विभ्रान्त

टेकनारायण रिमाल “कौशिक”
याङ्गोन, म्यानमार

कहिले अभिमानलाई स्वाभिमान ठान्यौ।
कहिले स्वाभिमानलाई अभिमान ठान्यौ।

एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले
त्यसलाई तिमीले घोर अपमान ठान्यौ।

तिम्रो समझको पनि जवाफ छैन यार!
कुनै दिन अपमानलाई सम्मान ठान्यौ।

इज्जत हो सही मानेमा मान्छेको जिन्दगी
तिमीले चरित्रलाई सस्तो सामान ठान्यौ।

जो कोहीका सामु हात थाप्न पल्केका तिमी
मैले दिएको ऋणलाई अनुदान ठान्यौ?

आठै काण्ड रामायण घोकाउँदै हैरान
ए महाशय! बालीलाई हनुमान ठान्यौ?

तत्वज्ञानदेखि टाढा शुष्क विज्ञान पढी
तेस्रो आँखा वेदलाई नै अनुमान ठान्यौ?

छन्द-वृत्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *