शृङ्खला कविता
भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर)
राजा पुनियानी
[चार]
धूलोमा
धूलोसरि भएर
धूलो खेल्दै बढ़्दैछन्
धूलो नलागेका सुग्घर राजालाई
धूलोको स्वाद चखाउने धूलोका सन्ततिहरू।
[पाँच]
अब हामी धेरबेर भुलिएर बस्नुहुँदैन
यो फर्कने बेला हो
हामीले नफर्की हुँदैन।
हामी फर्कन्छौं कि भनेर –
पासो पारिएको इतिहासले टुलुटुलु हाम्रै बाटो हेर्दै होला।
निस्सासिएको मुक्तिले हामीलाई पर्खिरहेको होला।
हामीले खन्दाखन्दै नाङ्गै छाड़िआएका खेतका ड्याङहरूमा
हाम्रो युवा मानचित्र आँक्दै होला
हारेको हिजोले।
अबेर भइसक्यो
यो फर्कने बेला हो
फर्किनुको गीत गाऊ साथी अब।
[छ:]
आउनोस् है, स्वागत छ हजुर
कोसेलीमा न्यानो मुटु लिएर आए पुगिजान्छ
बरू जुत्ता नखोले हुन्छ
आ-आफ्नो जात, जाति र धर्म चाहिँ दैलोबाहिरै राखेर आउनुहोला…
ज्यू यहाँ यस्तै छ
पराश्रित हाम्रो जीवन
सास फेर्न पनि हम्मे!
तपाईंहरू के कुनै एनजीओबाट
कि कुनै अन्तर्राष्ट्रिय सहायता निकायबाट?
मद्दतको त लतै लागिसक्यो नि हजुर…
खै कोही आएनन् हामीलाई दयाको साटो ऊर्जा दिन
एउटा यस्तो ऊर्जा, जसले हामीलाई हकको लड़ाइँ लड्ने आँट देओस्।
आउनोस् है, स्वागत छ हजुर
कोसेलीमा सङ्गलो विचार लिएर आए पुगिजान्छ।
हामी गरीब छौं
गरीबीभन्दा पनि अजङ्गको गरीबी पनि छ –
हामीसँग हाम्रो देश-आमा बस्दिनन्!
-क्रमशः
सिलगढी- भारत