वेश्याको दर्शन
गङ्गा लामिटारे
ओहायो, अमेरिका
विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । सानीमाको घरमा पालिएकी पिङ्गलाले न कहिले भेट भरी खान नै पाइ न त राम्ररी एक आङ लाउन नै । अभाव,दरिद्रता,पीडा र कुण्ठामा रुमल्लिएर उसले १५ वर्ष बिताइ,सानीमाको घरमा ।
आमा टोक्युइ र अलिच्छना जस्ता सानीमाका वचन वाणले उसको मन छ्या,छ्या भएको थियो । यसरी सँधैको कच कच र प्रताडना सहनुभन्दा बरु एकलै बसेर जीवन निर्वाह गर्छु भन्ने निर्णय गरी, उसले । र अचानक एक दिन सानीमाको घर छोडेर अर्कै सहरतिर लागी,पिङ्गला ।
नयाँ सहरको बिचमा उसले एउटा कोठा भाडामा लिई र त्यहीँ बसोबास गर्न थाली । बिहानै उठेर नुहाइ-धुवाइ गर्थी,खाना-साना खाएर शृङ्गार पेटार गरी आफूलाई असाध्ये सजाउँथी । त्यो दिव्या शृङ्गारिक कला देखाएर पुरुषहरूलाई पट्याउने र लोभ्याउने गर्थी । सोर शृङ्गारले सजिएर घरको बार्दलीमा बस्थी र तल बाटोमा हिँड्ने पुरुषहरूलाई कहिले मुस्कुराएर,कहिले आँखा कर्काएर र कहिले हातको इसारा गरेर आफूप्रति आकर्षित गर्थी । उसका चन्चले आँखा र छल्किइएको यौवन देखेर पुरुषहरू गरुड देखेको सर्प झैँ लाटिन्थे र यता-उति नहेरी लुखुर लुखर उसका कोठातिर पस्थे ।
सधैँ आइरहुन्, भनेर पिङ्गला नयाँ नयाँ आसनका यौनकलाहरू प्रयोग गर्थी र ग्राहकहरूलाई असाध्ये सन्तुष्टि पनि दिन्थी । हुन पनि एक पटक पिङ्लाको योनकलासँग नाचेको पुरुषहरूले अन्य महिलाहरूलाई भने धर्तीका बोझ नै ठान्थे। भएभरको सम्पत्ति र शक्ति खर्च गरेर पिङ्लाको काखमा एक क्षण भए पनि लुटुपुटु गर्न पाए हुन्थ्यो भनी सपना सजाउँथे,पुरुषहरू । ग्राहकहरूलाई खुसी र सन्तुष्ट गर्नु नै पिङ्गलाको अचम्मको कला थियो ।
यसरी ३५ वर्षसम्म निरन्तर उसले त्यही कामकलाको दोकान खोली र त्यसबाट आर्जन सम्पत्तिले साधारण जीवन निर्वाह चलाउँदै गई । तर जीवन एकनासले चल्दैन परिवर्तनशील छ भन्ने उसले भुतुक्क बिर्सिई । जीवनको उद्देश्य पैसा कमाउनु र एस गर्नु मात्र ठानी उसले ।
उमेर जति जति बढ्दै गयो,त्यति त्यति उसको शरीर कमजोर र शिथिल हुँदै गयो । पोटिला र झरझराउँदा गालाहरू मरीच जस्तै चाउरिएर गए । इन्द्रियहरूले साथ दिन छोडे । पुरुषहरूलाई लोभ्याउने त्यो बैँस एकाएक कुरूपतामा परिणत भयो । भएभरको सम्पत्ति लगाएर उपचार गरे पनि गुमेको रूप, रङ्ग र बैँसलाई उसले कसै गरेर पनि फर्काउन सकिन ।
उपचार गर्दा गर्दै कमाएको सम्पत्ति सबै सकियो। ग्राहक आउन छोडे पछि पैसाको आवागमन रोकियो । भोक भोकै कयौँ रात सुती उ । बाल्यकालमा पनि एकलै थिई उ र प्रौढावस्थामा पनि एकलै ।
जीवनको यात्रामा चाहेर पनि कसैले साथ दिन सक्दो रहेनछ,जस्तो भए पनि यात्रा एक्लै पुरा गर्नुपर्दो रहेछ,भन्ने वास्तविक ज्ञान फुर्यो,उसालाइ । मस्त यौवनको पराग चुस्न धेरै भमराहरू आए,त्यो बेला तर बैँस मुर्जाएपछि ती कुनै पनि भमराको आगमन भएन फेरि । पराइको आस र भरोसामा टेकेको धन्दा वास्तवमा बालुको महल जस्तै हुँदै रहेछ भन्ने जीवनमा पहिलो पटक बुझी,पिङ्गलाले । आशै आशले भरिएको उसको मन एक्कासि निराशमा परिणत भयो । मानिसका लागि सबैभन्दा ठुलो दुखको कारण आशा र सुखको कारण भनेको निराशा रहेछ,भन्ने बोध गरी र उसले सांसारिक चिन्ताहरूबाट छुटाएर मनलाई ईश्वर चिन्तनतिर लगाइ । ३५ वर्ष लामो सङ्घर्षबाट उसले अनुभूत गरेको दर्शन थियो“आशा नै दुखको कारण र निराशा नै सुखको – – हो । ”