संसार यस्तै छ

सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका

कवि
कवि

संसार यस्तै छ
कतै चित्कारै चित्कार
कतै विश्व सुनसान छ !
म र मेरो मान्छे दुलाको मुसो झै चुपचाप छौं
तर,
के गर्नु निमुखाको क्यान्सरभन्दा
मेरो पिड्को नै रोग बनेपछि !

हो ! बुद्धहरू निदाएका छन्
शान्ति हराएको छ
आतङ्कले भरिभराउ हुँदा
म चै गुमनाम छु कारण ऊ निमुखो छ
विचराहरू आवाजविहीन छन् !

मेरो हातमा माइक भएर के गर्नु र बोल्नै नचाहेपछि
ऊ साहरा माग्दै म कहाँ आउँदा
केवल ब्याट्री निकाली दिन्छु
न त कसैले सुन्यो
उसको आवाज न त चित्कार ।

किनकि मैले बोल्दा उसलाई शान्ति मिल्छ
तर, म भने उसलाई पीडैपीडामा रमेको हेर्न चाहन्छु
बुद्धहरूको हार हुँदा जति म खुशी हुन्छु
त्यति नै आनन्द मिल्छ
उसको त्यो चित्कार सुन्दा !

कान गुन्जाय मान हुन्छ, आनन्दित हुन्छ मन
अनि मुसुक्क हाँस्छु र भन्छु
न डराउ तिमी, हामी छँदै छौ नि !

विचरा मख्ख हुन्छ,
पानी माग्दा बिषादी दिन्छु
शित्तल माग्दा भुङ्ग्रो अनि
खाना होइन आस्वाशन !
खोक्रो आस्वाशन ।

दुनियाँ यस्तै छ
बम पड्कँदा पर्व झै सम्झन्छु
अर्को मर्दा उत्सब मनाउँछु
तर, मलाई भने पिड्को निस्कँदा समेत
विश्वभरि भुइँचालो ल्याइदिन्छु !
थुक्क म मान्छे –
जाति लडाएर
शान्तिको कामना गर्दछु !

अर्काको प्रगतिमा इर्ष्या गर्छु म
मपाइँत्वले भरिभराऊ ममा
धैर्यता भने पटक्कै छैन
केवल छ त घमण्ड र आडम्बर ।

मलाई सम्मानको आवश्यकता छ
उसलाई झैं ताली चाहिएको छ,
गालीबाट टाढा भाग्न चाहन्छु
तर,
सधै विवाद र अराजकता मचाइरहन्छु !

हो! मलाई शान्ति चाहिएको छ,
मेरो हातको बमलाई पुष्प ठान्छु
अरूले आशिर्वाद दिँदा झापड ठान्छु
तरै पनि मलाई स्याबासी चाहन्छु
न कि म आफैंले सिन्को भाँचेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *