विद्रोह
प्रेम गुरुङ,
पेन्सिलभानिया, अमेरिका
अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा भुइँतिर झुकिरहेको अनि केराका पातहरूले चाहिं विदाइको संकेत गरिरहेका थिए । घरबारविहीन हुनपुगेका निर्दोषीहरूको भिवष्य कहाँ पुगेर टुंगिएला कुन्नि ।
टुल्के र टुल्की भल्ट्याङ भुल्टुङलाई हातमा र काखीमा च्यापेर बाहिर निस्के । दुवैका आँखामा आँसु डम्म भरियो । नचाहेर पनि उनीहरूले विदाइका हल्लाइदिए । शरीरमा भएको झुम्रोशिवाय अरू केही थिएन साथमा, थियो त केवल शोक, दुःख र कष्टले भरिएको पुलिन्दामात्र । जुनकिरीको झल्याकझुलुक किरणले अँध्यारोलाई चिरिदियो । विस्तार विस्तार पाइला अघि बढ्नथाले सबैका । जंगलको बाटो हुँदै जाँदैथिए , एक्कासी ठाङ-ठाङ, ठुङ ठुङ बन्दुक पड़्केको आवाजसँगै अय्या ! मरें बाबा ! भनी चिच्याएको मिश्रण ध्वनिले टुल्के र टुल्कीको मुटुले ठाउँ छोड़्यो । दुवैले आफ्नो घर र गाउँतिर नजर दौड़ाए । त्यहाँ सबैका घरको धूरीबाट आगोको मुस्लो उर्लिरहेको थियो । हातमा बन्दुक बोकेका मानिसहरू ‘‘ज्यद्धा, ज्यद्धा’’, भन्दै घर-घरका वरिपरि घुमिरहेका थिए । केही क्षणमा नै सबै घर खरानीमा परिणत भए क अन्धकारले डम्म ढाक्यो ।
शोषण, दमन र अत्याचारले सीमा नाघेको ठाउँमा कसको पो जोर चल्छ र ! कति मृत्युको शिकार बन्नुपर्यो भने कति वृद्ध-वृद्धा र बालबालिकाले आफ्नो जन्मभूमिलाई त्याग्न बाध्य हुनुपर्यो । यी कथा-व्यथा कसलाई थाहा नहोला र ? यदि थाहा भए होला त्यस गाउँका प्रकृतिद्वारा उत्पादित झार-जंगल, बोटविरुवा र रुखपातलाईमात्र ।
एक दिनको कुरा हो, टुल्के र टुल्की बास, गाँस र कपासको खोजीमा खोलापारिको गाउँमा पुगे । तर त्यो पनि गाउँ उनीहरूको निम्ति बिरानो हुनपुग्यो । त्यहाँका देवी-देउराली, नाग-नगेनी र सिमेभूमे कसैले पनि चिनेनन् उनीहरूलाई । चिनुन् पनि कसरी, किनभने धेरै समय पहिले नै उनीहरूका पिता-पुर्खालाई कसैको हातमा सुम्पिइएको थियो ! त्यसैले त तिमी र हामी एकै सन्तान हैनौं र ? भन्ने अधिकारसम्म थिएन टुल्के र टुल्कीलाई । ओराली लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेको वास्तवमा सत्य भयो त्यहाँ ।
आज टुल्केको परिवारमात्र होइन, लाखौंको भविष्य चक्नाचूर हुनपुगेको छ त्यस्तै दुर्दशामा परेर । एउटा दहका माछालाई हजारौं दहमा फालिँदैछ । पशुपंक्षीलाई पो बिक्री गरिन्छ तर आज यहाँ ………….! अब भोको पेट पनि मज्जाले भर्न दिइन्छ होला यिनैलाई आहार बनाएर …..? सिमलको भुवालाई बतासले उठाएर छरपष्ट पारेझैं आफूहरू चार दिशातिर छरिनुपरेको स्मरण गर्दै टुल्के र टुल्की झोक्राइरहेका थिए । कोक्रोमा सुतिरहेको क्षितिजले टाउको उठाएर भन्यो, ‘‘बा ! आमा ! चिन्ता नगर्नुस, उठ्नुस, आज म सफत खाएर भन्दैछु, जहाँ हाम्रा बाबु-बाजेको रगत र पसिना बगेको छ, जहाँ हाम्रो नाम-निशाना मेटिएको छ र जसले विदेशीको छाप लगाइदिएर घरको न घाटको हुनुपरेको छ । त्यहाँ म बाढ़ी-पहिरो भएर बग्ने छु, भयंकर आँधी-तुफानझैं भई वर्षने छु र प्रज्वलित अग्नी भएर सबै खरानी तुल्याइदिनेछु । त्यसपछि आज उजाड़िएको मरुभूमिमा हराभूमि, सुन्दर र शान्त वातावरणको जग बसाल्नेछु ।’’ हिमालले पनि सही थप्यो, ‘‘हो, आज त्यहाँको कालो जंगलमा भएका बाघ-भालू र र अजिंगरसित मुकाबिला गरेर सफा-सुघ्गर गरे, अनि आफ्नो ज्यानको बलि दिएर बाटो-घाटो, गौंड़ा-गल्फा खोले र झिलिमिलि बिजुली बत्तीले सजाइदिए । तिनै परिश्रमी र मेहेनतीहरूमाथि आतंकवादीको संज्ञाले पुकार्ने त्यो दैंत्यरूपी राक्षसको एक सिँगे दाह्रालाई भँचाइदिनुपर्छ, फेरि फेरि नपल्हाउने गरी ।’’
स्वर नफुटेका दुवै पुत्रका जोशिला शब्दहरूले टुल्के र टुल्की झसङ्ग झस्के । उनीहरूले एक-अर्कालाई राम्ररी नियाल्नथाले, सपना हो या बिपना भनेर । तर वास्तवमा त्यो भ्रम थिएन, त्यो त थियो यथार्थता र वास्तविकताले भरिएको बज्रतुल्य वाणी ! अन्यायको विरुद्धमा न्यायको एउटा निशानी थियो र शोषण-दमनको विरुद्ध क्रान्तिको चेतावनी थियो । अनि…अनि…विद्रोहको शुरुवात….!