शक्ति

बिन्दु दाहाल मूकदर्शक
झापा दमक ८ नेपाल

पानीभित्र अथाह शक्ति छ बुझे पार्ने उज्यालो धरा
सारा सृष्टि हराभरा भुवन यी बन्छिन् सधैँ उर्वरा
पानीकै भर चल्छ जीवन कथा पानीबिना हुन्छ के
पानी छैन भने सजीव जति छन् बाँकी रहन्छन् र के ?१

हावाभित्र विचित्र शक्ति छ बुझे देखिन्न हेर्दा तर
हावा छैनभने रहन्न धरती जीवात्म सारा नर
हावाकै भरमा गुडे सडकमा गाडी उडे यान ती
हावा हो बिजुली र सृष्टि रचना हावा बन्यो सङ्गति ।२

आगोभित्र अव्यक्त शक्ति छ बुझे संसार चल्ने भर
आगोकै बलभित्र छिन् मधु धरा बन्छौँ सबै निर्भर
आगो हो अति दिव्य सुन्दर कुरा आगो बन्यो गौरव
आगाकै भर सभ्यता मुलुकका बन्छन् उचा सौरभ ।३

पानी वायु र अग्नि हुन् मनुजका मुस्कान भर्ने कुरा
मान्छेका मुटु नित्य चर्चर चिरी चित्कार छर्ने कुरा
हामी ईश्वर मान्दछौँ सहजले पुज्छौँ रमाई खुदै
हाँसोआँसु दिने यिनै सफल छन् पीडा खुसी हुन् दुवै ।४

यो संसार असार हुन्छ नहुँदा यी तत्त्वका शून्यले
सारा ध्वस्त गराउँछन् जल हुरी आगो नराम्रो बले
ऊर्जा स्रोत अनन्त हुन्छ सबमा सम्पूर्ण सञ्चालन
प्राणी तत्त्व यिनै भए भुवनका हुन् भाल संवर्धन । ५

शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *