विकास विनाशको अर्को नाम हैन:

मदन दुलाल 
अमेरिका

 

मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर
विनाशी विकासको लहर देखाएर
अहङ्कारी फणा उठाउँदै गर्दा

केवल एकबार

माटोको खजमजिएको निधारले
पसिनाको सिँचाइ नगर्दियोस्


आगोको हत्केलोमा एक डाडु पसिना भुलुक्क नउम्लियोस्

केवल एकबार
निमेषभर
बतासले विश्राम लिइदियोस्

र प्राणले अनसन बसोस्

तत्कालै मृत्यु ठिङ्ग उभियोस् अगाडि र फिस्स हाँसोस्
र सोधोस् अङ्क गणित — जीवनको

बादलले नाद गरोस् किन्तु नबर्साओस् पानी
वृक्षले फूल नलगाओस् फल नलगाओस्
अन्नले समाधि लिइदियोस् तत्क्षण
र मरुमय बनुन् सम्पूर्ण सम्पूर्णहरू

तत्कालै आन्द्रामा पहिरो जाओस्
अनि आन्द्रामा पहिरो गएको पेटले विद्रोह बोलोस्
र वक्रताको गति, यति र लय मिलाउने आदेश देओस्

केवल एकबार

मेटाउन भुलोस् ,
पानीले प्यास – जिज्ञासाको
रात्रिले नीद – चयनको
भोजनले भोक – विचारको
औषधीले रोग – मानसिक
तत्कालै शोकले दुन्दुभि बजाओस् सनै सनै
र घन्काओस् कोलाहल नीरवताको

उदासीको चित्कारसहित एउटा आभासहीन अस्तित्व
उद्देश्यहीन—- अर्थहीन
निरन्तर ….निरन्तर व्याप्त होस्

यस्तैमा
अणु र परमाणुको घर्षण प्रतिघर्षण ठप्प होस्
सौर्यको तेज निस्तेज होस्
सोमको किरण परावर्तित होस्
धरित्रीले बेपर्बाह कक्ष चयन गरून्
कारण स्वरूप
दिग्देशमा कम्प आओस् यही बेला
थर्र ….थर्र… थर्र…. काँप उठोस् महि
जाठराग्नि सक्रिय बनोस्

उल्का खसोस् पेटको अन्तरिक्षमा

केवल एकबार

.
.
.
पुत्ताओस् बन्दुक
अलम्पनाले कम्प ल्याओस्
भयङ्कर सुरसा मुख आँ होस्
रुरुले ताण्डव गरोस्
रौरव अवतरित होस् थाप्लोमा
र सनै सनै गाइने दाइले सारङ्गी रेटेझैँ रेटिरहोस्
समयले आयुको गर्धन

तप् .. तप्.. तप् रक्त गिर्दै गर्दा
हेर्नु छ
केवल हेर्नु छ
द्रष्टा बनेर/साक्षी बनेर
यस्तोमा स्वयंले खडा गरेको वाद-को पर्खाल
रक्षार्थ खडा हुन्छ कि नाइँ
हेर्नु छ तिम्रो साइन्स एन्ड टेक्नोलोजी
हाइपरसोनिक बम र बारुद
सुरक्षार्थ तत्पर हुन्छ कि नाइँ

यदि तिम्रा वाद र टेक्नोलोजी
लाचार स्खलित लिङ्ग जस्तो निरीह बनेमा
थाहा नभएको अथाह थाह थाह लागोस् कि

बौद्धिकता विलासको अर्को नाम हैन
विकास विनाशको अर्को नाम हैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *