विशेष सम्पादकीय: सम्झनामा शब्दशिल्पी राकेश काफ्ले
राकेश काफ्ले एक असल गीतकार र सर्जक थिए । अब उनी रहेनन् । शब्दमा उनको मृत्युशोक जति लेखे पनि कमै हुन्छ । अनेक सुन्दर गीतका शब्दशिल्पी काफ्ले, भौतिक रूपमा नरहे पनि उनी सिर्जनामा सधैँ बाँचिरहने छन् ।
एउटा सर्जकको हकमा उनको व्यक्तिगत, पारिवारिक जीवन कस्तो थियो भन्ने कुरा प्रधान रहँदैन । बरु उनले सिर्जना गरेका रचना, तिनले समकालीन समाजमा पारेको प्रभाव र योगदानलाई मूल्याङ्कन गर्नु समुचित हुन्छ । भूटानीहरु पुनर्वासपछि उनले भूटानी ढुकढुकी कार्यक्रमको आरम्भ र निर्देशन गरे जसको उद्देश्य भूटानीहरुको कला, गला र साहित्यको उत्थान थियो । अमेरिका प्रवेश गरेको केही समयपछि थालनी गरिएको उक्त कार्यक्रममार्फत उनीले समाजमा अदृश्य रूपमा रहेका प्रतिभाहरूलाई बाहिर ल्याउने मात्रै काम गरेनन्, सूचना र मनोरञ्जनको मञ्च पनि निर्माण गरे ।
त्यसपछि उनले आफ्ना कालजेयी गीतहरू पनि पस्किँदै गए । उनका डम्फु बजारमा, डिम्पल गालैले आदि जस्ता गीत धेरै श्रोता–दर्शकहरूले मन पराएका छन्। ती गीतहरू डायस्पोरामा मात्रै होइन, भूटानका डाँडा पाखामा पनि गुञ्जिने गरेका छन् । पछिल्लो समयमा निस्किएका उनका गीत निकै भावुक र दुखान्त चेतनाको धरातलमा उभिएका छन् जसमा उनको मृत्युको पाश्र्वछायासमेत सल्बलाएको पाइन्छ । उनका दुई दर्जन जति गीत छन् । वास्तवमा गीति सिर्जनामा उनलाई उछिन्ने कमै भूटानी होलान् ।
उनी रसिक थिए, साहित्यका सौखिन थिए । त्यो भन्दा बढ्ता उनी भावुक स्वभाव र सम्वेदनशील हृदयका थिए । उनी साहित्य र समाज भनेपछि हुरुक्क हुन्थ्यो । त्यही चिन्तन र स्वभावको प्रभाव उनका रचनामा पनि देख्न पाइन्छ । उनी साहित्यमा गीत, गजल, मुक्तक र रुवाई लेखकका रूपमा देखा परेका छन् । उनका थुप्रै गजलहरू छापिएका छन् भने ‘परिवेश रोएको बेला’ उनको प्रकाशित मुक्तक सङ्ग्रह हो । उनले अमेरिकाको आयोवामा पुस्तकालयसमेत स्थापना गरेका छन्।
छोटो समय र युवाकालमै राकेश काफ्लेले आफ्ना गीति सिर्जना, साहित्यिक लेखन र सामाजिक सेवा मार्फत भूटानी समाजलाई ठूलो गुण लगाएका छन् । उनी कर्मशील थए । उनी कला पारखी र जाँगरिला भाषा- साहित्यिक अभियान्ता थिए । पत्याउनै नसकिने गरी अल्लारे उमेर मै उनको जीवनयात्रामा बिराम लाग्यो । यसले सम्पूर्ण भूटानी समाज, साहित्य र साङ्गीतिक जगतलाई स्तब्ध र मर्माहत तुल्याएको छ । उनको निधन हाम्रो साहित्यिक र साङ्गीतिक जगतका लागि अपूरणीय क्षति हो । उनको आत्मले चीरशान्ति पाओस् र शोकाकुल परिवार, बन्धु-बान्धब र सम्पुर्ण हितैसीहरूमा धैर्य धारण गर्ने क्षमता मिलोस भनी हामी प्राथना गर्दछौँ ।
अलविदा स्रष्टा राकेशजी !