विगत सम्झेर वर्तमानबाट
बैरागी माईलो
पेन्सिल्भिन्या, अमेरिका
जुन देश जहाँ
परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण
त्यो टारी खेतले बर्सेनि
धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना
मोतीका लहरा लहराउँने ती फाँटभरि
सम्पन्नता देखाउँथे वा सुसाउँथे दु:खका सुस्केराहरू
ती झरना ,ती हिमालहरू
हाँस्दछन् वा रुन्छन् सम्झेर मलाई अझैसम्म
जसरी माटो रोईरहेछ सम्झेर आज पनि ।
किन उठ्यो विद्रोहको सुनामी र
हिर्कायो हाम्रो खुट्टा , ढाड र घाँटीसम्म
त्यसपछि !
न त हामी हिँड्न सक्यौं आफ्नै गोरेटो
न त पुग्न सक्यौं आफ्नै गतव्य
सोच्छु हिजोआज
कति लाटो पो रहेछ
कति सम्म सोझो पो रहेछ
मेरा पुर्खाहरूको इतिहास
मेरा पुर्खाको बलिदान
आज पछुताई रहन्छु सम्झेर आफ्नै विगत ।
त्यो राज्य सत्ताको वधशाला भित्रबाट
हराए अनायासै कति
वरपिपलको छहारी ताप्ने बटुवाहरू,
बिरानो बने असंख्या देवीथान र देउरालीहरू,
विक्षिप्त बने कति चीरहरण पछि देवीहरू
कति टुहुरा भए कलिला आँखाहरू
कसरी चिन्नु बुढा “बा ” ले
भुईँमा सुस्ताई रहेको छोराको लास?
किन बाध्य भए कलिला भाइहरू
टेकेर दौड्न आफ्नै दाइहरूको लास
र त गुञ्जिरहयो विरहको एकोहोरो अन्तरा
क्रुद समयले यसरी नै घिसार्दै ल्यायो
यो रित्तो बाटो सम्म र त
खालि पैतालाले तय गरे यहाँ सम्मको यात्रा ।
अझै ती बारीका काल्नाँ भरि
फुल्दै होलान् अझै फूलहरु
मिसाएर हाम्रै अलिकति आँसु
मुस्कुराँउँदा हुन् हाम्रै सम्झनामा
टिप्ने हाम्रा बहिनीहरु पनि त्यहाँ छैनन्,
छैनन् अहिले हाम्रा दसैँ ,तिहार र भैलीपनि
अनायासै सम्झिँए म खेल्ने सुन्तला बगान
पाक्दै–खस्दै गर्न थालेको पनि वर्षौँ भयो
रछ्यानको आरुको बोटपनि बुढो भयो अब त
तैपनि छैन म आफै त्यहाँ।
छ त सबैसँग आ–आफ्नै
स्मृतिको अमिलो मानसपटल,
जुन समय
बिहानै दु:खसँगै उदाउँथ्यो घाम
र अस्ताउँथ्यो हिजो जस्तै
थाह छैन कति पल्ट पस्थ्यो हाम्रो अँगेनासम्म
र नाच्यो हाम्रो अभावको मझेरीमा।
धेरै पल्ट जले छाप्रा सँगै हाम्रा सुनौलो सपनाहरू
थुप्रै पल्ट बगे झुपडीसँगै आसाहरू
कयौँ पल्ट मक्किए अनि ढले हाम्रा सङ्घर्ष
तर पनि खोजिरहें मैले
जूनकिरिको पछि दौडिएर उज्यालो
रमाएँ डाईस र खोप्पी खेलेर बाल्यकालमा
मिठाईका खोललाई पैसा सम्झिएर ।
जुनवेला भोको पेट बोकेर
जीवनको अक्षर पढें वा दु:ख पढें ?
रगतले भिझेको बाको लास सम्झिएर
गाली गर्नु छैन त्यो माटोलाई।
थाह छ !
म सँगै रोईरहेछ त्यो माटोपनि
यातनाले मक्किएका ‘बा ‘ का हाडहरूसँगै
सजाएको छु अनेकन सपनाहरू
कतै फुल्छन् की कुनै दिन
पुगेर एक दिन त्यही माटो माथि
जहाँ मेरो आँसु ,रगत र पसिना छ
त्यस दिन चिच्याउदै उठ्ने छ
बर्बरताको त्यो कालो इतिहास ।
आज म जहाँ छु
जे छु / जे छैन पनि
र पनि बाँचिरहेछु
बाबाहरूका पुराना तस्बिरहरू हेरेर
कहिलेकाहीँ बरबराउछु आमाहरूका मुजा परेका निधार हेरेर ।
छोराछोरीका कलिला आँखामा भोलिको सपना भरेर
अनि बोकेर अलिकति आसा
दबाएर अलिकति निराशा
कहिले काहीँ साँच्चै भन्न मन लाग्छ
पर्देसिएको छ यो ज्यान
तर तर .….
कहिल्यै परदेशी बन्न सक्दो रहेनछ यो मन ।