शब्दहरुको पछिल्तिर
मिश्र वैजयन्ती-मोरंग/नेपाल
पर्खाल बनेर उभिएका छन्
शब्दहरु यतिखेर ।
सबै बुझ्छन् मलाई
तर कसैले बुझ्दैन ।
शब्दहरु अर्थको लेप लाएर
सबैमा व्याप्त छन्
जति छन् सबै शब्दमा बुझ्छन्
अर्थहरुको
लिस्नो चढ्छन्
लिस्नो ओर्लन्छन्,
मलाई सप्पै बुझ्नेहरु पनि
मेरो वस्तुताभित्रको ‘म’ लाई बुझ्दैनन् ।
परिभाषा गर्छन्
मेरो मौनताको कि
मभित्र पीडा छ
अथवा अथाह खुशी छ
मेरो हँसाइलाई शब्दमा उतार्छन्
र भन्छन् तृप्तता छ,
म कसको लागि किन हासेँ
जान्दछ र कोही ?
भन्छन् म विद्रोही हुँ,
जब म अनाचारको विरोधी हुँ
जिस्किएँ भने बिग्रिएँ भन्छन् ,
कि जान्दिन म !
आफ्नोलाई आफ्नो भन्न ।
शब्दहरु भन्न सक्छन् र ?
कि जान्दिन म भावना पोख्न !
अँध्यारो उज्यालो मबाट हिँडिदिँदा
मैलाई भनिदिन्छन्
अँध्यारो उज्याला शब्दहरुमा ।
म तरङ्गित पोखरीको छाया मात्रै होइन,
चर्किएको ऐनाको दृश्य मात्रै पनि होइन
आदिमदेखि अर्वाचीनसम्म
पुनरुक्तिझैँ शब्दहरुमा निरुपित छु
म शब्दभित्रको अर्थमा मात्रै होइन,
शब्दहरुको पछाडि
निरन्तर उभिएको छु ।
म त्यागेँ भनेर त्याग्न सक्दिन
छोडेँ भनेर छोड्न सक्दिन
रोपिएपछि मभित्र केही कुरा
रहिरहन्छ
हजारौँ शब्दहरुमा पनि
सर्लक्क रितिन्न म
मलाई शब्दहरुको पर्खालले
छेकेको छ ।