शेर्पा, सगरमाथा र पूर्वभूटानीहरु
“वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले त झन् एउटै मानिसले दुइटा देशको राहदानी प्रयोग गर्नु कानुनी अपराध पनि हो । तर, एउटा देशको शिक्षामन्त्री र प्रधानमन्त्री स्वयं लागेर अर्को देशको नागरिकलाई यसरी भ्रान्तिमा फँसाइदिए । त्योबेला उनीहरुलाई अपराधबोध भयो भएन उनीहरु नै जानुन् । प्रधानमन्त्री नेहरुको उक्साहटमा शेर्पाले दुइ देशीय पास्पोर्ट पाएमात्र लण्डन जाने भनेपछि सो अनुसारकै प्रबन्ध गरियो ।”
भक्त घिमिरे
सन् १९५३ को मई महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि अकल्याण्ड, न्यूजिल्याण्डका एडमण्ड हिलारी र सोलुखुम्बू-नेपालका नाम्गेल वाङ्दी शेर्पामाथि विश्वको ध्यान केन्द्रित भयो । उनीहरु चिडिया घरमा भित्र्याइएका नयाँ जनावरझैं एकैचोटि धेरै दर्शकहरुको ध्यान खिच्ने भए ।
त्योबेला नेपालमा राणाशासनको समाप्तिपछि राजा त्रिभुवनले आफ्नो वर्चस्व बढावामाथि विश्वको ध्यान तान्न खोजरिहेका थिए भने भारतले बेलायतबाट मुक्ति पाएको छवर्ष मात्र बितेकाले जवाहरलाल नेहरु पनि विश्वको चासो आफूमाथि केन्द्रित गर्न क्रियाशील थिए ।
अतः यिनीहरु दुवैले ‘सगरमाथाको सफल आरोहण प्रकृतिमाथिको मानवीय विजय’-को रूपमा व्याख्या गर्दै शिखर टेकेका हिलारी र शेर्पालाई सकेसम्म प्रचारको साधन बनाए । जोहन हण्टको अगुवाइमा ब्रिटिश सेनाको हिमाल आरोहण दल यस कार्यमा उनीहरुको लागि विशेष सहयोगी बनेको थियो ।
विश्वव्यापी प्रचारकै क्रममा शेर्पा र हिलारीलाई काठमाडौंले सकेसम्म प्रयोग गऱ्यो र दिल्लीतिर ठेल्दियो । दिल्लीले पनि उनीहरुलाई अनेकौं रइसी समारोहरुमा सहभागी गरायो ।
यही क्रममा जोहन हण्ट र एडमण्ड हिलारीलाई बेलायती दरबारले विशेष सम्मान प्रदान गर्ने घोषणासहित उनीहरुलाई लण्डनमा निम्ता गऱ्यो । तर, शेर्पा शुरुमा त्यसभित्र परेनन् ।
शेर्पालाई निम्ता नआउनुमा उनी नेपाल वा भारत- कुन देशका नागरिक हुन् भन्ने कुराको टुंगो नभएको कारण बताइएको थियो । तर, त्यसको भित्री रहस्यचाहिं दिल्लीले नै शेर्पालाई निम्ता गर्न अलि ढिलाइ गरियोस् भनी दिल्लीस्थिति बेलायती नियोगमा अनुरोध गरेको बताइन्छ । त्यसपछि क्रमशः शेर्पाको नागरिकता विषय नेपाल र भारतबीच कुटनीतिक खिचातानीको कारण बन्यो । ऐन मौकामा एडमण्ड हिलारीलाई नागरिकता दान दिएर नेपालले त्यसको आधार स्थापित गरिदिएकै थियो । भारतले पनि नाम्गेल वाङ्दी शेर्पालाई तेञ्जिन नोर्गे बनाएर भारतीय नागरिक भएको दाबी गऱ्यो ।
भारतका लागि तत्कालीन नेपाली राजदूत विजय शमशेर राणालाई शिक्षामन्त्री मौलाना अबुल कलाम आजाद र प्रधानमन्त्री नेहरु स्वयंले आफ्नै दफ्तरमा बोलाएर शेर्पालाई नेपाली राहदानीमा नभई भारतीय पास्पोर्टमा बेलायत पठाउनुपर्ने दलाली गरे । राजदूत राणाले नेपाली राहदानीमै शेर्पालाई बेलायत पठाउने इन्तजाम भइरहेको बताएर सो सम्बन्धमा नेपाली प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पत्र लेखेपछि नेहरूले नयाँ जुक्ति रचेर शेर्पालाई ‘बेलायत जान्न’ भन्ने बनाइदिए ।
अर्को दिन शेर्पाले नेपाली राजदूतावासमा आएर आफूलाई नेपाल र भारत दुवै देशको राहदानी मिल्ने भए बेलायत जाने नत्र नजाने बताए ।
वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले त झन् एउटै मानिसले दुइटा देशको राहदानी प्रयोग गर्नु कानुनी अपराध पनि हो । तर, एउटा देशको शिक्षामन्त्री र प्रधानमन्त्री स्वयं लागेर अर्को देशको नागरिकलाई यसरी भ्रान्तिमा फँसाइदिए । त्योबेला उनीहरुलाई अपराधबोध भयो भएन उनीहरु नै जानुन् । प्रधानमन्त्री नेहरुको उक्साहटमा शेर्पाले दुइ देशीय पास्पोर्ट पाएमात्र लण्डन जाने भनेपछि सो अनुसारकै प्रबन्ध गरियो ।
त्यसपछि फेरि अर्को दिन नाम्गेल वाङ्दी शेर्पा दिल्लीस्थित नेपाली दूतावासमा आएर राजदूत राणासित ‘आफ्नो स्वकीय सचिव ह्लाक्पालाई पनि सँगै जान दिने भएमात्र लण्डन जाने नत्र नजाने’ भने । लण्डनबाट निम्ता नआएका मानिसहरुलाई लाने सुविधा थिएन । शेर्पाको माग पूरा गर्न नेपाली दूतावासले मात्र सक्तैन थियो । राजदूत राणाले यो कुरा प्रधानमन्त्री नेहरुलाई सुनाए । पहिले निकै गडबड भए पनि पछि गएर उनको सचिवसमेत सँगै जाने व्यवस्था गरियो । खासमा शेर्पाको यो ढुल्मुलभित्र नेपाल सरकार वा नेपाली दूतावास आफ्नासामु आएर झुकोस् भन्ने दिल्ली दफ्तरको रणनीति थियो । यसरी शेर्पाका सबै माग पूरा गरी उनलाई लण्डन पठाइयो ।
लण्डनबाट फर्किएपछि उनलाई “तिमी नेपाली कि भारतीय” भनी सोद्धा उनले आफू “दुवै देशको बराबरी” भन्ने जवाफ दिएका थिए । तर, भारतीय सञ्चारमाध्यमहरुले शेर्पा भारतीय भएको एकोहोरो रटान लगाइरहे ।
वास्तवमा कुरो के भएको थियो भने, नेपालले ‘फिरंगीहरुलाई प्रवेश निषेध’ गरेका कारण बेलायतीहरुले सगमाथा आरोहणको अभियान तिब्बतको बाटो भएर गर्ने परिबन्द मिलाएका थिए । तिब्बतबाट निर्वासित भएर नेपाल पसेका घ्याङ्ला मिङ्पा शेर्पा र दाक्मो किञ्जोमका छोरा नाम्गेल वाङ्दी शेर्पा आफू पनि सानैदेखि सगरमाथा आरोहण गर्ने सोचमा थिए भने विशेषगरी अंग्रेजहरुको आरोहण दलमा रोजगारीका लागि प्रयास गरिरहेका थिए । अंग्रेजहरुसित काम गर्दा धेरै आर्जन हुने त्योबेलाको आर्थिक आकर्षण आजसम्म पनि कायमै छ । अतः अंग्रेजहरू दार्जीलिङ, सिक्किम हुँदै तिब्बत पुगेर सगरमाथा चढ्ने बन्दोबस्त भएकाले रोजगारीका लागि नाम्गेल वाङ्दी दार्जीलिङमै आएर बसेका थिए । यद्यपि, हिलारी र उनी संयुक्तरूपमा सगरमाथामा पुग्ने बेलामा चाहिं नेपालबाटै आरोहण दलको यात्रा अनुमति प्राप्त भइसकेकाले उनीहरु नेपालकै भूमिबाट त्यहाँ पुगेका थिए ।
यसरी रोजगारीका लागि अस्थायी रूपमा केही समय बसेको आधारमै भारतले नेपालको एकजना नागरिकलाई जबरजस्ति आफ्नो नागरिक बनाएको थियो । त्यसो किन गऱ्यो भने सगरमाथा आरोहणको गौरवगाथा शेर्पाले बोकेका थिए ।
यहाँ बौद्धिक पाठकहरुलाई जानकारी हुनुपर्छः विगत तीन दशकदेखि भूटानबाट उच्छेदित नागरिकहरुलाई ‘नागरिकताविहीन’, ‘राष्ट्रियताविहीन’ बनाउने खेलमा भूटानलगायत यिनै दुइ देशहरु (भारत र नेपाल) अनेक प्रपञ्चमा लागिपरे र ती मानिसहरुलाई सात समुद्र कटाए ।
तर, यतिबेला भूटानबाट विस्थापित भएर अमेरिका, केनाडा, अष्ट्रेलिया, यूरोप पुगेका मानिसहरुले कुन हिमाल आरोहण गरे थाहा छैन, उनीहरुलाई ‘मेरा’ ‘हाम्रा’ भनेर खोसाखोस गर्ने मानिसहरु धेरै सल्बलाउँदै छन् । पूर्वभूटानीहरुका लागि यो खोसाखोस नराम्रो भने होइन । तर, केका लागि यस्तो हुँदैछ भनेर सचेत रहनुचाहिं विवेकी मानिसहरुको धर्म हो । कोही ‘नागरिकता बेच्ने’ र कोही ‘नागरिक बेच्ने’हरुको भीडमा स्वाभिमानी मानिसहरुले आफ्नो अस्तित्व धान्नु, सच्चा हृदयले नेपालीपन र नेपालीमनको संरक्षण गर्नु चुनौतीपूर्ण कार्य हो ।
निष्कर्षमा कुनै मतान्तररहित कुराः पूर्व भूटानीहरुले सतर्कतापूर्ण, विवेकपूर्ण ढङ्गमा ‘सबैका’ बन्न कोशिश गर्नुपर्छ । यद्यपि, सबैको बन्नु ‘आफू हुनु’को अर्थ मासेर होइन, पहिले ‘आफू’ भएमात्र अरुको हुनुमा पनि केही अर्थ रहन्छ !