शृङ्खला कविता
भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर)
राजा पुनियानी
[सात]
हमेस्सी प्रकृतिले देखाएकै छ
जे जन्माउँछ यसले
मार्छ पनि।
महाशय, प्रकृति र इतिहासको नसामा एउटै रगत कुद्छ।
तानाशाह इतिहासले जन्माउँछ
र मार्छ पनि इतिहासैले।
थिम्पुको महलमा
जनताको झण्डा गाड़िने दिन पनि
आउने कुनै क्यालेण्डरमा
झुण्डिएकै छ।
[आठ]
तिमीहरूदेखि सयौं माइल टाढ़ा
शान्त कोठाबाट
लेख्दैछु
तिमीहरूको अशान्त समयको अनुहारको चित्र ।
कसैले पनि निश्चित देख्नसक्ने
यी शब्दहरूमा
खिप्दैछु,
तिमीहरूको वर्षौं पुरानो अनिश्चितता ।
अमूर्तबाट झन् अमूर्त भूगोलतिर बसाइँ सर्दै गरेको
संवेदनाको कामिरहेको यो भूगोलमा
उभिएर,
तिमीहरूको अनुपस्थितिलाई
एउटा दर्बिलो आवाजको तातो दम दिँदैछु ।
तिमीहरूको कल्पनामात्र गर्नसक्छु
र तिमीहरूको सासलाई उतार्दैछु
शब्दमा ।
तिमीहरूकहाँ बिहान-बेलुकी धाउँछु शब्दकै बाटो भएर ।
के तिमीहरू
सुन्दैछौ ?
[नौ]
मान्छे हो
एक न एक दिन
गुन्गुनाउँछै गुन्गुनाउँछ
उसको गीत ।
खुशीमा, दुःखमा
अन्न रोप्दा, बाली काट्दा
प्रेममा, वैरागमा
जीतमा, हारमा
गाउँछै गाउँछ
उसको गीत- मुटुबाट ।
भोलिको उसको धुन
आजको संघर्षको कम्पनले जन्मिने छ ।
मान्छे हो
एक न एक दिन
गुन्गुनाउँछै गुन्गुनाउँछ
उसको गीत । क्रमशः
(सिलगढी-भारत)