शुभ साइत ! शुभ दसैँ !

सी एम निरोला
न्यू ह्याम्पसायार, अमेरिका

खै! ख्यालै ख्यालमा तिमी आयौ
निधारमा च्वाप्प पारी
दिनभर बस्यौ
सदा झैँ साँझपखमा पराईझैँ
बाटो मोडी अन्तै लाग्यौ!

यसपालि पनि आउन त आयौ
तर
दुवै दिन आयौ पोहोर झैँ
आफन्त र परिवारमा खैलाबैला पारि छाडिदियौ
कतिलाई मिलाइदियौ
कति कहाँ जात र धर्मको नाम पहिलाझैँ
सन्नाटा छाइदियौ
बिचरा नाबालकले सोध्दाखेर
हाम्रो हैन अर्कै धर्म र जातिको
भन्ने बनाइदियौ
के पर्‍यो होला त्यो मानसपटलमा ?

नआउँदा दिन गन्ती गर्छु
तिमी आउँदा
आर्थिक रूपले हैरान हुन्छु
थोरै गर्दा इज्जत जाने
मन खुसी पार्दा गान तन्कने!
खै कस्ती तिमी
किन यति रमझम छौ तिमी

पहिला त एकै दिन आउँथ्यौ
अहिले दुई दिन आउन थाल्यौ
तिम्रो दिन तोक्ने मान्छे
तिम्रो समय मिलाउने मान्छे
बाठो हो कि
बहुलाएको हो
भनिदिनु मलाई
सुटुक्क !
सही भए हात मिलाउनेछु
ती सज्जनसँग
नत्र
म विद्रोह गर्नेछु
त्यो पागलसँग
त्यो बौलाहासँग

यसपालि यस्तै भो
ठिकै छ
अर्को साल आउँदा
परिवार जोडेर आऊ तिमी
साइत र बार मोडेर होइन
एकै दिनको भएर आऊ तिमी
बरु नआउँदा केही हुन्न
आउँदा चाहिँ
यसरी दुइटा साइत लिएर होइन
एकै दिन एकै साइत भएर आऊ तिमी
अनि बल्ल भन्ने छु
शुभ साइत ! शुभ दसैँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *