विद्रोही सडक
सत्यवीर मगर
शरणार्थी शिविर, बेल्डाँगी
सरकारले
नयाँ नयाँ पेनकिलर
आविष्कार गर्छ यहाँ
र हालै आविष्कार गरेको पेनकिलरको नाम
‘राष्ट्रिय खुसीयाली’ हो
के तपाईँलाई जान्नु छ
पेन अर्थात् दुखाई अर्थात् पिडा
यो देशमा कति छ भनेर ?
त तपाईँले हेर्नु पर्नेहुन्छ
महसुस गर्नु पर्नेहुन्छ ।
हेर्नुस् यी सडकलाई नै
र महसुस गर्नुस् कि
गाउँले हातहरूबाटै सफा हुने सडक
राजधानीबाट निक्लेर
कुनै गाउँ नपुगी टुङ्गिनु पर्दा
यी सडकका छाती कति दुख्दो हो ?
झुपडीवालाकै पसिना लत्पतिएर बनेको सडक
झुपडीदेखि नै सयौँ कि.मि टाढाबाट गुज्रेर
सोझै त केवल
शाही अागनहरूसँग मात्र ठोक्किनु पर्दा
यी सडकलाई कति धेरै पिडा होला ?
पेनकिलर अर्थात्
राष्ट्रिय खुसीयाली छाएको देशमा
कसैलाई पनि छैन
पिडा व्यक्त गर्ने छुट ।
तर
हेनुस् न
यी सडकहरूले धरि धरि गरिहेछ विद्रोह
पाङ्ग्राका घर्षण अति भएपछि
सहनै नसक्ने गरी पोल्न थालेपछि
फर्काई दिइएको छ आफ्नो चिरा चिरा परेको ढाँड
देखाईदिरहेको छ पिडायुक्त खाल्डाखुल्डीहरू ।
खिसि गरिरहेका छन् सरकारको
धज्जी उडाईरहेको छ राष्ट्रिय खुसीयालीको ।