्नानीको इन्द्रेणी

लेखक
लेखक

भक्त घिमिरे
अमेरिका

“बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा”

केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको सिलसिलामा कवयत्री लिला निशाको बुढो रुख र सान्नानीको इन्द्रेणी नामक कृतिमा समीक्षात्मक टिप्पणी गर्ने मेरो जिम्मेवारी थियो । त्यसकै सन्दर्भमा मैले यी निम्न कुरा गर्नचाहें । पाठकहरुबाट उचित प्रतिक्रियाको आशा गरेको छु ।

साहित्यको कुरा शुरु गर्नेबित्तिकै यतिबेला ‘कस्तो खाले’ साहित्य भनेर प्रसंग उठ्ने गरेको छ । यहाँ विचारका ‘वाद’हरुको प्रसंग उठाएर तराजुमा जोख्न खोजिएको होइन । तर, साहित्य पनि एक कलाको रूपमा परिभाषित भएकोले त्यो कला कलाकै लागि हो कि जीवनको लागि भन्ने निर्क्यौल अवश्य नै हुनुपर्छ । त्यो साहित्य समाज र जीवनसँग सापेक्ष वा निरपेक्ष, बुद्धिविलासको साधन वा जीवनसँग सम्बन्धित, अग्रगामी वा पश्चगामी, यथास्थितिको विचारमा आधारित वा प्रगतिशील विचारमा आधारित भन्ने जिज्ञासाहरु साहित्यको शब्दावलीसँगै जुर्मुराएर उठिहाल्छन् । यस्ता सवालहरुमा केन्द्रित हुँदा अवश्य नै ‘बुढो रुख र सान्नानीको इन्द्रेणी’ भित्रका लिला निशाका कविताहरु जीवनसित प्रत्यक्ष सरोकार राख्ने खालका छन् ।

Leelaयही सिलसिलामा वर्तमान साहित्यमा देखापरेका केही असमझ्दारीपूर्ण शब्दावलीहरुको टिप्पणी पनि गरिहाल्न मन पऱ्यो । पश्चिमेली अंग्रेजी साहित्यको चर्चा यहाँ नगरौं । नेपाली साहित्यजगतकै कुरा गर्दा ‘राजनीतिक’ र ‘क्रान्तिकारी’ जस्ता शब्दहरु यतिबेला जतासुकै छताछुल्ल पोखिने गरेका छन् । छलकपट, जालसाजी र धुर्त्याइँलाई राजनीति र अराजकतालाई क्रान्ति भन्ने गलत अर्थ लगाइने गरेको छ । क्रान्ति भनेको कुनै गलत कुरा होइन । समाजको समग्र उन्नति र प्रगतिमा लक्षित कुनै परिवर्तन भएमा त्यो क्रान्ति हो । यस अर्थमा समाजलाई हरेक चरणबाट न्याय र समानताको लागि अग्रसर गराउने वैचारिक धरातलमा रहेर लेखिएको साहित्य अवश्य नै क्रान्तिकारी हुन्छ र हुनुपर्छ । परिवर्तन र न्यायको वकालत गर्ने सिर्जनालाई साहित्य नभई ‘नारा’ वा ‘राजनीति’ मात्र देख्ने, साहित्यलाई केवल विलासिताको साधन ठान्ने आँखाहरुले भूपि शेरचनको ‘हुँदैन बिहान मिरमिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए’ कवितालाई कसरी हेरे थाहा छैन । कसैले ध्वजा र रंग पोतेर बनाएको मन्दिरतिर पिठ फर्काएर बसेकोमा भगवानलाई पिठ्यूँ देखाएको, अपमान गरेको अभियोग लाग्ने, समूल मूर्तिलाई सिंगो भगवान ठानिने त्यस जमानामा लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ (यात्री) कवितालाई कसरी बुझे थाहा छैन । ती ‘कला कलाकै निम्ति’ भन्नेहरुसँग निरंतुशता र अन्यायविरुद्ध विद्रोह चेतना र न्यायको उपाय सुल्झाउन सकेन भने साहित्यले समाजलाई केचाहिं दिने हो त भन्ने प्रश्नको उत्तर छ-छैन, त्यो पनि थाहा छैन ।

अब लागौं भूटान केन्द्रित साहित्यिक धरातलको सन्दर्भतिर । भूटानको साहित्यिक सन्दर्भ उठाउना साथ नेपाली भाषाको वर्चस्व पहुँचको प्रसंग पहिले आउने गर्दछ । यो किन भयो भने भूटानको साहित्यिक सन्दर्भमा नेपाली भाषाको मात्रै वर्चस्व कायम छ अहिलेसम्म । अंग्रेजी र जोंखाको साहित्यिक मैदान तयार भएकै छैन अझै । एकाध अंग्रेजी पुस्तकहरु लेखिएका छन् तर, तिनले साहित्यिक गुण समेटेका छैनन् । मानवाधिकारबारे दस्तावेजका रूपमा, केही राजनीतिक चिन्तनका सवाल र तथ्यांकका रूपमा लेखिएका कुरा सबैलाई साहित्य मान्न सकिँदैन ।

यसर्थमा, भूटानको साहित्यबारे कुरा उठाउँदा नेपालीभाषी स्रष्टाहरुबाटै शुरु हुने भो । त्यसमा पनि हामी यहाँ कृतिगत कुरा अघि बढाउँदैछौं । आजको भूटानी साहित्यिक परिदृश्यमा नारी स्रष्टाहरुको सङ्ख्या नगन्य नै छ । यही न्यूनता र अभावबीच जन्मिएका छन् लिला निशा र उनको ‘बुढो रुख र सान्नानीको इन्द्रेनी’ (२०१५) । कवयत्री लिला निशाले एकदशक अघिदेखि नै कविता यात्रा आरम्भ गरेकी हुन् । खुदुनाबारी शिविरमा हुने कुनै पनि साहित्यिक कार्यक्रमहरुमा जाँदा लिला निशालाई व्यस्त शिक्षिका र समाजसेवीको रुपमा देखिन्थ्यो । मैले प्रथचोटि लिला निशाको दर्शन “पहिलो पाइला संयुक्त कविता सङ्ग्रह (२००३)” मार्फत त्यही शिविरस्तरीय कार्यक्रममा पाएको हुँ ।

यसरी त्यसयता कविता क्षेत्रमा देखापरेकी लिला निशाको निकै लामो सङ्घर्ष, अभ्यास र क्रियाशीलतापछि यो कृति प्रकाशित भएको हो । यस कृतिमा जम्मा ४१ वटा कविता रहेका छन् । आकारका दृष्टिले यी कविता छोटा र मझौला किसिमका छन् । यस कृतिमा उनका केही कविता त एक अनुच्छेदमा समेटिएका मुक्तक शैलीका छन् । ‘जिन्दगी १’ र ‘जिन्दगी २’ कविता पंक्तिहरु यस सम्ष्टिका साँच्चै नमूनाको रूपमा प्रकट भएका छन् । यो कविता लेखनको नौलो विधि हो । वर्तमान नेपाली साहित्यमा केस्रा, रेखा, युग्मक आदिजस्ता नौला लेखनविधिहरु प्रवेश भइरहेको सिलसिलामा लिला निशाले पनि यो नयाँ शैली भित्र्याउनुलाई स्वागत योग्य नै मान्नुपर्दछ । उनका कवितामा राज्यको निरङ्कुशताबाट लखेटिएको भूटानी समाजको अस्थिर चित्र, संक्रमणकालीन समय-परिवेश र विस्थापित चेतना अभिव्यक्त भएको छ ।
यो कृतिको शीर्षक एक विम्बात्मक यथार्थ चित्रण हो । बुढो रुखले सेलाउँदै गएको अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ र ‘सान्नानी’ले अनन्त आकाङ्क्षा र अभिष्ट राख्ने नवपुस्ताको ।
Nisha“…म त यहाँ नेपालमा
शरणार्थी भएर बस्दिनँ बा
नेपाली जनताकै लागि संविधान बनेको छैन
हाम्रा लागि के बन्ला र?
बरु जाउँ बा
अमेरिकातिरै जाउँ
तल्ला लाइनका राई दाजु
हाम्रै छिमेकी गुरुङ भाइ
अनि सेतेकी आमा पनि
भल्ट्याङभुल्टुङ लिएर
उतै जाने रे
भन्छिन्- छोराछोरीको भविष्य
एकदमै राम्रो हुन्छ रे
………धूलो पनि उड्दैन रे
……….
बिरामी पनि होइन्न रे !
त्यसर्थ जाऔं बा
उतैतिर जाऔं !”

इन्द्रेणी टिप्ने रहर भएका ‘सान्नानी’हरु यसरी आफ्ना अभिभावकहरुसित कहाली लाग्दो दुर्दशा बोकिरहेको शरणार्थी शिविर छोडेर अन्यत्रै जान आग्रह पुकारा गरिरहेका बेला ‘बुढो रुख’लाई प्रतिनिधित्व गर्ने अग्रजहरु भनिरहेका थिएः-
“जा,
सान्नानी जा
अमेरिकातिरै जा
तँलाई के थाहा र?
आफ्नो माटो नहुँदाको पीडा
नागरिकता नहुँदाको व्यथा
तैंले आफ्नो माटोमा
पाइला टेकेकै छनस्
दश नंग्रा खियाएर
कर्म गरेकै छैनस्
दूबो, घोडेझार जिलाएर
अन्न फलाएकै छैनस्
सुपारी बगान, अदुवा रोपेकै छैनस्…
अनि तँलाई कसरी थाहा हुन्छ
आफ्नो माटोको गन्ध ?
त्यहाँ बग्ने नदीहरु
मानस, जलढका हुन्न क्यारे…”

हुन त आज माटो, खोला, झरना र भुगोलमा सीमांकित देशलाई भावनामा अन्तरंगित देशले जितिसकेको छ । यो अघिल्लो देशभन्दा पछिल्लो देश अझ बलियो र स्थायी हुन्छ भन्ने कुरा परिवेशले सिद्ध गरिसकेको छ । जन्मिएर टेकेको दुई पाइला धरती नै सच्चा देश हो अनि हामीले टेकेको सारा धर्ती हाम्रै देश हो भन्ने कुरा आजको सामाजिक भावनामा विकसित हुँदै गएको छ । तथापि, यहीबीचमा अनेक जाति, भाषा, संस्कृति र भौगोलिक सिमानाको लागि चलेका द्वन्द र युद्धहरुले विरोधाभासपूर्ण स्थिति पैदा गरिरहेका कुरालाई पनि नकार्न सकिँदैन ।

यस्तै पुस्ताहरुबीचको विरोधाभासपूर्ण मानसिकताको स्केच खिचेकी छन् लिला निशाले यस कृतिमा । जुनसुकै समाजमा पनि अघिल्लो र पछिल्लो पुस्ताबीच केही न केही अन्तर भई नै रहन्छ । जहिल्यै पनि एक किसिमको द्वन्द र अन्तर्संघर्ष चलिरहेकै हुन्छ । वैचारिक तादात्म्य रहँदैन नै । भूटानी शरणार्थी शिविरबाट तेस्रो देश पुनर्वास जानेक्रममा पनि यस्ता अनेकन अन्तरसंघर्षहरु देखिए- पुरानो र नयाँ पुस्ताबीच । कृतिको शीर्षकले त्यही संकेत गरेको छ ।

कवयत्रीको कलमले पुनर्वासपछिका सान्नानी र बुढारुखहरुको कथा पनि सिर्जेला-अनुमान र आशा गर्दछु । किनकि उनी सधैं यही फाँटमा लगनशील-क्रियाशील छन् । धेरै नेपाली कविहरुले नेपालीहरू बसाइँ हिँड्ने, श्रम गर्न विदेशिने प्रवृत्ति र तिनको अस्थिर जिन्दगीका बारेमा लेखेका छन् । तिनका पीडा, समस्या र मूल्यहीताका बारेमा चित्रण गरेका छन् । त्यही क्रममा उभिएकी छिन् लीला निशा पनि । राजनीतिक पहिचान र नागरिकताको सवालमा भूटानी भए पनि लिला निशा भारतीय भाषिक चेतना र जातीय पहिचानको अभियानबाट गहिरो छाप परेकी सर्जक हुन् भन्ने उनको कवित्वले छर्लंग पारेको छ । दार्जीलिङ क्षेत्रको गोर्खाभूमिका लागि चलेको शताब्दि पुरानो तर असफल आन्दोलन, आसाम, मणिपुर र बर्मातिरबाट सधैं उच्छेदित भएर नेपालीहरुले अनिश्चितताको यात्रा गर्नुपरेको कुरालाई उनका सिर्जनाहरुले दर्शाएका छन् । ‘समय र धनेहरु’ शीर्षकभित्र उनी पग्लिएकी छन् जातिको अस्थिर पहिचान र दुर्दशाप्रति । उनको यो कविता अर्का भूटानी कवि सञ्चमान खालिङ्को “धनेहरु निरन्तर हिँडिरहे” भन्ने कविताको समपूरक देखिएको छ । खालिङ र निशाहरु, हामीहरु सबै कविताका ‘धनेहरु’ सरह छौं-अस्थिर ठेगाना, शोषण, भोक र अतृप्त स्वप्नाका सूत्रधारहरु । वीर जातिको ऐतिहासिक धरोहर ढालेर भौंतारिँदै हिँडेका हामी ! संगठन र एकताको अभावमा आफ्नै थात-थलो छोडेर डर र त्रासको शिकार हुँदै हिँडेका हामी आफैंप्रति गुनासो सो कवितामा झल्किएको छ यसरीः-
“…एक मुठी आवाज उठाउन सक्दैनन्
त्यसैले त वर्मा दुख्यो
दार्जिलिङ पनि दुख्दैछ
भूटान त झन् दुखिरहेछ
अनि आसाम डिगबोइ पनि
नदुखेको कहाँ हो र?” ( समय र धनेहरू)

एकताबद्ध क्रान्ति चेतनाको अभावले बसाइँ सर्ने र हिँड्ने प्रवृत्ति उही भए पनि गन्तव्य भने धेरै अर्थमा फेरिएका छन् । त्यसको सङ्केत माथि उल्लिखित कविताहरुमा सजिलैसँग भेट्न सकिन्छ । बसाइँ सराई र विस्थापनकै प्रसंगमा केन्द्रित हुने हो भने डा. गोबिन्दराज भट्टराईको मुग्लान, रुपनारायण सिंहको भ्रमर, लिलबहादुर क्षेत्रीको ब्रह्मपुत्रको छेउछाउ, कृष्ण धराबासीको शरणार्थी-जस्ता उपन्यासिक कृतिहरु पनि भविष्यले आजकी कवि लिला निशाबाट पाउनेछ भनेर आशा गर्न सकिन्छ ।

कवितालाई वस्तृत रूप दिएर फिजाउँदै लानुभन्दा चुस्त र दुरुस्त भावगहनता दिने अर्थको सघनता खोज्नु कवयत्रीको एक विशेष प्रवृत्ति हो । प्रकृति, जीवन-चिन्तन, भोगाइगा सन्दर्भ र समसामयिक यथार्थको चित्रण गर्ने यी छोटा कविता विम्ब र प्रतीकमय बनेर उभिएका छन् । यस किसिमका कविता म र बोनसाई, काँडा, जीवनका प्यालाहरु, जिजीविषाका गीतहरू आदि हुन् । समसामयिक यथार्थवादको विन्दु छुने एक नमूना कविता यस्तो छः-

“एक बिहानै
एक हूल चरीहरू
कनिकामा मोती खोज्न
चलेलाको उकालो उड्दै छु
बान्की परेकी
आत्मविश्वासी
दृढ विचारकी उत्प्रेक
तिमी उसलाई जे सम्झ
तसलिमा, सुकी….

साँझ पर्छ
कटहरको रूखमा बचेराहरू
जूनको प्रतिक्षामा
सारङ्गी रेट्दै छन् ।”
(जिजीविषाका गीतहरू )

सामाजिक यथार्थ झल्काउने यस कविताले कनिकामा मोति खोजेको अर्थात सामान्य परिस्थितिमा पनि मूल्यवान् वस्तुको खोजी गरेको र रातको अन्धकारमा जूनको प्रतिक्षा अर्थात उज्यालो खोज्दै गरेको देखाइएको छ । यसरी नै ‘प्रेश नं २’ भन्ने कविताले भूटानीहरुको वर्तमान अमेरिकी जीवनलाई ऐनामा देखाइदिएको छ । अन्य कविताहरुमा पनि मिथक, प्रतीक र विम्बहरुको राम्रो प्रयोग पाइन्छ जसले कविताको सौन्दर्य र अर्थमा विशिष्टता थप्न मद्दत गरेका छन् ।

चरम गरिबी (शरणार्थी जीवन) -को मारसँगै हजार कठिनाइ, हण्डर र विपत्ति खेपेकी निशाको जिन्दगीप्रति गुनासोभन्दा बढी सकारात्मक आत्मचिन्तन छ; यसैलाई उनको महानता ठान्नु पर्दछ । ए जून, तिम्रै प्रतीक्षामा छन् ती आँखाहरू, क्याक्टस र काँडाजस्ता कवितामा उनको आशावादी चिन्तन प्रष्टै देखिन्छ ।

उनका केही कविता भने प्रेमसँग सम्बन्धित छन् । भ्यालेन्टाइन डे र मेरो प्रेम, प्रेम, पोट्रेट आकृति जस्ता कवितामा प्रेमजन्य गुनासो, कुण्ठा र वितृष्णावोध अभिव्यञ्जित भएका छन् ।

भूटानी शरणार्थी शिविरमा रहँदा नारी सरोकार, अधिकार र चेतना विस्तारका अभियानमा काम गरेकी हुन्-लिला निशाले । तर, उनको साहित्य सृजना नारी हक-हितमा केन्द्रीभूत भएको छैन भनेर टिप्पणी पनि प्रशस्तै सुनिएको छ । यद्यपि, समग्रतामा उनले ती नारीवादी चेतनाका अंकुरहरु आफ्ना कविताहरुमा गरेकी नै छन् । सम्बोधन, आधा आकाश जस्ता कविताहरुमा नारी उमंग र संवेदनाका कुरा झल्काइएको छ ।

नारी र नारीवादी चेतनाको कुरा उठी नै हाल्यो; यही विषयमा अलिकति भित्र पनि जाउँ न त ! वास्तवमा पुरुषप्रधान सामाजिक विश्वव्यवस्थामा नारीलाई मान्छे वा मानिसको रूपमा आजसम्म गनिएको छैन । लिला निशा र नारीवादको तुलना गर्नुभन्दा पहिले विश्वनारीवादी चिन्तनको वर्तमान स्थिति कस्तो छ भनेर मूल्यांकन गरिनु जरुरी छ । एकै समाजभित्र उनी भन्दा शिक्षित, अनुभवी र सामाजिक हैसियतमा माथिल्लो तह ओगटेका एकाध नारीहरू पढे-लेखेर विद्वान् भए पनि सुविधामुखी जीवनमै सीमित रहने प्रवृत्तिमा भुलिएका देखिन्छन् । यसरी अग्रजहरु साहित्यिक-सामाजिक उन्नतिका कुरातर्फ उदासीन रहेकै कारण अहिलेसम्म असमानता विद्यमान छ । समग्र विश्वमै पुरुषको आदेश र आशीर्वादबिना नारीले कुनै पनि काम गर्न नसक्ने मानसिकता उनीहरूले नै बोकेका छन् । जतिसुकै बठ्याइँ र चातुर्य भएर पनि नारीहरू पुरुषको इशाराबिना कुनै चुनौती र कठिनाइहरूको सामना गर्न अघि सर्दैनन् । बेगम खालिदा जिया, शेख हसिना, इन्दिरा गान्धी, सिरी मावो बन्दरा नायके, बेनजीर भुट्टो र हिलारी क्लिन्टनजस्ता केही नारीको नाम उच्चकोटिमा आए पनि यस्ता नामहरूले कुनै पुरुष खानदान वा वंशजलाई नै प्रतिनिधित्व गरिरहेका छन् । उनीहरूले नारीको सार्वभौम अस्तित्व खडा गर्न खोजेका भए त आजका तसलिमा नासरिन र आङसान सुकीसरह कैदमा हुन्थे कि त देशबाट लखेटिएका हुन्थे उनीहरू पनि !

पुरुषहरूको वीरता र वंशजको दम्भलाई अगाडि नराखी स्वसिर्जना र नवनिर्माणमा एक कदम पनि नसार्ने हीनताबोध विद्यमान छ नारीहरूमा । पुरुषसित असमझदारी भइहाल्यो भने पनि ती सम्बन्धित नारीहरुमा सोही पुरुषबाट आफूले चाहेको सुख-सुविधाको आशा परिपूर्ति नहुँदाको गुनासोमात्र हुनेगरेको छ । “यति मैले पाउनु थियो, पाइनँ वा दिएन” भन्ने गुनासोबाट अलिकति पर सरेर स्वनिर्भर चेतनाको विकास नारी आफैंमा विकसित हुने र उनीहरुले पनि आफूलाई समाजको एउटा सिंगो जिम्मेवार मान्छेको रूपमा गणना गर्नसके पो भरोसाको कुरा गर्न सकिन्थ्यो । नारीहरूको यस कमजोरीले पुरुषको स्वार्थ र घमण्डलाई शिखरमा पुर्याउने गरेको छ । सधैं ‘नजान्ने’ र ‘नसक्ने’ भएर पछि सर्ने नारीहरूले आफ्नो न अरुको, कसैको भलो गर्न सक्दैनन् !

एउटी नारीले अर्की नारीको प्रशंसा गरे त्यो व्यंग्य हुन्छ, इर्ष्या र डाहको संकेत हुन्छ । एक नारी आफूले चाहेको पुरुषबाट सद्दे मानसिकतामै, शुद्ध मानवीय चेतनामै अर्की नारीलाई प्रशंसा गरेको कुरा सुन्न पनि सक्तिनँ । यसो भएमा त्यो पहिली नारीको लागि पछिल्ली नारी साख्खै सौता बनिहाल्छे; रणचण्डीका बनेर त्यो नारी अर्की नारीमाथि जाइलाग्न पुगिहाल्छे । तर, एउटा जँड्याहा पुरुषले कुटिल कटाक्षमा ‘तिमी कति राम्री’ भनिदिए उनीहरू मख्खै हुन्छन् । विशुद्ध मानवीय चेतना, सदभावना र सहृदयतामा नारीहरुले कुनै औचित्य देखेका छैनन् कि भन्ने भान हुन्छ । सर्वसाधारण नारीको कुरा त बेग्लै छ; शिक्षित र जानकार नारीहरु पनि चार फिटको शरीर र चार इञ्चको पेट अनि युगल सुखमै केन्द्रित देखिन्छन् ।

एकजना जर्मन डाक्टरले लेखेका छन्-“हिंस्रक पुरुषहरूले सधैं राम्रा नारीहरूलाई शिकार बनाउने मनाशय राख्दथे । यसैकारण नारीहरू नमानेर भाग्ने नियत देखाए पनि भाग्न नसकून् भनेर पुरुष डिजाइनरहरूले हाईहील स्याण्डल बनाए । हाईहील स्याण्डल लगाएका नारीहरू दौडिन सक्दैनन् ! तर, विडम्बना ! आजभोलि खोक्रो सभ्यता दर्शाउने घमण्डमा अधिकांश पढे-लेखेका नारीहरू नै हाईहील स्याण्डल लगाउँछन् ।” तिनै डाक्टरले अगाडि भनेका छन्-“ठूल्ठूला पूँजीपतिहरूले बनाएका महलहरूमा शृंगारको रूपमा सजाउन ल्याइएका नारीहरू नै पछि ‘महिला’ भए । त्यसको अर्थ, आज महिला भनिने नारीहरू महलका गहना हुन् ।”

उनको भनाइमा ‘नर+नारी’-‘स्त्री+पुरुष’ हुनुपर्छ लैंगिक सम्बोधनमा । ‘महिला’ शब्दको विपरीतार्थक कुनै पुलिंग शब्द छैन । व्याकरणीय विधिमा गएर लैंगिक भेद छुट्याउँदा महल+महिला नै हुन्छ ! किनभने सामन्त पुरुषहरूले बनाएका महलमा साज-सज्जाको वस्तुका रूपमा राखिएका नारीहरू नै महलका गहना अर्थात ‘महिला’ भएका हुन् । त्यतिमात्र कहाँ हो र ! ‘तिमी कति राम्री इन्द्रेणीजस्ती, तिम्रो आँखामा बादल लागे अझ कति राम्री हुनेछौ’, भनेर सर्काउँदा नारीहरूले आँखामा गाजलको बादल बनाउने परम्परा नै बनाए ! कुनै वस्तुलाई सरल र सहज ढंगमा हेर्नै नपाओस् भन्ने नियतले नारीको आँखामा बादल लगाउने यो कुरा नारीविरोधी मानसिकताकै उपज थियो । हातमा चुरा र खुट्टामा कल्ली भिराएर नारीलाई सधैं हत्कडी-नेलमा बन्दी बनाउने नियत नबुझेर गहना सम्झँदै नारीहरू मख्ख छन् अझै पनि ! कानमा गहनाको भारी बोकाएर सुन्न कठिनाइ हुने स्थिति सृजना गराइएको पनि उनीहरूले बुझेनन् ! अहिले तिनै कुरा नपाएमा नारीहरुबाट आन्दोलन घोषणा हुनसक्छ !

राम्रो गहना र छालाको सुन्दरता अनि अर्काको ढोंगी, आडम्बरी आलापमा लुटुपुटु हुने मोजप्राप्तिको कुराले कहिल्यै नारीलाई त्यसभन्दा माथि उठ्ने फुर्सद मिलेको छैन । आजभोलि लेखे-पढेका नारीहरू पढेकै लोग्ने भेट्टाउने लक्ष्यमा मात्र आफ्नो पढाइको अर्थ लगाइरहेका छन् । प्रौढ सामन्ती समाज, कुरीति, पुरातन संस्कार र नारी समानताप्रतिको चिन्तन उनीहरूको व्यवहारमा रत्तिभर देखिँदैन ! विश्वमा नारीसत्ताको प्रसंग एकाध राष्ट्रहरूमा अपवादको रूपमा देखिए पनि विकासशील चेतनाले लैस भएको नारी वैभव त्यहाँ पनि देख्न पाइएको छैन । नारीहरू चन्द्रमामा पुगे, वैज्ञानिक बने, जुनसुकै युद्धहरूमा नारी योद्धाको कमी छैन ! यद्यपि, नारीलाई आजसम्म एउटा सिंगो मान्छे, समूल मनुष्यको संज्ञा दिइएको छैन !

अंग्रेजी शब्कोशमा ‘गऽल’ शब्दलाई, “केटी, ठिटी, छोरी, स्त्री, आइमाई, कार्यालय वा पसल आदिमा काम गर्ने स्त्री”, भनिएको छ । ‘लेडी’ शब्दलाई पनि “महिला, भद्र महिला”, इत्यादि भनिएको छ । यसैगरि ‘वुमेन’ शब्दलाई “स्त्री, आइमाई, नारी जाति, स्वास्नी वा प्रेमिका”, मात्र भनिएको छ । तुलनात्मक रूपमा ‘म्यान’ शब्दमा “मान्छे , मानव वा पुरुष”, अर्थ दिइएको छ । यसको तात्पर्य के पुरुषमात्र मान्छे वा मानव ? नेपाली शब्दकोशहरूले पनि नारीलाई सिंगो मान्छेका रूपमा उभ्याउन सकेका छैनन् । ‘आइमाई’ शब्दको अर्थमा लेखिएको छ-महिला, स्त्री, स्वास्नी वा प्रेमिका । ‘नारी’ शब्दको अर्थमा-स्त्री, महिला, आमा, दिदी, बहिनी, आइमाई, जननी, धरती, माता, ललना इत्यादि लेखिएको छ भने ‘महिला’ शब्दमा पनि -स्वास्नी, नारी र स्त्रीभन्दा अरु केही उल्लेख गरिएको छैन ! नारीलाई समूल मान्छे भनेर कतै सम्बोधन गरिएको भेटिँदैन । नारीलाई सिंगो मान्छे वा मानिसको दर्जा दिन किन यति कञ्जुस्याइँ ? अब यी नारीप्रति सम्बोधन हुने गलत कुरालाई पनि न्याय दिन नारीहरुले पहल गर्नु श्रेयस्कर हुनेछ ।

यो विद्यमान अवस्थामा लिला निशाबाटै समग्र नारी प्रतिनिधित्वको अपेक्षा गर्ने कुरो पनि आएन । तर, लिला निशाले जति गरेकी छन् आफ्नो सिर्जनशील अभिव्यक्तिमार्फत, त्यसलाई नै यथेष्ट मान्दै सराहना गर्नुको विकल्प छैन । उनी र उनीजस्ता अन्य नारी हस्ताक्षरहरुलाई सहज हौसला दिएर सिर्जनधर्मिताको मैदानमा अघि बढाउनु सम्पूर्ण भूटानी साहित्यका लागि श्रेस्कर कदम हुनेछ ।

यसै पनि उनका कवितामा गरिबीको समस्या, राज्यविहीनताको पीडा, संवेदनाहीन बन्दै गएको यान्त्रिक दुनियाँ, प्रविधिले बिस्तारै साघुऱ्याउँदै लगेको संसार र युगचेतनाका सन्दर्भहरु आएका छन् । अब अलिकति परिस्कार हुनसकेमा उनले सम्पूर्ण भूटानी साहित्यिक मैदानमा एक अग्रजको भूमिका खेल्न सक्ने कुरामा कुनै शंका छैन ।

त्यसो त ड्रुक लोसेल भन्ने भूटानभित्र प्रकाशित ( १९७९-१९८३) का विभिन्न अङ्कमा पद्मा योञ्जन, गङ्गा प्रधानजस्ता नाममा प्रकाशित केही रचना पनि पढ्न पाइएकै हो । तर तिनै नामलाई समग्र भूटानी नेपाली साहित्यका पात्र मान्न सक्ने यथेष्ट आधारहरु छैनन् ।

यसर्थ निर्वासनपछि नेपाली भाषामा कलम चलाउने ममता मोक्तान, तिलारुपा आचार्य, बुद्धि सम्बाहाम्फे, मञ्जु खड्का, सञ्जु गिरी, मञ्जु जागरी, इन्दिरा भण्डारी, कृष्ण पोखरेल जस्ता थोरै भूटानी नारी स्रस्टाहरुमध्ये लीला निशा प्रतिनिधि पात्र हुन् । यिनको अगुवाइमा भूटानी नारी चेतनाको विकास र समग्र भूटानी साहित्यको उन्नतिको आशा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *