वैज्ञानिकलाई प्रश्न

यतिराज अजनबी / एडिलेड, अष्ट्रेलिया

सगरमाथा एउटा अबलाको पर्याय,
बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी,
उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्,
उनका पाउ प्रत्येक आरोही
शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा
अनि,
मोहनिन्द्रामा पार्न थाल्छ उनलाई,
उनका ती कोमल, सेता, स्निग्ध अनि नग्न तिघ्रासम्म
उसको यौनपिपाशु हात सल्बलाउँछ,
गर्दै गर्दै उसले उनको छातीसम्म ओछ्याउँछ,
उनका गाला र ओठ पनि कड्याप्प टोक्छ,
मुर्छा पर्छिन् उनी भित्रभित्रै,
सहनुको यो पीडालाई छोपिदिन्छिंन् उनी
हिउँको घुम्टो ओडी
अनि फेरि !
केही लजाए झैं गरी मुस्कुराउन थाल्छिन्,
उ उसको स्वार्थ पूर्ति गरी उनलाई थुकेर हिंडेपछि !
यसो गर्नु उनको जुम्ल्याहा विवशता हो,
बिना शिकायत कष्ट सहने
उनको यो सुन्दर आचरण देखी
यो क्रिडा देख्नेहरुले थुक निलेको देख्दा,
मेरो निधार खुम्चिन्छ,बिजुली चम्किन्छ,
बादल गर्जन्छ, चट्याङ पर्छ
पर्छ अनि आँखामा मेरो झरी
र,
म यस्तो घिनलाग्दो निर्णयमा पुग्दछु:
दुनियाँ आन्धो हुँदोरहेछ हस्तकौशल भए,
तरिका पुर्‍याएर गरे अपराध, अपराध नभई
अपवाद बन्दोरहेछ,
विश्वको सबैभन्दा अग्लो उचाइमा रहे तापनि
विश्वले नै थिचेको छ उनलाई,
शरीर शीथिल भएको बेला
आज थाकेकी छु भन्न पाउँदिनन् उनी,
विधवाको भेष ओडेकी भए पनि
खेल्नै पर्छ वेश्यालयकी एउटी
देहव्यापारीको रोल उनले,
रजस्वला भएको बेला पनि बार्न पाउँदिनन् उनी,
‘मर्निंग सिक्नेस’-ले सिकिस्त पारेको बेला निः
स्वास्थ्य परिक्षण गर्न पाउँदिनन् उनी,
उनलाई यस्तरी शोषण गर्ने,
उपकरणहरूको आविष्कार गर्नसक्ने
ए वैज्ञानिकहरू हो !
के तिमीसँग उनको
बन्ध्याकरण गर्ने विज्ञान छ ?
–११ चैत्र २०६०, विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *