विनाशको लीला

गङ्गा लामिटारे
ओहायो, अमेरिका

आज मानव घरभित्र कैद छ । आफ्नू घर नै कैद खाना भएको छ,मानव जातिकालागि । संसार अविचलित र अवरुद्ध छ । मानौँ कुनै राष्ट्रनायकको शोकमा मानिस शोकाकुल भएको हो। घरबाहिर मात्र पशु प्राणी निस्फिक्री विचरण गरिरहेका छन् । अकास बिलकुलै रित्तो र खाली छ । दैनिक हजारौँ विमानहरू उड्ने गगनमा पक्षीहरू मात्र निर्भय र स्वतन्त्र उडिरहेका छन् । एकाध स्वास्थ्यकर्मी र आपत्कालीन सवारी साधनहरूको सीमित चहलपहल बाहेक यति बेला सुनसान छन्, चार लेनका हाइवेहरू। भूत बङ्गला झैँ बन्दैछन् गगनचुम्बी महलहरू । बिलकुलै सन्नाटा छ सपिङ सेन्टर र आर्थिक केन्द्रहरूमा । शिक्षार्थी विहीन छन् पाठशाला र ठूल्ठूला ज्ञानशालाहरू। हरेक देशको आर्थिक अवस्था डामाडोल र तहसनहस छ । अन्योल र अनिश्चितता मात्र छाएको छ मानव सभ्यताका वरिपरि । मानवको लाचारी र विवशता देखेर प्रकृति पनि निस्तब्ध छ । हेमन्त न हाँस्न सक्यो न वसन्त नै मुस्कुराउन सक्यो । जता ततै बग्रेल्ती छन् मान्छेका लासहरू । न मलामी छ लास बोक्नका लागि न आफ्नु कोही छ अन्तिम संस्कारका लागि । मानव रहित बन्दैछन् घर, गाउँ र बस्तीहरू । खण्डहर बन्दै छन् मानव निर्मित विकास र निर्माणहरू। मात्र खचाखच छ, मुर्दा घर र स्मसानघाटहरू । कयौँ मानव बस्तीहरू रातारात मुर्दाघाटमा परिणत हुँदै छन् । सृष्टि कै सुन्दर मानिस आज कसैको मलामी नै हुन सक्यो यति बेला न बाँच्दाको जन्ती नै । चन्द्र लोकमा धर्मशाला र मंगलग्रहमा बस्ती बसाउने मानव आज एउटा सूक्ष्म जीवाणुका अघि लम्पसार छ । मानव नै मानवका लागि घातक भएको छ। जताततै त्रास, भय र मृत्यु कै मात्र साम्राज्य छाएको छ । बाबुको लागि छोरा र छोराका लागि बाबु शत्रु साबित भएको छ । परिवारभित्रै पनि शुद्धता, अस्पृष्यता र दूरताको पर्खाल ठड्याएर सदस्यहरूलाई अलग्याएको छ । मानव समाजबाट बिलकुलै पलायन छ शान्ति, सद्भाव र करुणा । मानव बिलकुलै एक्लिएको छ र उसले आर्जन गरेको विकास र प्रविधिहरू सबै निष्क्रिय र निर्जीव झैँ छन् यति बेला ।

यति बेला लाग्छ, विश्वका देशहरू एउटै प्रतिस्पर्धामा जुटेका छन् । त्यो हो, अभूतपूर्व मृत्युको प्रतिस्पर्धा । मानव मुर्दा उत्पादनको प्रतिस्पर्धा । सभ्यताविरूद्धको महाविनाशको होडबाजी । यस अभूतपूर्व प्रतिस्पर्धामा जित्नेले हार्दै छ कि हार्नेले जित्तै छ, निर्णय गर्नै कठिन छ । तर यो युद्ध जो कोहीले जिते पनि र जजसले हारे पनि प्रशंसा र प्रशस्तीभन्दा पनि बढी बदनामी र नाकामीको पारितोष भने अवश्य नै प्राप्त गर्ने छन् । तर यस महाविनाशले जति नै ठूला प्रगति र आविष्कारहरू गरे पनि अन्तमा मानव जातिले भौतिकवादतर्फ उन्मुख हैन आध्यात्मिकतातिर झुक्नुपर्छ भन्ने सन्देश भने अवश्य दिएको छ । र “ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ” भन्ने भनाइ शतप्रतिशत सान्दर्भिक, सार्थक र सिद्ध भएको छ ।

यस मानव विनाशको अभूतपूर्व प्रतिस्पर्धा कसले जित्ने र को हार्ने हो कसैलाई थाह छैन । तर प्रत्येक पल पलमा कसले बढी मुर्दाहरू उत्पादन गर्दै छ, त्यसको लेखा जोखा गर्न मिडियालाई भ्याइ नभ्याई छ यति बेला । एउटाबाट अर्कोमा, अर्कोबाट हजारौँ र हजारौँबाट लाखौँ सङ्ख्यामा सङ्क्रमित हुँदैछ त्यो अदृश्य शत्रु । आफूलाई विश्व विजेता ठान्नेहरू पनि यस तुच्छ एउटा जीवाणुका अघि आत्मसमर्पण गर्न विवश छन् । उनीहरूको यस विवशताबाट के स्पष्ट हुन्छ भने यो विनाशको लीला नियन्त्रणमा छैन । आफ्नो ज्यानको आफै सुरक्षा गर्नु भन्दै छन् । नागरिकको स्वास्थ्य र जीवन रक्षा जस्तो गम्भीर दायित्वबाट समेत उनीहरू पन्छिन खोज्दैछन् । र यस महाविनाशलाई व्यापारमा बदल्ने प्रयास पनि गर्दैछन् । यो कदापि राम्रो होइन । संसार एक भएर यस महाकालका विरुद्ध जुट्ने र उठ्ने बेला हो यो ।

आफू कति बेला यस विनाश-लीलाको पथगामी हुने हो भन्ने मानिसमा त्यतिकै त्रास र डर पनि चौगुना बढेको छ । र नसा-नाडी र हृदयको धड्कनमा तीव्रता थपिँदै छ । यसले कति बेला घरभित्र पसेर घाँटी अँठ्याउने हो भन्ने त्रास मात्र व्याप्त छ यति बेला । सात समुद्र पारिबाट विश्व विजयको अभियानमा प्रस्थान गरेको त्यस अदृश्य शत्रुले मानव सभ्यतालाई नै उल्ट्याउने तरखरमा छ । विश्व-मानव सभ्यता नै आक्रान्त छ, यस अदृश्य महामारीबाट । संसारै ध्वस्त गर्ने मिसाइल र क्षेप्यास्त्रहरू पनि यस महामारीका विरुद्ध बिलकुलै निकम्मा साबित भएका छन् । सायद प्रमुख राष्ट्रहरूले शस्त्र-अस्त्र निर्माणमा जति ठुलो आर्थिक लगानी गरेका छन् त्यसको एक भाग मात्र स्वास्थ्य र विपत्ति नियन्त्रणको क्षेत्रमा लगानी गरेको भए,यति ठुलो सङ्ख्यमा नागरिकले ज्यान गुमाउन पर्ने थिएन नै । भविष्यमा मानव जातिमाथि यति ठुलो विपत्तिहरू आइपर्छ भन्ने न उनीहरूलाई थाह थियो, न कुनै जानकारी नै । अस्त्र थुपारेर शक्तिशाली बन्ने दौड, र होडबाजी नगरेको भए आज एउटा जाबो कीटाणुका अघि लाचार र नतमस्तक हुनुपर्ने थिएन नै ।
आजसम्म जति पनि मानिसहरू यस महामारीको शिकार भए र हुदैँछन्,साहेत तिनीहरू कहिले फर्केर आउने छैनन्,यो सत्य हो । तर कथञ्चित यस महामारीबाट बच्नेहरूमा बाँच्ने आशा र विश्वास पनि कमजोर हुँदै गएको छ । जाऊँ कहाँ ? जाने ठाउँ नै छैन । भागौँ कहाँ भाग्नै बाटै छैन । बोलौँ को सँग ? बोल्ने मानिस नै छैन । रूउँ भन्यो, आँखामा आँसु नै छैन । कतै हिँडौँ न ? खुटै चल्दैन । मुखमा हाँसो छैन । हरेक मानिसका दिमागमा एक मात्र भय,त्रास र आतङ्कको साम्राज्य छ । ज्यानमा सास चल्दैछ र मात्र बाँचेको आभास छ ,तर त्यसले पनि कति बेला सुइँकुच्चा ठोक्ने हो र विनाशको लीलामा सहभागी हुने हो कसैलाई थाह छैन ।

यति बेला देशमा न कुनै गतिलो विपक्षी छ न प्रजातान्त्रिक परिपाटीको सरकार नै । एउटै राष्ट्रप्रमुख मात्र बारम्बार मिडियामा आइरहने र वर्तमान सङ्कटबारे जानकारी दिइरहँदा लाग्छ,देश कतै अधिनायकवादतर्फ त उन्मुख हुँदै छैन भन्ने आशङ्का पनि त्यतिकै छ,सचेत नागरिकहरूमा । आशा गरौँ, त्यस्तो नहोस् ।

अहिलेको परिस्थितिमा सबै भन्दा पहिला ज्यान जोगाउनु नै बुद्धिमत्ता हुनेछ । पहिला आफू बाँच्नु पर्छ र मात्र अरूलाई बचाउन सकिन्छ । त्यसैले त “हुलचालमा जिउ जोगाउनु र अनिकालमा बिउ जोगाउनु” भन्थे बुढापाकाहरू पनि। वास्तवमा कति सार्थक रहेछन्,ती भनाइ र आशयहरू । तिनै उखान र तुक्कहरूको अनुसरण गर्ने समय हो यो । यस्तै महाविपत्तिहरूसँग सङ्घर्ष गरेका अनेकौँ अभ्यास र अनुभव आर्जन गरेका हाम्रा पुर्खाहरूबाट सिर्जित उखान र टुक्काहरू कति सान्दर्भिक र समसामयिक छन् ? भनेर जान्न र बुझ्नका लागि इतिहास खोज्ने बेला पनि हो यो । यस महामारीले आजसम्म लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । र अझ कतिको लिने हो त्यो न कुनै ज्योतिषीले जान्यो न त कुनै वैज्ञानिक नत कुनै भविष्य वक्ताहरूले नै । विपत्ति कहिले पनि बाजा बजाएर आउँदैन । त्यसका लागि समय मै सचेत र सजग हुनुपर्छ । विश्वलाई हात-हतियारको होडबाजीमा होइन, विपत्ति निवारण र प्रकोप व्यवस्थापनको तयारीमा जुट्नुपर्छ भन्ने पाठ पनि सिकाएको छ, यस महाविनाशले ।

यस विनाशको घडीमा सबैले बिर्सनै नहुने कुरा भनेको धैर्यता,संयम र सामाजिक दुरीको पालना । यस महामारीबाट जोगिन एक मात्र रामवाण पनि यही हो । उक्त नियमको पालना र अनुसरण गरौँ र एकान्त-बासका क्रममा सकिन्छ भने राम्रा -राम्रा पुस्तकहरू पढौँ,सृजनाहरू गरौँ । यति पनि गर्न सकिएन भने आ-आफ्ना परम्परा अनुसार पूजा-पाठ र ईश्वर चिन्तन गरौँ भन्ने आग्रह छ सबै नेपाली भाषी मित्रहरूमा । न मरी बाँचे महामारीले साँचे केही दिन पछि भेट हौंला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *