संस्कृत भाषा किन पढ्ने ? :- सन्दर्भ संस्कृत दिवसको
डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
सन्दर्भ
प्रत्येक वर्ष श्रावण पूर्णिमाका दिन संस्कृत दिवस मनाइन्छ, जुन दिन रक्षाबन्धन(ऋषितर्पणी) पर्व पनि मनाइन्छ । कुनै पनि दिवस मनाउनुको तात्पर्य सम्बन्धित विषयलाई चर्चा परिचर्चा,मन्थन गर्दै त्यसको अध्ययन,संरक्षण र संवर्द्धन गर्नु हो । संस्कृत दिवस मनाउनुको उद्देश्य पनि त्यसको अध्ययन गर्ने प्रेरणा लिनु,सङ्कल्प लिनु र त्यस विद्या वा भाषामा रहेको ज्ञान तत्त्वलाई आत्मसात् गर्नु हो । अतः यस अवसरमा आउनुहोस् केही चर्चा गरौँ ।
संस्कृत भाषासँग कुनैन कुनै रूपमा हामी प्रत्येक व्यक्ति परिचित छौँ । कोही यस भाषामा रहेको विद्यालाई अध्ययन गर्दैगरेका छौँ ,कोही यो भाषामा धारा प्रवाह बोल्न सक्ने छौँ,कोही बोल्न नसके पनि बुझ्न सक्ने छौँ,कोही यस भाषामा लेखिएका मन्त्रहरू,श्लोकहरू पढ्न सक्ने छौँ , कोही लेख्न,पढ्न र बोल्न न सकेता पनि कर्मकाण्डगत कर्ममा गुरु पुरोहितहरूले उच्चारण गरेको सुन्ने गरेका छौँ भने यस्तै यस्तै विभिन्न अवस्थाका हामी हुन सक्छौँ ।
संस्कृतको अर्थ –
संस्कृत शब्दको अर्थ हो संस्कारित भाषा । व्याकरणका नियमले परिमार्जित सम्पूर्ण र समृद्ध भएकाले यस भाषालाई संस्कृत भनिन्छ । संस्कृत शब्द ‘संस्’ धातु बाट बनिएको हुँदा हाम्रो श्वास प्रश्वाससँग जोडेर यस भाषामा भएका वर्णहरू उच्चारण गर्नाले प्राणायाम आदि क्रियाहरू स्वत:सम्पन्न हुने हुनाले पनि संस्कृत भनिएको हो भन्ने केही विद्वानहरूको मत पाइन्छ ।
संस्कृत भाषाको ऐतिहासिकता
संस्कृत भाषा कति पुरानो हो भन्ने कुरो आफैँमा एउटा रहस्यको विषय छ । संस्कृत भाषा यो धर्तीको सबै भन्दा पुरानो भाषा हो । विश्व साहित्यको सबै भन्दा पुरानो लिखित ग्रन्थ ऋग वेद हो । ऋग्वेद संस्कृतमै लेखिएको हुनाले संस्कृत पनि त्यति नै पुरानो हो यो कुरो स्वतः सिद्ध छ । तर वेदको रचनाकाल भन्दा पूर्व पनि यस धर्तीमा जीवन थ्यो,भाषा थ्यो,बोलिन्थ्यो । त्यो भाषा कुन भाषा थ्यो त भन्ने जिज्ञासा शेष रहन्छ । ऋग्वेदको रचना कहिले भएको हो भन्ने विषयमा विद्वान्हरूमा मतभेद पाइन्छ । कसैले इशापूर्व ४५ यस वर्ष,कसैले ३५ सय वर्ष र कसैले २५ सय वर्ष मानेका छन् । यसरी वेदलाई संस्कृत भाषाको प्रथम लिखितरूपमा प्रामाणिक दस्ताबेज मानिएता पनि त्योभन्दा पूर्वको कालमा जनभाषाको रूपमा संस्कृत नै थ्यो भन्न सकिन्छ ,किनकि वेदको भाषा प्रौढ र परिष्कृत अवस्थामा पाइन्छ । कुनै पनि भाषाको मूर्त र पूर्ण रूप विकसित हुन हजारौँ वर्ष लाग्छन् । त्यसमा पनि वेदजस्तो प्रौढ र उत्कृष्ट साहित्य लेखिनुमा निकै समय बितेको हुनुपर्छ I वेदमा ऋचा लेखिनु भन्दा हजारौँ वर्ष पूर्व नै संस्कृत भाषा नभएको भए लेखिने पनि थिएन । लिपीका आधारमा भन्ने हो भने पनि देवनागरी लिपी भन्दा पहिला ब्राह्मी लिपी प्रचलित थ्यो भन्ने कुरो प्रमाणित भैसकेको छ । त्यसको अर्थ हो संस्कृत भाषाको प्राचीन लिपी ब्राह्मी थ्यो । ब्राह्मी लिपीको अवलोकन गर्दा चित्रात्मक,प्रतिकात्मक र सूत्रात्मक देखिन्छ । वेद मन्त्रका आरम्भमा उच्चारण गरिने ओमकार (ॐ) ध्वनि पनि चित्रात्मक र प्रतिकात्मक छ । यो सम्भवतः ब्राह्मी लिपिकै वर्ण हुनुपर्छ ।
ओमकार ध्वनि सृष्टिकै सबै भन्दा पुरानो ध्वनि मानिन्छ । नासाले समेत यस कुराको पुष्टि गरिसकेको छ । त्यसैले पनि संस्कृत सृष्टिका आरम्भ बाटै प्रचलित थ्यो । अर्को कुरो संस्कृतलाई देव भाषा पनि भनिन्छ । देवताहरूका जमानामा बोलिने भाषा भएकाले देव भाषा भनिएको हो । अतः संस्कृतको सर्वप्राचिनता स्वतःसिद्ध हुन्छ । किनकि यसका विपक्षमा कुनै अर्को भाषा रहेको तथ्य अहिलेसम्म भेटिएको छैन । संस्कृत भाषाको लौकिक रूप पाणिनिले अष्टाध्यायी लेखेपछि व्यवस्थित र परिमार्जित भयो,तर यसको वैदिक रूप त्यो भन्दा हजारौँ वर्ष पहिलादेखिनै प्रचलनमा रहेको हुँनाले र यसको विपक्षमा कुनै अन्य भाषा भएको सिद्ध नभएको हुँदा संस्कृतलाई अनादि भाषा भन्न सकिन्छ ।
संकृत भाषा जनभाषाका रूपमा-
अनादि कालदेखि जनभाषाको रूपमा प्रचलनमा रहेको संस्कृत भाषा निर्बाध रूपमा ईशा पूर्व छैटौं शताब्दीसम्म रहेको ज्ञात हुन्छ । किनकि यो समयमा गौतम बुद्धले आफ्नो धर्म देशना पाली भाषामा दिएको कुरो हामी जान्दछौं । तर सर्वसामान्यको वा अशिक्षित वर्गको बोलचालको भाषा पाली प्राकृत भएता पनि शिक्षित र शिक्षाको भाषा संस्कृत नै भएको पाइन्छ । त्यसोत विक्रमको पहिलो शताब्दीमा रहेका राजा भोजकालीन शिलालेखलाई हेर्दा त्यतिबेला पनि सामान्य जनको बोल्ने भाषा संस्कृत नै रहेको देखिन्छ । किनकि राजा भोजको भारी बोक्ने भारदारले संस्कृत भाषा प्रयोगमा रहेको त्रुटिलाई व्यङ्ग्यात्मक तरिकाले शुध्याएको प्रसङ्ग थाहा हुन आउँछ । उनले भारवाहकलाई सोध्छन् “ भारं बाधति ?”(भारी गरुंग भयो?) सेवकले उत्तर दिन्छ ‘ भारं न बाधाते राजन् ,यथा बाधति बाधाते’ ( हे राजन् भारी त्यति गरुंग छैन,जति बाधति शब्द गरुंग छ) । यहाँ राजाले ‘बाधति’ पद प्रयोग गरे जो व्याकरणका दृष्टिले गलत छ । सेवकले शुद्ध उच्चारण गर्दै ‘बाधते’को प्रयोग गर्दछ । यसरी सामान्य व्यक्तिको पनि त्यति शुद्ध प्रयोग हुनुले त्यति बेला संस्कृत जनभाषा रहेको प्रमाणित गर्दछ ।
संस्कृत भाषामा लेखिएका सम्पूर्ण उपलब्ध ग्रन्थहरूलाई मात्र नै गन्ने हो भने पनि हजारौँका सङ्ख्यामा पाइन्छन् । यी सम्पूर्ण कृतिहरूको परम्परालाई कुनै एक काल खण्डमा विभाजन गर्नै सकिँदैन । ती ग्रन्थहरूलाई विषय र सन्दर्भ उल्लेखाका आधारमा हेर्ने हो भने यसरी राख्न सकिन्छ – वैदिक साहित्य,ब्राह्मण साहित्य,आरण्यक ग्रन्थ,उपनिषद साहित्य,सूत्र साहित्य,स्मृति साहित्य पुराण साहित्य र महाभारत ,गीता आदि ग्रन्थहरू । यी कुनै एक ग्रन्थ नभएर विषयगत विभाग हुन् ,त्यसैले इनका आधारमा वैदिक काल र वैदिकोत्तर काल गरी दुई भागमा राख्न सकिन्छ सकिन्छ ।
त्यसपछिको कालमा हेर्ने हो भने संस्कृत साहित्य र दर्शनको लामो कालखण्ड संस्कृत लेखनमा बितेको पाइन्छ । लौकिक साहित्यमा पर्ने सबैभन्दा पहिलो ग्रन्थ भनेको वाल्मीकिको रामायण हो । त्यसरी नै भरत मुनिको नाट्य शास्त्र,बादरायणको ब्रह्मसूत्र, पाणिनीको अष्टाध्यायी,कात्यायनको वार्तिक,पतञ्जलिको व्याकरण महाभाष्य, वरदराजाचर्यको ‘लाघुसिद्धांतकौमुदी, आदि व्याकरण शास्त्रका ग्रन्थहरू देखिन्छन् । त्यसैगरी विश्वनाथ,मम्मट,शङ्कुक,आनन्द बर्धन आदि आचार्यहरूका साहित्य सिद्धान्त,कालिदास,माघ,भारावी आदि कविहरूका विभिन्न विधाका साहित्य र सम्पूर्ण पूर्वीय दर्शनहरूका सैकडौ ग्रन्थका साथै खगोल शास्त्र,ज्योतिष शास्त्र,आयुर्वेद जस्ता अमूल्य ग्रन्थहरूको लेखनले संस्कृतको अथाह सागर निर्माण भएकाले त्यो स्वर्णयुग रहेको स्पष्ट पार्दछ ।
त्यसपछि बौद्ध साहित्य,जैन साहित्य र शङ्कराचार्यको अद्वैत वेदान्त प्रस्थानत्रयी (ब्रह्म सूत्र,उपनिषद् र गीतामा भाष्य) र रामानुजाचार्यको विशिष्टाद्वैत वेदान्त (ब्रह्म सूत्र,उपनिषद् र गीतामा भाष्य) आदि ग्रन्थहरूको लामो शृङ्खला विद्यमान छ । यतिमात्र हैन संस्कृतमा लेखिएका सानातिना ग्रन्थहरूको, उपपुराण र माह्त्य ग्रन्थहरू अनि सम्पूर्ण कर्मकाण्डीय ग्रन्थहरू यहाँ उल्लेख गरिएकै छैन ।
यसरी हेर्दा ईशा पूर्व लगभग ४५ सय वर्ष देखि लिएर ईशाको एक हजार शताब्दीसम्म ग्रन्थ लेखनको लामो परम्परा रहेको देख्न पाइन्छ । संस्कृत भाषामा सामान्य स्तरमा बोलचालको परम्परा भने बौद्धकालबाटै ह्रास हुनथालेको देखिन्छ । यसको कारण बौद्धकला (ईसा पूर्व छैटौँ शाताब्दी) देखि पछि भारतमा यस धर्म-दर्शनले राजाश्रय पनि पायो । उता पाली र प्राकृतको बोलवाला हुँदै आयो र अन्य क्षेत्रीय भाषाहरूको विकास पनि हुँदै आयो । त्यसैले संस्कृत बिस्तारै ग्रन्थमा सीमित हुन पुग्यो । १२ औ शताब्दीदेखि भारतमा विदेशी यवनहरूको आक्रमण आरम्भ भयो र उनीहरूकै राज्यसत्ता पनि स्थापित हुनाले संस्कृतको बोली सहित लेखन कार्य पनि समाप्त भयो । फेरी सोह्रौँ शताब्दी पछि अङ्ग्रेजहरूको शासन स्थापित भएपछि त झनै संस्कृतभाषा र शिक्षाप्रति विभिन्न षड्यन्त्र नै आरम्भ भए । यस क्षेत्रमा सबैभन्दा ठूलो आक्रमण१८३६ तिर लर्ड मेकालेले इंग्ल्याण्डबाट कान्वेंट र मेशीनरी शिक्षा पद्दतिको आयात गरेर लागु गरेका कारण छिटपुट बचेको संस्कृत समाप्त नै भयो । मेकालेले संस्कृत मृत भाषा हो भनेर घोर अपप्रचार पनि गरेको कुरो थाहा पाइन्छ । त्यसैगरी प्राचीन भारतको नालन्दामा रहेको एक मात्र सुप्रसिद्ध बौद्ध शिक्षा केन्द्रमा मुस्लिमहरूले आगो लगाएर जलाए । भनिन्छ त्यो आगो छ महिनासम्म निभेको थिएन । भएका हजारौँ ग्रन्थहरूको सङ्ग्रहालय स्वाहा हुनाले हजारौँ ग्रन्थहरू नष्ट भए । यसरी संस्कृत भाषाको मूल उद्गमस्थल भारतमा अनेक कालखण्डमा भएका विभिन्न आक्रमणहरूले संस्कृतमा भएको ज्ञान सम्पदालाई नष्ट गर्यो भने भाषा पुस्तकमा थन्कियो ।
संस्कृतको वर्तमान स्थिति –
संस्कृत भाषाका बारेमा कालानुक्रम वर्णन गर्दैगर्दा वर्तमान काल भनेर भन्नुपर्दा अङ्ग्रेजहरूको भारतबाट पलायनदेखि आजसम्मको काललाई बुझ्नुपर्दछ । भारत अङ्ग्रेजहरूबाट स्वतन्त्र भएको सन् १९४७ मा हो । भारत राजनैतिक रूपमा १९४७ मा स्वतन्त्रता भयो,तर शैक्षिक र सांस्कृतिक रूपमा धेरै पछिसम्म गुलाम नै रहेको देखिन्छ । अझै पनि संस्कृत भाषाले जुन स्थान पाउनुपर्थ्यो थ्यो स्थान पाउन सकेको छैन । पछिल्लो समयमा केही गैरसरकारी संस्थाहरूका पहलमा निकै राम्रा कार्यहरू हुन्दैछन् । आज भन्दा ३५/३६ वर्ष पूर्व ‘संस्कृत भारती’ नामक संस्थाको स्थापना भएपछि भारतमा संस्कृतको पुन:जागरण काल आरम्भ भएको छ । यस संस्थाले लाखौँ बालबालिकाहरूको मातृभाषा नै संस्कृत बनाएको छ । हजारौँ संस्कृत शिक्षणका प्रकल्पहरू,पाठ्यक्रमहरू, योग्य भाशाशिक्षकहरू निर्माण गर्दैछ । अत:संस्कृतको नवयुग प्रारम्भ भएको छ भन्न सकिन्छ I
यसरी हजारौँ वर्षबाट संस्कृत भाषा कर्मकाण्डीय प्रयोगमा र ग्रन्थमा मात्र सीमित भएर रहेको यस अवस्थामा संस्कृतलाई कर्मकाण्ड र ब्राह्मणहरूको मात्र भाषा हो भनेर बुझ्ने र भन्ने मान्छेहरूको थुप्रै सङ्ख्या छ । जनमानसमा रहेको यो छापलाई जबसम्म निर्मूल गर्न सकिँदैन संस्कृतको विकास हुन कठिन कार्य हुनेछ ।
संस्कृतको विकास कसरी गर्न सकिन्छ –
संस्कृत विषयका साथ साथ एउटा भाषा पनि हो । कुनैपनि ग्रन्थमा रहेको रहस्य बुझ्न त्यही भाषामा पढ्दा जति राम्रो गरी बुझ्न सकिन्छ अनुवाद गरेका पुस्तकहरूबाट त्यति राम्रो बुझ्न सकिन्न । त्यसैले सर्वप्रथम भाषा सिक्न आवश्यक हुन्छ । भाषा सिकेर अनि ग्रन्थमा प्रवेश गर्नु एक वैज्ञानिक पद्धति पनि हो । किनकि भाषा सिकाइका आरम्भिक खुड्किलाहरू सुनाई ,बोलाइ ,पढाई र लेखाई हुन् । भर्खर जन्मिएको बालकले कुनै भाषा सिकेर आएको हुँदैन । बिस्तारै आमा बुबा र परिवार जानबाट सुन्दा सुन्दा पछि बोल्न थाल्दछ । विद्यालय जाने भएपछि पढ्न र लेख्न पनि सिक्दछ । त्यसैले संस्कृत भाषाको पुनरुत्थान गर्न सर्वप्रथम बोल्न सिक्नु पर्ने हुन्छ । अनि मातृभाषाको परम्परा बसाउनु पर्ने हुन्छ ।
संस्कृत माध्यममा पढाई-
संस्कृत विषयलाई संस्कृत माध्यममा नै पढाइनु पर्दछ । भारत नेपालतिर संस्कृत विश्वविद्यालय ,महाविद्यालयतिर पनि संस्कृतको अध्यापन अन्य स्थानीय भाषामा पढाइने गरिन्छ ,यो गलत हो । संस्कृतलाई संस्कृतमा नै पढाइनु पर्दछ । यसो गर्नाले भाषाको विकास त हुन्छ नै विषयमा भएको मूल रहस्य बुझ्न सजिलो हुन्छ ।
संस्कृतको भविष्य
संस्कृत वाङ्मयमा रहेको प्राचीन विज्ञानलाई अब आधुनिक वैज्ञानिकहरूले पनि पढ्दै,बुझ्दै आएका छन् ,स्विकार्दै आएका छन् । नासाले कम्प्युटरका लागि सर्वोत्तम भाषा भएकाले संस्कृत भाषालाई कम्प्युटरको कमाण्ड भाषाका रूपमा प्रयोग गरेर सुपर कम्प्युटर निर्माण गर्दै गरेको अवस्था छ । माइक्रोसफ्टले संस्कृत भाषामा कोडिंग गरिरहेको छ । त्यसो हुँदा संस्कृतको भविष्य उज्ज्वल मात्र हैन भविष्यमा संस्कृत नपढे कम्प्युटर चलाउन नै नजान्ने स्थिति आउनेवाला देखिन्छ । अबको युग भनेको कम्प्यूटर विना हातमुख जोड्न पनि मुस्किल हुने दिन आएका छन् । त्यसैले पनि संस्कृत पढ्न आवश्यक देखिन्छ ।
संस्कृतमा भएको अध्यात्म विज्ञान संसारकै वैज्ञानिक पद्धति हो । आज विश्वमा योग विज्ञानको महत्त्व बढेको छ ,धेरैले योगलाई अध्यात्मका दृष्टिले मात्र हैन स्वास्थ्यका दृष्टिले पनि अपनाउँदै छन् । त्यसो हुँदा संस्कृत शास्त्रमा रहेका विभिन्न विज्ञानलाई बुझ्न आवश्यक छ ।
भ्रमको निवारण आवश्यक छ
संस्कृतलाई युगौंदेखि एक वर्गविशेषको (ब्राह्मणको)मात्र भाषा भनेर बुझिन्छ । हिजो अस्तिसम्म नारीले संस्कृत पढ्नै हुँदैन भनिन्थ्यो I नारी जननी पनि हुने हुनाले मातृभाषाको आधारस्तम्भ हुन् I नारीले संस्कृत पढ्नु भनेको सन्तान संस्कारित हुनु हो I अर्को कुरो संस्कृत भन्ने बित्तिकै कर्मकाण्ड मात्र हो भन्ने जनमानसको धारणा देखिन्छ । यो अज्ञानजन्य भ्रम हो । संस्कृत भाषा सबैको भाषा हो,सबैले पढ्नु पर्दछ । यस भाषालाई बोलचालको भाषा बनाउनु हो भने यो भ्रम स्वतः समाप्त हुनेछ । शास्त्रमा रहेको विज्ञानको अध्ययन गर्ने हो भने यो भ्रम स्वयं समाप्त हुनेछ । प्रयोग नहुनाले यो भाषा र यसमा रहेको ज्ञान विज्ञान न बुझ्नाले यो भ्रम उत्पन्न भएको हो । अतः संस्कृतलाई सबैले पढेर ,प्रयोग गरेर यसमा रहेको भ्रमलाई हटाउन सकिन्छ ।
नेपाली भाषा र संस्कृतको सम्बन्ध
नेपाली भाषा संस्कृतकै छोरी हो I संस्कृत व्याकरण र शब्द विना नेपाली अधुरो नै रहन्छ I नेपाली साहित्यको परम्परा संस्कृत साहित्य बाटै आएको हो I रस,छन्द,अलङ्कार,रीति,गुण आदि तत्वहरूको मूल संस्कृत साहित्य नै हो I नेपाली भाषा साहित्यका स्तरीय कवि र लेखकहरू जतिपनि भए ती सबै संस्कृत साहित्यको अध्ययन गरेकै व्यक्तिहरू हुन् I तर वर्तमानको नेपाली साहित्य र लेखन त्यो भन्दा भिन्न देखिन्छ I आज नेपाली भाषाको लेखन पक्ष कमजोर भएको छ शुद्धाशुद्धि र वर्ण विन्यास वाक्यविन्यासको समस्या बढ्दै गएको छ I यसो हुनुको कारण संस्कृत व्याकरणका नियमलाई न पहिल्रयाउनु र संस्कृत भाषाको ज्ञान न हुनु हो I अत: प्रत्येक नेपाली साहित्यका लेखकहरूले संस्कृत पढ्न जरुरी देखिन्छ I
आउनुहोस् हामी सबै मिलेर संस्कृतको अध्ययन गरौँ ,यसमा रहेको ज्ञान विज्ञानलाई बुझौँ आफ्नो उच्चतम चेतनालाई बढाऔँ ! संस्कृतिको रक्षा गरौँ I नैतिकवान समाजको निर्माण गरौँ वर्तमानमा यी कुराहरूको आवश्यकता खट्किएको छ I यी सम्पूर्ण समस्याहरूको समाधान गर्न र पूर्वीय दर्शन र जीवनकलालाई जान्न संस्कृत नै एकमात्र औषधी हो I
संस्कृत दिवसको हार्दिक मङ्गलमय शुभकामना !