लेखनाथ जयन्ती समारोह सम्पन्न

ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका 

पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो ।

कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि एक संस्था र दुई व्यक्तिलाई सम्मान गरियो । सम्मानित हुनेमा हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचआरसी) तथा डब्ल्युयुडिजी एफएम रेडियो (कोलम्बस) का सञ्चारकर्मी हरि सुवेदी, र डिसी क्षेत्रको नेपाल एजुकेसन एन्ड कल्चर सेन्टर (एनइसिसी) को १४ वर्षदेखि स्कुल निर्देशक रहेका दीपकजंग विश्वकर्मा हुनुहुन्थ्यो ।

मञ्चका अध्यक्ष नवीन शर्मा भट्टराईको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा नारद आचार्य ‘सुदामा’ को शब्द तथा सुनिल राईको स्वरको ‘एकान्तमा ती लजालु नजर जुधाएर …..’ बोलको गीतको अडियो सार्वजनिक गरियो । धेरै स्रष्टाहरूले रचना वाचन गर्नुभयो । तेस्रो पुस्तामा भाषा बचाइराख्न वक्ता भूट्निज कम्युनिटी अफ ह्यारिशवर्ग (बिसिएच) का अध्यक्ष अशोक राई, सम्मानित व्यक्तित्व श्री विश्वकर्मा, सम्मानित संस्था ओएचआरसीका अध्यक्ष तुलाराम न्यौपाने आदिले जोड दिनुभयो ।

केशव घिमिरे (वैरागी माइला) ले सञ्चालन गरेको उक्त कार्यक्रममा नयाँ वर्ष २०१९ को शुभकामना पनि आदान-प्रदान गरिएको थियो । मञ्चले पहिलो पटक लेखनाथ जयन्ती आयोजना गरेको हो । संस्थाले विभूतिहरूलाई सम्झँदै कार्यक्रम गर्दै आएको छ ।

त्रिवेणी साहित्य मञ्चको स्थापना सन् २०१७ मा भएको हो । यसले महिनाको अन्तिम आइतबार नियमित सामूहिक रचना वाचन गर्दै आएको छ । यसै वर्ष भएको उद्घोषण कार्यशालाबाट ८ जना उद्घोषक तयार भएका छन् । एउटा छन्द प्रशिक्षण गरिसकेको छ, अर्को गर्ने तयारीमा छ । सन् २०१९ मा गजल प्रशिक्षण गराउँदै छ । ह्यारिसवर्ग र यस आसपासका क्षेत्रमा नेपाली-भाषीको आबादी बाक्लिंदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *