शुभकामना सन्देश

Balaram Paudelबलराम पौड्याल
नेपाल

सेवामा,
श्री भक्त घिमिरेज्यू,
अध्यक्ष, साहित्य परिषद्-भूटान
स्थानः 680 W. Sharon RD, Cincinnati-OH 45240

विषयः  शुभकामना सन्देश

साहित्य परिषद्-भूटानको तत्त्वावधानमा नेपाली भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका लागि अमेरिकाको ओहायो राज्यस्थित सिन्सिनटी सहरमा आयोजित दुईदिने साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सरिक हुने आग्रहसहितको स्नेहमयी पत्र धेरै समयअधि प्राप्त भएको  थियो । काठमाडौंस्थि अमेरिकी दूतावासबाट भिसा प्राप्त नहुँदा मनले चाहेर पनि उपस्थित हुन सकिएन । यहाँहरूसमक्ष क्षमाप्रार्थी छु । यद्यपि, मेरा अनन्य मित्र श्री डीपी काफ्लेज्यू कार्यक्रममा सहभागी हुनुहुनेछ । वहाँमार्फत हामी सबैका तर्फबाट शुभकामना व्यक्त हुनेछ भन्ने विश्वास लिएको छु ।

समुद्घाटन समारोहसहित लक्षित कार्ययोजनाहरुको सफलतापूर्वक परिचालन हुन सकोस् । हाम्रो भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका भावी रणनीति तर्जुमा गरिने कार्यले प्राथमिकता पाउन सकोस् । हाम्रा सन्ततिहरु जहाँ रहे पनि मातृभाषा पढ्न, लेख्न र बोल्न पाउने वातावरण सिर्जना गराउने क्षमताको विकास होस् । आगामी दिनहरूमा साहित्य परिषद्-भूटानको विश्वभर शाखा, उपशाखा र कार्यालयहरू स्थापना हुँदैगरेको सुन्न पाउने अपेक्षासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

अध्यक्ष महोदय ! यहाँहरूलाई जस्तै मलाई पनि पहिचान दुखेको छ । यो दुखाइ हजुरको पत्र प्राप्त भएबाट सुरु भएकोचाहिँ पक्कै पनि होइन । हामी त्यो देशका नागरिक हौँ जहाँ कयौँ वर्षसम्म हाम्रा बाबु-बाजेले सेनाको गोली-गट्ठा पिठ्यूँमा बोकेका थिए । मुलुकका दुर्गम स्थानहरूमा बाटो खन्दाखन्दै अमूल्य जीवन उत्सर्ग गरेका थिए । हामी आफैँले पनि देशविकासको नाममा पचास केजीभन्दा माथिका सिमेन्टका भारी बोक्यौँ । कोसौँ टाढाबाट उचाल्नै नसक्ने फलामका भारी, बढेमानका काठ र ढुङ्गा ओसाऱ्यौं । राजतन्त्रको स्थापना गर्नमा, राष्ट्रको संवर्द्धन र विकासमा मुलुकका हरेक नागरिकले सच्चा देशभक्त भएर अहर्निश योगदान दिए ।

प्रजातन्त्रको जननी मुलुक ब्रिटेनका शासकको सल्लाहमा नेपाल राजाको समर्थन पाएका लामासमूह, पेन्लोप-जोङ्गपेनहरु र एघारजना दक्षिणभूटानका नेपालीभाषी मण्डल, मुख्तियारहरु विशेषतः गर्जमान गुरुङ, जङ्गबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान क्षेत्री, बलबहादुर नेपाल, गुमानसिंह थापा, गञ्जबहादुर क्षेत्री, लालवीर तामाङ, पूर्णसिंह कटुवाल, लालसिंह गुरुङ, नन्दलाल क्षेत्रीआदिको प्रयासबाट वाङ्चुकवंशीय राजतन्त्र स्थापना भएको इतिहास ताजै छ । तिनै राजतन्त्र स्थापनार्थ अहर्निश खट्नेहरुका वंशज र आफन्तहरू हामी तीन दशकअघि मुलुकबाट गलहत्याइका छौँ ।

हाम्रो विडम्बना ! सन् १९५० मा जन-आन्दोलनका प्रथम नेता महासुर क्षेत्रीलाई निर्दयताका साथ छालाको धोक्रोमा बन्द गरी सुनकोश नदीमा डुबाइयो । भागीलाल गुरुङ, धनवीर स्याङ्देन, बहादुर बल, सहवीर गुरुङ, बलबहादुर गुरुङ, दलबहादुर गुरुङलगायत चौबीसजना मूला काटिएझैँ एकै थलोमा गिँडिए । मकरे पेले, सहवीर राईलगायत कयौँ सत्याग्रहीले कालकोठरीमै जीवन उत्सर्ग गर्नुपऱ्यो । छिमेकी भूमिमा आश्रय लिएका करिब डेढसय परिवारहरू स्वदेश फर्कनै पाएनन् । त्यस समयका मूल नेतृत्व डिबी गुरुङले सन् १९६८ मा राजासित सम्झौता गरी आजीवन मासिक हजार रुपैयाँ लिने सर्तमा जनताको अधिकार दरबारमा सुम्पिएको पीडा सबैलाई दुखेको छ ।

पछिल्लो पटक सन् १९९०-९१ को दोस्रो ठुलो जनान्दोलनको समयमा पनि मनबहादुर क्षेत्री, गोविन्द मिश्र, सितादेवी मोते, गाले जाङ्मो, एचबी सापकोटा, पदमप्रसाद ढकाल, धर्मराज गुरुङ, भक्तबहादुर पोखरेल, टिकाराम सुब्बा, गोमछेन कर्मा, मनोज विश्वा, टङ्क पाठक आदि असीजनाभन्दा बढीले सहादत्त प्राप्त गरेका छन् । मधुलाल बुढाथोकी, प्रेम राई, कुमार राई, तेन्जिङ गावा जाङ्पो, लोकनाथ आचार्य आदि दुइसयभन्दा अधिक आफन्तहरूको स्थिति अझैसम्म अज्ञात छ । बाबुराम स्याङ्देन र सहबहादुर सिवा घरफर्किने अभियानमा भारतीय प्रशासनद्वारा मारिए । पेमदोर्जे तामाङ, नरपति ढुङ्गेललाई अनाहकमा नेपाल प्रहरीले गोली ठोक्यो । विविध कारणबाट पुनर्स्थापन हुनबाट वञ्चित हुनेहरु, स्वदेश फर्कन लालायित र दर्ता प्रक्रियाबाट छुटेका शरणार्थीहरूको शिविरबसाइ दिन-प्रतिदिन अत्यधिक कष्टकर भइरहेको छ ।

हामी सबैको पीडा यतिकैमा समाप्त हुँदैन ।  स्थापित नेताहरूमध्ये आर.के. बुढाथोकीको हाम्रै सामुन्नेमा हत्या भयो । रणबहादुर बस्नेत र तोङथोङ् क्युनलेसँगको हाम्रो सामीप्यता नियतिलाई मञ्जूर भएन । तीन दशक लामो निर्वासन बसाइक्रममा सन्तान, आफन्त, दौँतरी र अनगिन्ती छिमेकीहरू गुमायौँ । अनित्य मानवजीवन एकपछि अर्को हुँदै प्रकृतिमा विलीन हुनैपर्छ । यद्यपि, इतिहास, पीडा, वेदना, र योगदानका साक्षीहरू जलाइँदै गर्दा हाम्रा असली प्रमाणसमेत खरानी हुँदैछन् । प्रकारान्तरले भावी पुस्ताको कलिलो मस्तिष्कबाट हाम्रो उद्गमस्थलको ऐतिहासिक तथ्यसमेत विस्मृतितर्फ मोडिने चिन्ता लाग्छ । यसर्थमा हाम्रो अभियान जारी नै छ; रहनुपर्छ । हामी जस्तै परिवेशमा हुर्किए पनि एउटै परिवारका सदस्य भएर जिउनसक्नु एकमात्र हाम्रो विकल्प साथमा छ । जन्मभूमि, आफ्नो समाज र अस्तित्व संरक्षणका लागि भाषा, साहित्य, संस्कृतिको संवर्द्धन र प्रवर्द्धन हुन जरुरी छ ।

अध्यक्ष महोदय ! हाम्रो पालोमा भूटानी इतिहास पढाइने चलन थिएन । प्रायः सबै स्कुलहरूमा भारतीय इतिहास पढ्नु हाम्रा बाध्यता थियो । जन्मभूमिको इतिहास जान्न नपाउनुमा आफ्नै दुर्भाग्य सम्झिएका थियौँ हामीले । ठुलो कक्षामा पुगेपछि मुलुकको इतिहास नलेखिएको महसुस भयो । अझैसम्म आम नागरिकले राजतन्त्र स्थापनापूर्वको इतिहास बुझ्ने अवसरबाट वञ्चित हुनुपरेको छ । म सानो छँदा गाउँका बुढापाकाहरु जिङ्गाप, चप्रासीहरु घर-घरमा पसेर जनतालाई दुःख दिएको व्यथा सुनाउँथे । पुराना प्रमाणहरू खोजिखोजि नष्ट गराइएका विवरण सुनाएर दुःखी र निराश देखिन्थे । दक्षिणमा मात्र होइन, पूर्वका बासिन्दा सारछोपहरुको ऐतिहासिक दस्ताबेज ‘ल्होहीछेजुङ्’ पनि जनताबाट खोसिएको विवरण सुन्नपर्दा पीडा अझै थपिन्थ्यो । सन् १९९० मा दक्षिणीक्षेत्रबाट नागरिक अधिकारका लागि आवाज उठाइरहँदा पनि जनतासित भएका पुराना दस्तावेजगरु खोसेर जलाइएको असह्य पीडा हामीसित छँदैछ ।

राष्ट्रियता र स्वतन्त्रता प्रबल बनाउनकै लागि शासक र शासित दुवै मिल्नुपर्छ भन्ने सद्भावले प्रजातान्त्रिक पद्धति स्थापनार्थ हामीले संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन सुरु गऱ्यौं । विधिको शासन, सुशासनको प्रवर्द्धन र नीतिगत स्थिरताका लागि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हजारौँ नागरिकहरूलाई ‘राष्ट्रद्रोही’ करार गरी देशबाटै लखेटिनुपर्ने परिस्थिति सिर्जना गराइयो । पराधीन, कायर सरकारसँग साहस, क्षमता र स्वाभिमानको महत्त्व नहुँदा स्वाभिमानी नागरिकका लागि कहालीलाग्दो निर्वासित जीवन भोग्न विवश तुल्याइयो । बिस प्रतिशत जनता निर्वासनमा धकेलिए । अझ जातीय भाषामाथि प्रतिबन्ध लगाइएपछि नेपालीभाषी ल्होत्छाम्पाहरु पूर्णरूपमा देवनागरी लिपी लेख्न, पढ्न नजान्ने स्थितिमा पुगे । यसकारण पनि हामी मात्र होइन, मुलुकभित्रै रहनेहरुको पनि भाषा, कला, साहित्य र अस्तित्व लोप भएर जाने खतरा बढेको छ ।

अध्यक्ष महोदय ! साम्ची जिल्लामा राष्ट्रिय पोसाक लगाउने सम्बन्धमा जनतासित कुरा राख्ने जोङ्दासहित एक हुल सरकारी अधिकारीहरू बाँडा जुनियर हाइस्कूल प्राङ्गणमा भेला भएको दिनबाटै मलाई पहिचान दुखेको हो । ब्लक मण्डलहरूका लागि सरकारी पोसाक गो-काब्नी भए पनि जातीय पहिरन अपनाउनुपर्छ भन्ने गृहमन्त्री ताम्जी जागरको सर्कुलरको आडमा मैले दौरा-सुरुवाल, ढाका टोपीमा सजिएर उनीहरूको स्वागत गरेको थिएँ । जनताको वाक् स्वतन्त्रता दबाउन र जातीय अस्तित्व मेटाउन कम्मर कसेका शासकहरूका नजरमा मेरो प्रयास ‘चावासुम विरोधी अपराध’ थियो ।  गैर-जिम्मेवारी र सरकारको उद्देश्यविपरीत थियो । तथापि, एउटा जिम्मेवार नागरिकको हैसियतबाट सांकेतिक विरोध जनाउनु मैले आफ्नो कर्तव्य सम्झिएको थिएँ । त्यसबखत मलाई गिरफ्तार गर्ने पर्याप्त आधार नपाएपछि राजासँगको मिटिङ हुने षड्यन्त्र फिँजाएर रोयल भूटान पुलिस प्रयोग गरी ३ नोभेम्बर १९८९ को मध्यरातमा घरबाट लिएर हिँडे । गाउँसम्म  गाडी गुड्ने सडक थिएन । केही क्षण ओरालो बाटो हिँडिरहँदा आफूलाई छल गरिएको महसुस भयो । खोल्सीको पानी पिउने निहुँमा केही कदमपछि बसेर लुक्तै भूटान-भारत सीमा छुट्याउने तोदे खोलामा हामफालेर ज्यान बचाएँ । यसरी पुलिसको चंगुलबाट उम्किएको सजाय परिवारमाथि बज्रियो । हामी हुर्किएको घरसहित सारा सम्पत्ति राष्ट्रीयकरण गरियो । श्रीमतीसहित छोरा-छोरीहरू बलपूर्वक देशनिकाला भए । मलाई छलद्वारा मुलुक छाड्न विवश तुल्याइएको त्यस काली-रातमा सारा भूटानीहरु मस्त निद्रामा थिए । लुक्नका लागि प्रवेश गरिएको भारतभूमिसमेत सुरक्षित थिएन । यद्यपि, म र मेरा परिवारका सदस्यले भोगेको पीडाभन्दा कयौँ बढी यातना भोग्ने परिवारहरू निर्वासनमा धेरै छन् । प्रस्तुत विषय सङ्क्षेपमा निर्देश नागरिकहरूमाथि गरिने शासकहरूको कालो कर्तुत उजागर गरिएको मात्र हो ।

नेपालमा शरणार्थी शिविर स्थापना भएलगत्तै पहिचान संरक्षणखातिर साहित्य परिषद्-भूटानको स्थापना भई धेरै महत्त्वपूर्ण प्रयासहरू हुँदै गए । पुनर्वाश प्रक्रिया सुरु हुनासाथ परिस्थिति कता मोडिने निश्चित थिएन । नयाँ परिवेशमा घुलमिल हुन समय लाग्ने र लामो कसरत गर्नुपर्ने हुन्थ्यो । अपितु, जब यहाँहरूको प्रयासबाट अमेरिकामा संस्थागत दर्ता भई पहिलो दिइदिने साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने निश्चित गरिएको पत्र नै हात लाग्यो, विश्वास गर्नुहोस्, त्यसबखत म रोमाञ्चित भएँ, गहभरि खुसीका आँसु छछल्किए । त्यसै दिनदेखि अब हाम्रो समाज, भाषा, साहित्य र पहिचानविहीन हुँदैन भन्ने पूर्ण विश्वासमा ढुक्क छु ।

अध्यक्ष महोदय ! वास्तवमा मानिसको अभिव्यक्तिको साधन हो आफ्नै भाषा । अस्तित्व संरक्षणको अमूल्य साधनाको पहिरन हो साहित्य । चेतना र जागरणको माध्यम, मानव एकताको सङ्गम, जाति र समाजमा समानताको आधार हो साहित्य । मानिसले वाणीद्वारा, सङ्केतद्वारा, लेखनका माध्यमबाट आ-आफ्नो छट्पटाहट, गुनासो र मनभित्रको कल्पना आदि भाषाका माध्यमबाटै उजागर गर्दछ । मानवजातिको परिचय, साहित्य, कला एवं संस्कृतिको मुहार हो भाषा । जातिको संस्कृति, कला, परम्परा र आचरणमा सधैँ भाषाको गहिरो सम्बन्ध रहन्छ । जुनसुकै भाषाले उस्तै भाषा बोल्ने जाति वा जनजातिको संस्कृति बोकेको हुन्छ । हरेक जातिसँग जीवन्त भाषा, परिष्कृत साहित्य र मौलिक संस्कृति हुन्छ । हरेक जातिको जातीयतासित भाषाको अटूट र अभिन्न सम्बन्ध रहने हुनाले भाषाविहीन जाति हुँदैन । कदाचित भाषा लोप भयो भने त्यस जातिको अस्तित्व र संस्कृति स्वतः लोप भएर जान्छ ।

हरेक रीति-रिवाज, संस्कृति, आचरण, रहन- सहन र असल समाज निर्माण गराउने प्रमुख माध्यम भाषा नै हुनेहुँदा यसको समुचित विकास र संरक्षण हुन आवश्यक छ । भाषाको संवर्द्धन र प्रवर्द्धन गरिँदाको औचित्यबाट मानव अस्तित्वको संरक्षण भएर जान्छ । भाषाले बौद्धिक विकास गराउँछ । उत्कृष्ट साहित्यले मानव-मस्तिष्कमा विशुद्धता प्रदान गर्दछ । विशुद्ध भाषा बोल्ने जाति र उत्कृष्ट साहित्य बुझ्ने समाज भएपछि मात्र एक सभ्य मानवसमाजको निर्माण सम्भव हुन्छ । कुनै पनि मानव जातिलाई आफ्नै संस्कृति, रीति-रिवाज, धर्म, परम्परा र इतिहासलाई संरक्षण गर्ने, उत्कृष्ट साहित्यलाई बुझ्ने र मातृ-भाषामा अध्ययन गर्नपाउने अधिकार रहनुपर्दछ । कुनै पनि जाति र भाषामाथि अतिक्रमण गर्न खोजिनु मानिसको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप गरिनुसरह मानिन्छ । जातीय भाषाले समान मान्यता पाउने हरेक नागरिकको मौलिक अधिकारभित्र पर्दछ ।

स्पष्टतः राष्ट्र भनेको बहुभाषीय जनसमुदायको एक समष्टि पनि हो । यसप्रकार भाषाको गहन सम्पर्क जातीय अस्तित्व संरक्षण र राष्ट्रको सर्वाङ्गीण विकाससँग सम्बन्धित हुनेहुँदा एउटै आमाको छातीमा सँगसँगै हुर्किएका विविध जातिबिच समानताको भाव जागृत गराउने दायित्व राज्यपक्षको हातमा हुन्छ ।  बहुभाषीय, बहुजातीय र भौगोलिक विविधताको संयोजन रहेको मुलुकका जनताका आधारभूत अधिकारहरू राष्ट्रको संविधानभित्र संरक्षित रहनुपर्दछ । यसो नभएको खण्डमा कुनै पनि आत्मगौरवका साथ बाँच्न चाहने स्वाभिमान सचेत नागरिकको हृहयमा प्रतिशोधको ज्वाला उत्पन्न हुन्छ । जब, जब व्यक्तिको स्वतन्त्रतामाथि लगाम लगाउने प्रयास गरिन्छ, उसका अपरिहार्य नैसर्गिक अधिकारमाथि हस्तक्षेपको प्रयास हुन्छ, तब उन्मुक्तिका लागि मानिसले आफैँ विद्रोह बोल्छ ।

अध्यक्ष महोदय ! यो शुभकामना सन्देश लेखिरहँदा अनायासै मेरो मनोरम जन्मभूमि भूटानको सम्झना आएको छ । आफ्नै घर नजिकको स्वच्छ पानी पँधेरा वरिपरि फक्रिएको सुनाखरी र मालतीका फुलहरू मग्मगाएका छन् । मैले बामे सर्दै लडीबडी खेलेको मझेरी, आँगन र उकाली-ओरालीका गोरेंटाहरु सल्बलाएका छन् । मैले कखरा सिकेको मेरो पहिलो विद्यालय, बाँडा विश्वेश्वर संस्कृति पाठशालाका भत्किएका कोठा-भित्ताहरू मुस्कुराएका छन् । तप्तप् चुहिने खरको छानोमुनि बाँसका झिक्राले बेह्रिएको कटेराभित्रको हिले मझेरीमा आधुनिक शिक्षा (अङ्ग्रेजी) को ज्योति छर्ने हाम्रा आदरणीय गुरु के.बी. गुरुङको अनवरत सङ्घर्ष जुर्मुराएको छ । गाउँ-बस्ती बिचबाट अविछिन्न प्रवाहित हुने छहरा, खोल्सा र ससाना उपत्यकाभित्रका नीला, हरिया पोखरीहरूमा रम्ने पंक्षीहरुका मधुर ध्वनि तरंगित भएका छन् । आफ्नै आँगनबाट छर्लङ्ग देखिने अग्ला हिमशिखर र सेतो हिमालयका क्षितिजमाथि पङ्खा फिँजाउने कऱ्याङकुरुङका भावात्मक आनन्द पाएको छु ।

हिउँदे बिदामा नदी-किनाराका सफा, उज्जर बालुवा-गिट्टी कुल्चिँदै चप्लेंटी ढुङ्गामाथिबाट सुरुली खेल्दाको पल बिउँतिएको छ । चैत-वैशाखको उँभौली उत्सव सुनाउँदै अग्ला टाकुरामाथि उक्लिएर वनभोज खाएको, हिउँ बिलाएपछि टुसाएका कलिला मुना-पालुवाहरू सुमसुम्याएको, चाप-गुराँसका फुलहरू कानमाथि सिउरिएको र लैबरी भाकामा रमाउँदै आफ्नै घर फर्किएको स्वर्णिम क्षण बल्झिएको छ । भुटेको मकै-भटमास मुलाको पातसँग चपाएको र खेल्दाखेल्दै तिर्खाउँदा आमाले दिएको मानिपुरे बटुकाभरिको मोही सन्काएझैं मन शान्त भएको छ । दसैँको टीका ग्रहण गर्न रमाउँदै मामाघर दगुरेको र माइजूले दिएको लालपत्ती केरासँग दही-चिउरा खाँदाको मिठास पनि पाएको छु । मनै लोभ्याउने मखमली र सयपत्रीका फुलहरू लहराका घर, आँगन र गाउँ घुमेर साथी-भाइसित देउसी-भैलो भट्याएको क्षणको काल्पनिक आनन्दमा म अहिले पनि रमाइरहेको छु । सुकोमल बाहुले उचाल्दै आफ्नै काखमा बसालेर निधारमा सप्तरंगी टीका र सयपत्रीका माला पहिरिइदिने दिवङ्गत दिदीको हँसिलो मुहार कल्पिएको छु । सुनकोश, राइडाक, तर्सा र मानसमा पौडिएको स्वाधीनता पाएको छु । तोदे-जलढका र धनसिरी नदीको आत्मविश्वासमा रमाएको छु । र, कुलागांग्री, गाङ्कर प्युन्सुम र जोमोल्हारी शिखरको उचाइभन्दा अझै माथिसम्म चुलिएर कलम समाएको छु ।

अन्त्यमा, अध्यक्ष महोदयसँग एउटा सानो बिन्ती बिसाउने अनुमति चाहन्छु । विशेषतः हाम्रा भविष्यका कर्णधार साना बालबालिकालाई हामी नेपालबाटै आएका हौँ कि भन्ने भ्रम परेको हुनसक्छ । कसैले हाम्रो उद्गमस्थलको परिचय माग्यो भने नेपाल देखाउने गरिन्छ भनेको सुनेको छु । यसो भनिरहँदा विश्वमा हाम्रो अस्तित्वमाथि भ्रम सिर्जना हुने प्रबल सम्भावना रहन्छ । नेपालस्थित शरणार्थी शिविर हाम्रो लामो यात्राको क्रमममा बास बसिएको विश्रामस्थल मात्र थियो । आजैबाट हाम्रा बालबालिकाहरूलाई उद्गमस्थल (Place of Origin) बारे भूटानमा भएको आफ्नै माटोको परिचय सिकाउने अभियान आरम्भ गरियोस् ।

यहाँहरूले आरम्भ गर्नुभएको अभियान अति महान् छ । समयसापेक्ष छ । अत्यन्त प्रशंसनीय र उत्कृष्ट मात्र नभई युगानुकूल र अपरिहार्य पनि  छ । भविष्य अन्धकार छैन, अपितु यात्रा धेरै असजिलो छ । अत्यन्तै कठी र विविध बाधा अवरोधहरूलाई छिचोल्दै अघि बढ्नु पर्ने हुन्छ । यसका लागि सबै पक्षबाट सहयोग र सामूहिक समर्थन चाहिन्छ । यस पुनित कार्यमा मेरो प्राण रहेसम्म सदैव संलग्नता रहिरहने विश्वास दिलाउन चाहन्छु । यहाँहरूको यस बृहत् अभियानले विश्व जगतमा उच्चस्थान हासिल गर्न सफल बनोस् ।

पुनश्चः कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभकामना ।
धन्यवाद
बलराम पौडेल
अध्यक्ष,  भूटान पिपल्स पार्टी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *