सड़क चोकमा
तारा पराजुली-मोरङ, नेपाल
यहाँको दैनिकी
तपाईंलाई थाहै छैन,
अरूहरूले सपनाको झाङबाट
बयर झारिरहँदा टिपिरहँदा
उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ;
जीवनकै पहिलो डुङ्गा
यही चोकबाट तारेको हो उसले
आज चालीस वर्षपछि पनि
उज्यालो भन्दा अगाडि नै हाजिर गराउँछ आफूलाई
उही आदिम किनारामा ।
सडकले फिल्टर गरेका खुशीहरू
गन्तव्यसम्म पुऱ्याउनमै आफ्नो अहोभाग्य सम्झेर
पुरानै पहिचानको ओत लागिरहन्छ ऊ
तातोचिसो भोग्दै
लखतरान हैरान मुद्रामा …. ।
पुरानो रिक्सामा
पोतिएका छन् जीवनका सप्तरङगी रहरहरू
त्यहीँ लेखिएको छ एकापट्टि
नानीहरूको स्कूल जाने बाटो
किताब, कापी, कलम, झोला र
अभावको टिफिन बक्स
चिल्थो ओतनमाथि टाँगिएको छ
चाडपर्वको दर्दनाक र दिग्भ्रमित गुप्तलिपि
मेटिँदै गएको कोटेसनभित्र मधुरो देखिन्छ
गिरिकन्याको अर्धमुर्च्छित दिनमान !
यस्तै अत्यास बोकेर
घुमिरहन्छ यस चोकमा समय
बिहान घामसँगै निस्केका उही उमेरका अनुहारहरू
जो माउसुलीले साङ्ला टिपेझैँ
आफ्नै अगाडिबाट रहर खोसेर लान्छन्
सत्यले पराजित बनाएपछि
घर खान नसकेर भौतारिँदै हिँडेकी छोरीजस्तै
कुनै दिन त फगत निरङ्कुश साँझ लिएर फर्कन्छ घरमा ।
ऊ त यस चोकको प्रतिनिधि पात्र मात्र
थुप्रै छन् उस्तै परिचयपत्र पहिरिएर
अभावले भिजेका नीलगिरि !
उता दाउरा थपेर
यता चुलो तताउनु छ
धुरीबाट अभिनयको रङ्ग निकाल्नु छ
लाजको नाङ्गो आकाश,
दरसन्तानलाई बाटो
सबैसबै जतन जोहो गर्नुछ ।
मालपोतको फायलमा कतै नाम भेटिँदैन
अलिकति माटो आफ्नैपुर्जा
यिनै पुकार सुनिरहन्छ
रहर किन्नु त कहाँ हो कता
उदाङ्गो छानो टाल्दै
अनुहार खुम्चियो
कपाल छाँटियो
कठै ! उसको दैनिकी …..।