शृङ्खला कविता
भोटाङ विशेष-१९९६
[एक]
भन्छ-
घाइते दुश्मन
आगोभन्दा खतरनाक हुन्छ !
भोटाङलाई पनि घाइते छाड़िएको छ-
हुन्छै-हुन्छ भोटाङ
खतरनाक
आगोभन्दा खतरनाक !
[दुई]
ठीकै छ नि त
सबैसबै थोक बिर्सेलान् रिजालहरू !
सयौं यातनाहरूको छुरीले
तिनीहरूको स्मरणको छाला काढ़िइएला ।
भुल्न लगाइएला
आफ्नो गाउँठाउँ । सके आफ्नो नाउँ पनि ।
आफ्नो शिक्षादीक्षा, कामकाज, वर्गसर्ग ।
सके, आफ्नो मान्छे हुनुको धर्म पनि ।
साथी, दुश्मन, प्रेयसी सबै-सबै बिर्सिन लगाइएला ।
सके, आमा पनि । ठीकै छ नि त
सबैसबै थोक बिर्सेलान् रिजालहरू।
नारकीय जुलूमहरू भोगाइएर बिर्सिन लगाइएला
माटोको गन्ध । पानीको स्वाद । हावाको स्पर्श ।
सके, आकाशको रङ्ग पनि ।
बिर्सेलान् रिजालहरू
मान्छेजस्तै बाँच्नु पाउनुपर्छ भन्ने पनि ।
ठीकै छ नि त
सबैसबै थोक बिर्सेलान् रिजालहरू ।
तर ती रिजालहरूको चाहिँ के गर्लान् तिनीहरू-
जो जन्मिए पराया माटोमा र सम्झिँदैछन् आफ्नै माटो?
जसलाई बिर्सिन लगाउन सकिँदैन सपना देख्न ?
[तीन]
तिम्रो छातीबाट उखेलेर
त्यसले फूटबल खेल्दैछ
तिम्रो आत्मसम्मानको ।
कत्ति मूर्ख त्यो-
ठुँगिएपछि मात्र त्यसले भेउ पाउनेछ
लपेटिएर फूटबलझैँ देखिन्छ मात्र
तर फुटबल हुँदैन आत्मसम्मान।
हेपिएको आत्मसम्मान त
साँप हुन्छ साँप !
-क्रमशः
(सिलगढी-भारत)