विशेष सम्पादकीय: परिषदको वैधानिक यात्रा
अमेरिकामा निकै भूटानी सामुदायिक संघसंस्था स्थापना भएका छन् । अल्पसंख्याक समुदायको सामुदायिक आवश्यकता, अमेरिकी मुलधारको समाजमा समायोजन, व्यक्तिगत क्षमता र आत्मनिर्भरता विकास, अन्य समुदाय र मानिसहरुसितको सम्बन्ध प्रवर्धन, सांस्कृति–सामुदायिक पहिचानको रक्षा, सूचना र चेतनाको प्रवाह आदि उद्देश राखेर खोलिएका ती संस्थाहरूले अहिले समुदायको हितमा थुप्रै काम गरिरहेका छन् । कतिपय संस्थाहरूले सरकारी अनुदान पनि पाएका छन् जसले समुदायका आवश्यकता र आकाङ्क्षा परिपूर्ति गर्न सहजता थपिएको छ । यसैक्रममा साहित्य परिषद्, भूटानले भर्खरै अमेरिकाको ओहायो राज्यमा दर्ता भई गैर नाफामुखी सार्वजनिक संस्थानको मान्यता प्राप्त गरेको छ ।
दुई दशकभन्दा लामो समयदेखि भूटानीहरुको भाषा–साहित्यिक आवाश्कता, आकाङ्क्षा र अभिष्टलाई आत्मसात गर्दै आएको परिषदले वैधानिक हैसियत प्राप्त गर्नु महत्त्वपूर्ण कुरा हो । नेपाली भाषा नबोलिने मुलुकहरूमा पुनर्वासित भूटानीहरुमा नेपाली भाषा जोगाइराख्न हिजोभन्दा झन् चुनौतिपूर्ण र असहज परिस्थिति छ । भावी सन्ततीलाई स्वभाषाविहीन हुनबाट जोगाउन त्यति सहज देखिएको छैन । भूगोलका विभिन्न फाँटहरुमा छरिएको समाज, व्यास्त जीवन–शैली, बहुसंख्याक समुदाय र पश्चिमेली शिक्षाको बढ्दो प्रभावमा थिलथिलिएको समाजमा भाषा–साहित्यिक गतिविधि सहज रूपमा अघि बढ्न निकै कठिन छ ।
भाषाको जगेर्ना कुनै एक व्यक्तिको कसरतले मात्रै सम्भव छैन । यसमा त सबैको सकारात्मक सोच, भाषा जोगाउने प्रत्यत्नमा प्रतिबद्धता तथा समय, ज्ञान र लगनशीलताको व्यापक आवश्यकता पर्दछ । भाषा समाजको साझा सरोकार र आवश्यकताको विषय हो भने साहित्य भाषाकै जगमा उठे पनि अलिक पृथक् कुरा हो । साहित्य सबैले लेख्तैनन्, सबैले पढ्दैनन् पनि । यद्यपि साहित्य भाषाको सुन्दर र परिस्कृत रूप हो । भाषाको जति धेरै ज्ञान हुन्छ, साहित्य त्यतिनै सुन्दर र ऊध्र्वागामी हुन्छ । परिषदले वैधानिकता मात्रै पाएको छैन त्यसले उसमाथि थप सामाजिक दायित्व पनि थपिदिएको हामीले महसुस गरेका छौँ । वर्तमान पुस्तालाई इतिहासले एउटा महत्त्वपूर्ण जिम्मेवारी दिएको छ – हामीसँग भएको भाषिक ज्ञान नवपुस्तामा हस्तान्तरण गर्ने । हामी सबैले त्यसलाई विवेकसम्मत ढङ्गले आत्मसात गर्नु पर्ने समय आएको छ ।