शान्ति
नविन भट्टराई
पेन्सिल्भिन्या, अमेरिका
ओहदा अनुसारको जागिर पाएपछि उसले फाइल पल्टायो। सबै गुम सुधा उजुरीहरू मध्ये उ शान्ति काण्डमा धेरै आकर्षित भयो र भोलिपल्ट देखिनै आवश्यक कार्यबाही सुरु गर्ने जमर्को गर्यो। उसले शोध कार्य सुरु गर्यो, धेरै बैठक, अन्तर्वार्ता र छानबिन गर्यो। त्यसपछि त मुद्दा झन् रोचक हुँदै गयो र उसले शान्तिको पत्ता नलगाई नछोड्ने अठोट गर्यो।
अनुसन्धानको क्रममा उसले घर-घर चाहार्यो र बस्ती-बस्ती दोहोर्यायो। मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बा सबै गुहार्यो। पाठशाला, गौशाला र मधुशालामा खोज्यो। विद्यालय, वेश्यालय र कार्यालयमा सोध्यो। अन्त्यमा कसैले उसलाई हिमाल फेदीको एउटा झुप्रोतिर औँल्यायो, “लापत्ता हुनु अघि शान्ति त्यो झुप्रोमा अन्तिम चोटि देखिएकी थिई रे।”
ढाका टोपीले पसिना पुछ्दै उ त्यतै तिर बढ्यो। बाटामा मन्दिर आयो, उसले पुजारीलाई सोध्यो; बाटामा मस्जिद आयो, उसले मुल्लाहलाई सोध्यो; बाटामा गिर्जाघर आयो, उसले पाधरिलाई सोध्यो अनि बाटामा गुम्बा आयो, उसले भिक्षुलाई सोध्यो। सबैबाट उसले साझा उत्तर पायो, “शान्ति ता केही दशक अघि आफ्नै भाइहरूद्वारा लापत्ता पारिएकी पो अरे। ”
भिक्षुको पछि लागि उ पनि त्यही भिरसम्म गयो जहाँबाट शान्तिलाई खँदारेर उसका दुई भाइहरू बन्दुक बोकी जङ्गल छिरेका थिए। उसको मुहारमा असफलताको बादल प्रस्ट छाएको देखेर होला भिक्षुले सान्त्वना दिँदै भने, “लास नभेटुञ्जेल आस नछोड्नु भन्छन्, तलास जारी राख बाबु, जिउँदो भए शान्ति अवश्य भेटिने छ। बरु तेतिन्जेलकालागि यो हिमाल-फेदीको झुप्रो कुनै असल हातमा सुम्पिन पाए हुन्थ्यो।”