शहरमाझ ‘स्याल’को भ्रमण
आचार्य प्रभा
अमेरिका
अहिलेजस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिलेकाहीँ साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो, अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो”, भनेको सुन्ने गर्दथें ।
हुन पनि डाँडामा साँझमा एउटा स्याल रुन अर्थात कराउन थाल्यो भने अर्को डाँडाबाट अर्को स्याल रुन थालदथ्यो र हुँदाहुँदै स्यालको झुण्ड नै रुन थाल्दथ्यो । तर हत्तपत्त स्यालहरुलाई देख्न भने पाइन्नथ्यो । मान्छेको छायाँ पर्नासाथ जंगल, झाडितिर लुकिहाल्दथ्यो । देख्नलाई भने दुर्लभ ।
अँ, मैले किन यहाँहरुलाई स्यालको गन्थन गर्नखोजेँ भने भर्खरकै कुरो हो । हामी घरबाट रेस्टुराँतर्फ बिहानको ठीक १०. ३०मा गैरहेका थियौं । रेस्टुराँ पुग्ने बेलामा बाक्लै बिल्डिङ, शपिङ सेन्टरहरु, बैंकहरु छन् । हामी रेस्टुराँ के पुग्नै लागेका थियौं, ठीक जेब्रा क्रसमा गाडी रोकेका थियौं, एउटा राम्रो, बलियो स्याल यताउत्ती पल्याकपुलुक हेरेर सट्ट बाटो काटेर गयो । म त अचम्भित भएँ । मैले ठानेँ कस्तो तालिमप्राप्त कुकुर रहेछ ठिक जेब्राक्रसबाट नै बाटो काट्न जान्ने फेरि गाडी आउँदैछ कि भनेर यता र उती पल्याकपुलुक हेरेको अनि हाम्रो गाडी आएको देखेर टक्क अडिएको । मैले त्यति नै बेला उक्त स्यालको चलाखी र सम्वेदनशीलता देखेर प्वाक्क भनीहालेँ, “हेर कति चलाख कुकुर । सबै थाहा भएको? बाटो कहाँबाट काट्नुपर्ने ? कत्तिबेला रोकिनुपर्ने? म यति भन्दै बडो घत मानेर हासेँ । मलाई त्यो कुकुर नै हो भन्ने लाग्यो । अनि अर्को अचम्भ के लाग्यो भने, यहाँ कुकुर, बिरालो त्यसरी मनपरि बाहिर कुदेको देख्न पाइँदैन । मान्छेलाई भन्दा गाँस, बास, स्याहार, सुसार गरेर राखेका हुन्छन् । उनीहरुको पनि मौलिक अधिकार हुन्छ यदि उनीहरुलाई पालेर बेवास्ता गरेको पोलझोस् पर्यो भने त उक्त पाल्ने व्यक्तिलाई जेल, जरिमाना, सजाय पनि हुन्छ । यहाँ पशुहरुको पनि त्यत्तिकै अधिकार छ । त्यसैले यहाँ कुकुर, बिरालो जथाभावी बेवारीसे भएर हिँडेको देख्न पाइन्न । बरु प्रायः जसो थपक्क कारको अगाडि सिटमा मान्छेभन्दा भलाद्मी भएर आफ्नो मालिकसँगै यात्रा गरिरहेको पाइन्छ । कसो कार चलाउनमात्र बाँकी छ कुकुरहरुले, त्यो पनि अब असम्भव नहोला कि ?
त्यसैले मैले त्यो स्याललाई कुकुर सम्झेर छक्क पर्दै भनें, “हैन कसले त्यो कुकुरलाई यसरी छाडेछ? “तर त्यो त कुकुर नभएर जंगलमा बस्ने स्याल पो रहेछ ! अनि त म झन आस्चर्य ! र सोँचमा परेर मनमनै सोँच्नथालें, “हेर यो देशको भाग्य ? पशुहरु पनि कति चलाख ? कति अनुशासित ? कस्तो दुरदर्शी ? पालेर सिकाएकाहरुले त सिक्लान रे, गर्लान रे तर, त्यो त जंगली जनावार हो नि, ल त्यो पनि कति सम्वेदनशील ?
ओहो ! मलाई त दिनभरि त्यही सोँचले रिँग्याइ रह्यो अनि मैले आफ्नो देशलाई सम्झन पुगें । हामी मान्छेको जन्म लिएर पनि खै त हाम्रो अनुशासन? खै त हामीभित्र सम्वेदनशीलता ?
साँच्चै भन्ने हो भने हामी बाटोसम्म काट्न अझै अभ्यस्त छैनौ । भैहाले पनि नियम भंग गरेर हिँडिदिन्छौं । बाटो मेरै पेवा हो भनेर यात्रुहरुले पनि ,चालकहरुले पनि नियम उल्लङ्घन गर्दै हिँड्छौं । हो यस्तै यस्तै परीबन्दमा हाम्रो देश जकडिएको छ । अब हेर्नुहोस् न, यहाँ जंगल, झाडीमा लुकेर बाँच्ने पशुहरु त आजाद भएर स्वतन्त्रसँग दिनदहाडै शहरभित्र हिँड्छन् । यहाँ नै अलिक पर नोर्थ बोल्डरमा दिनमा नै हरिण, मृग, जरायोहरु घरका आँगनमा चर्न आउँछन् । कति स्वतन्त्रता ? उनीहरुलाई कसैले छुन चलाउन पाउँदैन । यदि कसैको गिद्दे नजर परीहाल्यो भने र कसैले ती जनावरलाई केही दुष्कर्म गर्यो भने उक्त व्यक्तिको गयो सर्वस्व ! तर हाम्रो देशमा भने आरक्षण दिएर राखेका सरकारी जनावरहरुमा नै चोरी छिपी आक्रमण हुन्छ । स्याहार, सुसारको अभावमा अल्पायुमा नै मृत्यु हुन्छ । हाम्रो देशमा मान्छेकै अधिकार नभएर पशुसरह बाँच्नु परेको छ भने अब पशुको त के नै कुरा रह्यो र?
हो… त्यो एउटा स्यालको शहर भ्रमणले गर्दा म फेरि आफ्नै देशको स्थिति सोच्न बाध्य बनेँ। हुन त सबै कुरालाई मध्यनजर गरेर हेर्ने हो भने हाम्रो देशमा आफ्नै आँगनमा पाइला राखेर बाँच्न नै डरमर्दो छ । छात्ती फुकाएर हिँड्न नै असम्भव बनिसकेको छ तर यो देशमा भने जंगली पशुहरु पनि कति सहजसँग शहर डुलेका ? हो हाम्रो देशमा भने चाहिँ मान्छेको खोल ओडेर शहरी स्यालहरु छ्याप्छ्याप्ती शहरबजार डुल्छन् । त्यसैले त शहरबासी, गाउँबासीहरुले मानवरुपी स्यालहरुको अतिक्रमणबाट आजित भएर आफ्नो आँगन, गाउँ, शहर छाड्न नै बाध्य भएर पलायन हुनुपरेको सत्यता छ । आफ्नो न्यानो ओछ्यान, तातो चुल्हो, छाडेर बिदेशको माटोमा भौँतारिनु परेको छ । त्यही नकावधारी चण्डाल स्यालहरुको रजाइंले गर्दा । हाम्रा देशका मानवरुपी स्यालहरुमा कहाँ त्यस्तो अनुशासन र सम्वेदनशीलता ? बरु यहाँका जंगली जनावरहरु नै हामीभन्दा उच्च र आदर्णीय लाग्यो मलाई । मेरो आशय यही हो कि हामी आफ्नो देशको खिच्चा कुकुरलाई अनुशासित बनाउँ न कि आँफै नै खिच्चा कुकुर बनेर एकापसमा लुछाचुँडी गरौं जब कि यो देशमा पशु पनि तालिमप्राप्त झैं छन् । अनुशासित छन् अनि सुरक्षित र अधिकारको भागीदार छन् भने हाम्रो देशमा त तालिम पाउन सामार्थ्यवान पशु पनि, ‘खिच्चा’को उपनामले चर्चित छ । हामी मान्छे पनि आफ्नो ओहदा, काम, कर्तब्यलाई बिर्सिएर त्यही खिच्चा कुकुरको पर्याय बनेर एकार्कामा लुछाचुँडी गरिरहेछौँ । अब जंगलमा बस्ने स्यालको त कुरै छाडौँ ।
मान्छेले नै आफ्नो घर, गाउँ, बस्ती, शहर छाडेर परदेशिन थाले भने जंगलको पशुले त कहाँ शहर पस्ने कुरा आवोस ? मान्छेले नै आफ्नो आँगन टेक्ने अधिकारबाट बहिस्कृत बन्नु रेको छ भने । समग्रमा मेरो गन्थन यही हो कि हामी आफ्नो नैसर्गिक अधिकारबाट किन वञ्चित छौं त ? जब कि कुनै देशमा भने पशुले पनि स्वतन्त्रता, हकअधिकार पाएका छन् भने । हाम्रो देशमा भने मान्छेले नै अधिकारबाट वञ्चित बन्नुपर्ने बाध्यता किन ?
हुन त यहाँहरुलाई लाग्न सक्छ, मैले अर्काको देशलाई मात्र सही आँखाले हेरेको, अरुको कृयाकलापलाई मात्र उचाइमा पुर्याएको ! वास्तवमा त्यसो होइन । जब कुनै पनि राम्रो कुरा हुन्छ भने त्यो जहाँको होस्, जसको होस् स्रराहना गर्नैपर्छ । नराम्रो कुरा छ भने आफ्नै देशको होस् वा कहिंको, त्यस्लाई प्रतिकार गर्नैपर्छ। हो हाम्रो देशको कला , संस्कृति, सामाजिक मूल्य•मान्यता राम्रो छ । हाम्रो देश प्राकृतिक सौन्दर्यताले परीपूर्ण छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा अवस्थित छ । म पनि गर्वको साथ भन्ने गर्छु यहाँका अमेरिकनहरुलाई/ विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश हाम्रो नेपाल हो । उनीहरु प्रफुल्लित भएर भन्छन् “वउ ! यु आर लक्की ।” त्यतिबेला मेरो छात्ती गर्वले फुलिन्छ । हो यस्तो राम्रो कुराको बरदान त हाम्रो देशले पाएकै छ नि ! तर मान्छेले बनाएका नियम, कानून , व्यवहारमा पो हामी पिछडिएका छौं त ! त्यसैले पनि लेख्न, भन्न मनलाग्छ कि हामी अरु देशका पशुसरह पनि दिमागी हिसाब र अनुशासनमा उपयुक्त छैनौ । शायद हामीले अझै समयलाई पर्खनै पर्छ वा अझै हाम्रो लागि साइत जुर्न बाँकी नै छ । त्यो त समयले नै बताउला । यसरी त्यो जंगली जनावर स्यालबाट पनि मलाई आँफैमा केही सोँच्ने प्रभाव पर्यो /धन्य छ पशु तिमीलाई जसले यो लेख लेख्न अभिप्रेरित गरयौ ।