वेदनाका कथा
बैरागी माइलो
पेन्सिल्भिनिया, अमेरिका
बाक्लो बस्ती;
एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै भयो। उस बेला एस. एल .सी भनिन्थ्यो कसै -कसैले फलामे ढोका पनि भन्थे । हामी दुवै जानाले त्यो ढोका पनि पार गर्यौ । मायाका आँकुरा अझ फैलँदै गयो …. प्रत्येक दिन भेट नगरी बाच्नै नसक्ने भयौं । लाग्थ्यो- हामी एउटै मुटुले सास फेरि रहेका हुन्थ्यौं । म टाउको मात्रै हल्लाउँदै सुनिरहेको थिएँ उनी थप्दै थिइन् त्यस बेला अहिले जस्तो न मोबाइल थियो न फेसबुक नै, जे हुन्थ्यो भेटघाटमा हुन्थ्यो । त्यही पनि कि कसैको कोठामा लुकेर भेट्नु पर्ने कि त जङ्गलसम्मै पुग्नुपर्ने।
कठिन थियो; अहिले जस्तो बिच बाटामा हात समातेर गाला चाट्दै हिँड्ने त कल्पना गर्न पनि सकिन्न थियो। त्यसरी लुकी लुकी भेट्दा समेत बिस्तारै साथीहरूले हाम्रो सम्बन्ध थाहा पाउन थाले अनि हाम्रो सम्बन्धको कुरा घर परिवारसम्म पुग्यो । बा -आमा निक्कै रिसाउनु भयो । दुईचार थप्पड पनि कहाँ नखाएको हो र । बेला बेला हाँस्दै पनि थिइन् बेला बेला गम्भीर भएर जीवन कहानी सुनाउँदै थिइन् ।
मैले सोधी हाले त्यसपछि … उनी धारा प्रवाह बग्न थालिन्:- ‘हल्ला धेरै भयो छरछिमेकले पनि जिस्काउन थाले अनि हामीले भागी विवाह गर्यौं । हुन त म पहिले पनि उसको घरमा गएकी थिए सबैसँग राम्रो चिनजान थियो । पहिला त बा – आमा खुबै रिसाएका थिए पछि हामी दुबैलाई दसैँमा बोलाएर टिकोटालो गरिदिनु भयो । बल्ल बनकी चरी भएको आभास हुन् थालेको थियो तर मैले सोचे जस्तो अलिक भएन । केही महिनामै मायामा कन्जुस्याइँ हुन् थाल्यो । जति जति दिन, महिना, वर्ष बित्दै जान्थ्यो हाम्रो सम्बन्धमा बिस्तारै चिसोपन पस्न थाल्यो । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने आहान सुनेकी थिएँ । यस्तै हुन्छ होला सबैको जस्तो लाग्यो तर मामिला अझै गम्भीर हुँदै गयो ।
उनी निक्कै निराश देखिन्थिन्; उनको मन साँच्चै कमजोर भएको भान उनका ओठले भनी रहेको थियो ।
मैले फेरि थपेँ, ‘त्यस पछि के भयो ?’
उनी फेरि बग्न थालिन, ….. ‘जे जस्तो भए पनि हामी बिच सन्तान एक पछि अर्को हुँदै तीन छोरी भए । परिवारले समेत होच्याएर बोल्न थाले। “यो अलच्छिनी आइमाईले एउटा छोरोसम्म नजन्माउने रहिछे। छोरा अर्की बुहारी हेर है “.. मेरै अगाडि सासू फलाक्थिन् । मन मनै रुन्थें, कसैलाई भन्न पनि सक्दिन थिएँ । मैले नै बाटो बिराएर बिहे गरेकी थिएँ । कहिलेकाहीँ त विष खाएर मरौं कि जस्तो लाग्थ्यो । हाम्रो विवाह भएको पनि एक दशक भइसकेको थियो उसको दैनिक व्यवहारमा भारी परिवर्तन आयो । ऊ आधा राती रक्सी पिएर आउन थाल्यो, काम पनि हप्तामा दुई -तीन दिन मात्र गर्न थाल्यो । आधा रातमा बिनासित्ती झगडा गर्न र मलाई बुट बजार्न थाल्यो । म प्रतिकार गर्न सक्दिनथेँ । मेरो शरीर कुटाइ खाँदा खाँदा शिथिल भएको थियो ।’
मेरो आँखा रसाए; मन रोयो । म अर्कै तिर फर्किएँ, उसका पनि गह भरी आँसु थिए । ऊ मलाई सुनाइ रहेकी थिइन्:- ….. ‘घर परिवारमा सबैलाई थाहा थियो राती छोरा आएर बुहारीलाई भकुर्छ भन्ने तर कोही पनि चुइ बोल्दैन थिए । मलाई धेरै पल्ट घर छोडेर गइहाल नत्र तेरो यस्तै दुर्दशा हुन्छ भन्न थाल्यो । म आफ्नै भाग्यलाई धिक्कार्थेँ र मान्छेले बनाएका भगवानलाई गाली गर्थेँ । यसो गर्नु शिवाय मेरो केही थिएन । मलाई डिभोर्स दिई हाल तँ सँग म बस्न सक्दिन भन्न थाल्यो । मलाई छोरीहरूको भविष्य प्रति साह्रै चिन्ता थियो । ठुली छोरी कुरा बुझ्ने भइसकेकी छन् । अरू दुई छोरी सानै छन् । अर्की स्वास्नी ल्यायो भने छोरीहरूको बिजोग हुन्छ जस्तो लाग्छ । मलाई अहिले मरौँ कि बाचौँ जस्तो भएको छ ।’
उनी नरोकिईकन सुनाउँदै थिइन् । ‘अब जे पर्ला पर्ला, यो चुतियालाई छाडेर माइत जान्छु र छोरीहरू पनि सँगै लान्छु । भाग्यमा छ भनेर डोकोमा दूध दुँदा नहुँदो रहेछ । महिला अधिकार घर भित्र लागु नहुने रहेछ म हारेँ, उसले जित्यो । साथीहरूले सुनाउँछन् उसको अर्कै केटीसँग चक्कर चलेको छ अरे ।’
त्यति भनिसके पछि टक्क अडिइन् । उनको अनुहारमा पुलुक्क हेरेँ, त्यसपछि केही बोल्न सकिनँ । ऊ पनि आँसु पुछ्दै केही नबोली उठेर गइन् । मनमनै बाँकी जीवन सफल रहोस् भनी शुभकामना मात्र दिन सकेँ । जीवन भोगाइ पनि कस्तो कस्तो हुँदो रहेछ ।