शृङ्खला कविता
भोटाङ विशेष-१९९६ (अन्तिम भाग)
[दश]
जीवनभन्दा नीलो छ युद्ध
रगतभन्दा रातो छ प्रेम
र
मृत्युभन्दा कालो निर्वासन ।
त्यसैले;
कालो रङ्ग कस्तो हुन्छ भन्ने
निर्वासितलाई मात्र थाहा छ ।
जब-जब
रोटी, लुगा, घर नभएकाहरू
समयको मूल सड़क दखल गरेर हिँड़्छन्
दुनियाँ हल्लाएको कथा छ !
[एघाह्र]
उमेर, खुशी, गीत र आँशु-
खै, के छ हँ भोटाङमा?
शरणार्थीको आफ्नो भन्ने
त्यही उमेर त हुन्छ
तन्किँदै तन्किँदै जाने ।
खुशी, गीत र आँशु त
फुत्तै-फुत्तै निस्किरहन्छन्
शिविरहरूबाट !
शरणार्थीहरू,
जब फर्किनेछन् आफ्नो माटो
फर्किनेछन् झोलामा बोकेर
पाको उमेर, जियालो खुशी, पुरानो गीत
र केही थोपा जवान आँशु ।
[बाह्र]
झ्यालखानभित्र
तपाईंले जोगाएर राख्नुभएको
दश रियाज-साल
खेरो जान्छन् कि !
रिजाल
तपाईंको दश रियाज-साल
कोट्याउनेछन्
जुक्तिमा चोबिएका ताजा औंलीहरूले ।
गाड़धनझैँ फेला पारिएको
तपाईंको दश रियाज-सालले
झिलिलि बलेर
आउने सालहरूलाई बाटो देखाउनेछ
अँध्यारो समयमा !
[तेह्र]
भोटाङ हुँदै आएको
ए घाम
लगिदिनू सम्चार
फर्कँदा
कि
यहाँ पनि हामी बाँचेकै छौं ।
यो पनि भन्दिनू घाम-
बाँच्ने छौं
त्यहीँ आएरमात्रै ।
[चौध]
भोटाङको-
आकाश खै
नदी खै
रुख खै
चरा खै ?
भोटाङको-
घर खै
बाटो खै
घाम खै
जून खै ?
भोटाङको-
हाँसो खै
बोली खै
आस्था खै
सपना खै ?
यहाँ छैन क्यै
भोटाङजस्तै !
लौ भोटाङे दाइ ;
भोटाङ जाऊँ न है ! -(समाप्त)-
सिलगढी-भारत