श्रीफेल्लेनी

शिवलाल दाहाल
खुदुनाबारी, झापा

श्रीफेल्लेनी-
जसका बारेमा म लेख्तै छु
ऊ मैले देख्ता,
भर्खर अध्वैंशे उमेर काटेर
बुढ्यौली उमेरको उकालो चढ़्दै थिई,
थाहा छैन अहिले ऊ
कति उमेरकी भई,
मात्र मैले हिजो सपनामा
फापरेको उकालो,
काखीमा घुम च्यापेर चढ़्दै गरेको देखेँ
उसलाई !

मैले जानेको यति हो,
मैले देखेको यति हो,
श्रीफेल्ले परिवारको घर
बुक्लुङ खोलाको ओडार हो,
उसका छोरा-छोरीका बारेमा
मैले जाने बुझेको छैन,
मैले जानेको भनेकै श्रीफेल्लेनीका बारेमा हो,
अँ… उसमा श्रीमान् श्रीफेल्लेका बारेमा पनि थोरै जान्दछु,
उसका हातमा खुवै सीप थियो
-डोका बुन्ने
-घुम बुन्ने
-ढाकर बुन्ने
-टोक्सी बुन्ने
श्रीफेल्ले–
साँच्चै जाँगरिला मान्छे हुन्,
कहिल्यै हात नबिसाउने
त्यसैले उसका औंलाका चक्र र हात्केलाका रेखा
कहिँ कतै भेटिँदैनन्
श्रीफेल्ले-
साँच्चै साहसी मान्छे हुन्
एकलो परिवार निर्जन ओडारमा बस्नसक्ने
बाघ, भालु र चितुवासँग
एउटै ओडारमा सुत्नसक्ने,

श्रीफेल्लेनी-
जसका बारेमा म लेख्तै छु
उसलाई मैले-
सानो छँदा धेरै चोटी देखेको हुँ
श्रीफेल्लेनी-
साँच्चै जाँगरिली हुन्
-खेत गोड्न
-डल्ला फोर्न
-रोपाईं गर्न
-धान काट्न
-कोदो रोप्न,

तर श्रीफेल्लेनीको काम
खेतालो-पातलो गर्नु मात्र होइन
त्योभन्दा बड़ता
गाउँ-गाउँ घुम पुर्‍याउनु
घर-घर डोका पुर्‍याउनु
गोठ-गोठ टोक्सी पुर्‍याउनु
अनि मानोमुठी बटुल्नु
हो -उसको काम
हो, यसै गर्थी श्रीफेल्लेनी ।

श्रीफेल्लेनी-
कतिचोटि तरी होला
नालुङ र तक्ती खोला
कतिचोटि घुमी होला
धमिले, म्याना र बोरिबोटे गाउँहरु
एक पाथी मकै माग्दै,
चार माना फापर खोज्दै,
एक भुटुन् तोरीतेल माग्दै,
एक धिप्री मटितेल खोज्दै !

श्रफेल्ले परिवारले
सब थोक चाखेको छ,
ओडारको आदिम सभ्यता,
ठूलो आगोको धुनी,
ठूलो झरीको तप्केनी,
ठूलो आँधीको झोंक्का,
ठूलो भलपहिरोको त्राहिमाम !
सिस्नाको खोले,
कोदो, फापर र मकैको ढिँड़ो ।
गिठ्ठा-भ्यागुरको रस,
खुकुरी, खुर्पा र हँसियाको चोट,
एकान्त, निर्जनता र भोक !

श्रीफेल्ले परवारको
यति धेरै कुरा बताई सकेँ
तर,
तिमीलाई थाहा छ ?
अझै एउटा कुरा भन्न बाँकी छ,
श्रीफेल्ले, श्रीफेल्लेनी
संसारका सबभन्दा खुशी र सुखी मानिस हुन्,
संसारका सबभन्दा भाग्यमानी नागरिक हुन्,
किनभने उनीहरूको देश,
‘कुल राष्ट्रिय खुसीयाली’-को देश हो !

3 Replies to “श्रीफेल्लेनी”

  1. Pranjal

    शब्द प्रयोगको कला देखेर दङ्ग नपर्ने को होला ? अझ अन्तिममा climax !!
    पढ्ने मौका दिनुभएकोमा कविज्यूलाई धेरै धेरै धन्यवाद

  2. Buddha Dhakal

    कूल राष्ट्रिय खुसि संग जोडेर यति मीठो कवितामा इतिहास लेख्नुभएकोमा शिवलालजीलाई धेरै धन्यवाद | कविताको मर्मलाई अन्तिममा उठाएर आकाशमा पुरयाउनु एउटा कला नमुना हो, कवितीय खुबी हो |

  3. prakash dhamala

    श्रीफल्लेनी कविता पढे पछि मलाई रात भरि निन्द्रा लागेन | कारण आफ्नो अतित सम्झी रहे | यो बिरानो देश अनि स्वदेश ……. आफन्त अनि पराइ ……..मेरो सानो बाल सखा गुड्डु सम्झे… कबि र कविता लै एक्सात सुभकामना …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *