सत्यको हार
गङ्गा लामिटारे
ओहायो, अमेरिका
आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य । छिमीले चिराङ्गै भरि आतङ्ग मचाएको थियो । कृष्णवीरलाई पक्रन छिमी दुइपटक आइसकेको थियो । तर कृष्णवीरकी श्रीमती साह्रै बाठी । बुढा बिरामी भएर थिम्पू गएका छन् भनेर छिमीलाई दुइपटक नै ढाँटिदिएकी थिइन् । उनि जसोतसो बुढा त थिम्पू गएका छन् भनेर छिमीलाई छक्याउन सफल हुन्थिन् । जब जुलुसमा ठुल्ठुला भाषण छाँट्ने छोराहरू खोइ भनेर छिमी दैलो फोरेर भित्रपस्दा भने रुपमती निरुत्तर हुन्थिन् । घरमा आउने बित्तिकै हामीलाई खबर गर्नु, नत्र तिमीलाई पनि जेलमा हाल्दिन्छु ! भनेर रुपमतीलाई धम्क्याँउथ्यो । जहिले मध्यराति छिमीको टोली गाउँमा मानिसहरू पक्रन आउँथ्यो । रातै नपर्दिए हुन्थ्यो भन्ने लाग्थ्यो रुपमतीलाई । तर रात पर्नु र दिन हुनु मानिसको बसको कुरा थिएन । यो त प्रकृतिको नियम हो । मानिसले आफ्नो धर्म छोड्नसक्छ । तर प्रकृतिले कहिले आफ्रनो धर्म छोडेको छैन । दिनलाई रात र रातलाई दिन बनाउने क्षमता पनि मानवमा हुँदो हो त भूटानमा नेपाली जातिको नामोनिसान हुने थिएन । प्रकृतिले साथ दिएकै कारण नै ज्यान बचाएर भाग्न सफल भए धेरै जसो । कृष्ण्वीरका ५ भाइ छोरा थिए । जेठो कमल थिम्पूको एउटा स्कुलमा पढाउँथ्यो । माइलो सुमन भूटान पुलिसमा जागिरे थियो । साइँलो प्रेम र काइँलो भागवत अक्टोबर २३ का दिन डम्फूमा भएको जुलुस प्रदर्शनमा संलग्न भएका थिए । प्रजातन्त्र र मानवअधिकारका लागि गरिएको जुलुसलाई भूटान सरकार देश विरोधी कार्य भन्थ्यो र जुलुसमा भाग लिनेहरुलाई खोजी खोजी पक्रँदै आर्मी क्याम्पमा लगेर कुट्थ्यो । कृष्णवीरका छोरा प्रेम र भागवतको नाम सेनाको कालो सूचिको अग्रस्थानमा थियो । आर्मीले पक्रने डरले उनीहरू देश छोडेर भारत पसिसकेका थिए ।
कार्तिक मंगसीरको चिसो ठिहिरो ! कालो तुसारोले ढ्याप्प ढाकिएको धर्ती ! आकाशै भुइँमा खसे जस्तो जाडो ! जस्तै जाडो भए पनि आर्मीबाट बच्नसकियो भने केही महिनापछि त तातो अवश्य फिर्नेछ, यही आशामा कृष्णवीर साँझमा केही तातो खान्थे । ठुलो साँझ पर्नसाथ एउटा धुसा बोक्थे र आलेखोल्साको हात्ती-ढुङ्गे ओडारतिर लाग्थे । निद्रा त उनलाई किन लाग्थ्यो ! उनि सुतेको अभिनय मात्र गर्थे । सुत्न पनि कसरी हाम्रा घरमा को आयो भनेझैँ ओडारमा बिषालु सर्प र बिच्छीहरूले कृष्णवीरलाई सताउँथे । हरेक रात सर्प र बिच्छीहरूसँग लुकामारी खेल्न कृष्णवीर अभ्यस्त भइसकेका थिए । चेतनशील मानव भन्दा विषालु सर्प र बिच्छी नैं कृष्णवीरका लागि अभिन्न मित्र बन्दै गएका थिए । परिस्थिति पनि कस्तो ! मानिसदेखि नै ज्यान बचाउन जङ्गल पसेका कृष्णवीरले जीवनमा यस्तो अवस्था पनि भोग्नुपर्छ भन्ने कहिले पनि सोचेनन् ! हिजोसम्म दुधदही र घिउ किन्न आउने सरकारी अफिसरहरू नै कृष्णवीरलाई देशद्रोही भनेर पक्रिन खोजी रहेका छन् । दूध,दही बोक्ने हातमा हातकडी र राइफल बोकेर सैनिकहरू कृष्णवीरलाई खोजिरहेका छन् । राजा दाहिना हुन्जेल कृष्णवीरको मान थियो । इज्जत र प्रतिष्ठा थियो । छोराहरू जुलुसमा गएकै १५ दिनपछि कृष्णवीरको मण्डल पद खोसियो । काम्नी खोसियो । घरमा सुत्ने निद्रा खोसियो । सुख शान्ति सबै खोसियो ।
चिसो ओडारको लामो बसाइले कृष्ण्वीरका हात खुट्टा र आँखाहरू सुन्निन थाले । सर्दीले नाक बग्न थाल्यो । घाँटीमा कफ जम्यो, ख्वाक ख्वाक गरेर खोक्न थाले । ६० वसन्त बिताएका बुढानै रहेनन् भने यो घर र सम्पत्तिको के अर्थ भन्दै रुपमती भावुक भइन् । बिरामी लोग्नेका लागि चाँडो चाँडो ज्वानाको झोल बनाइन् । बटुकामा तातो झोल हाल्दै रुपमतीले भनिन्“कहिलेसम्म यसरी ओडारमा बस्ने हजुर ? सबै टाठा-बाठाहरू जति रातिनै नेपाल भागीसके । भोटेको कुटाइ खाएर मर्नुभन्दा बरु तपाईँ पनि नेपालतिर जानूस् “। श्रीमतीको सुझाव सुनेर तातो झोलको चुस्की लिनुअघि श्रीमतीसँग भने “जान त जानु, कहाँ जानु बुढी आफूले नेपाल त सुनेको मात्र हो देखेको छैन ।” हुन पनि कृष्णवीरले नेपाल टेकेका थिएनन् । उनले जीवनमा दुईपटक भूटान छोड्नुपरेको थियो । एक पटक कामख्या माइको दर्शन गर्न जाँदा र अर्को पटक काफ्ले काइलाको छोरा डम्वरसिंगको आप्टेका जन्त जाँदा । यसपालिको बालाचतुदर्शीमा पशुपतिनाथको दर्शन गर्न जाने कृष्णवीरको योजना थियो । देशमा आतङ्क छायो ! भाग्यले साथ दिएन ! तीर्थ जाने मिति भन्दा दुइदिन पहिलै ज्यान जोगाउन ओडार पस्नुपरो कृष्णवीरले ! कृष्णवीरको दया लाग्दो उत्तर सुनेर रुपमतीका आँखा रसाए । कृष्णवीरले नदेखून भनेर मजेत्रोको फेरले आँसु पुछ्दै रुपमतीले भनिन् “हेमलाल,देउमान र नारायण खनाललाई पनि अघि राती पक्रेर लगेछ । नेपाल जान्छु नभनेसम्म रब्बीको डण्ठाले कुट्नुसम्म कुट्यो रे । नारायण र हेमलाल बाजेले दुई डण्ठा खाने बित्तिकै पार्टीलाई ५ हाजार चन्दा दिएको हो हजुर भन्दै देश छोड्ने काजमा पनि सही छाप गर्दिएछन् र थप कुटाइबाट बचेछन् । तर देउमान र खरेल जेठाले चाहिँ मारे मार तर देश छाड्दैनौ भनेछन् ।” श्रीमतीको कुरा सुनेर त्रसित हुँदै कृष्णवीरले भने‘अनि तिनीहरूलाई चाहिँ के गरेछ नि’ श्रमतीले पल्याक पुलुक हेर्दै एकैसासमा भनिन्” उनीहरूलाई त कुट्दा कुट्दै विहोस पार्यो अरे । र रातिनै थिम्फू जेल पठायो अरे । आज डम्फू बजारमा कालीकोटे बाबैले भनेको ।”
थिम्पूमा हुने छोराहरूको अवस्थाबारे न कृष्णवीरुलाई नै थाह थियो न गाउँमा हुने बाबु आमाको जानकारी थिम्पूमा बस्ने छोराहरूलाई नै । दक्षिण भूटानका ६ वटै जिल्लाहरूको राजधानी थिम्पूसँग सञ्चार र सम्पर्कहरू सबै अवरुद्ध थिए । केही राष्ट्रिय सञ्चारका साधनहरू आर्मीका नियन्त्रणमा थिए । सरकारी अधिकारी,आर्मी र पुलिस सिबाय अन्य मानिसहरूका लागि आवागमनका साधनहरूमाथि पूर्ण प्रतिबन्ध थियो । बजारमा नुन,तेल र चामल जस्ता दैनिक उपभोग्य वस्तुहरूको बिक्रीवित्तरणमा समेत रोक लगाइएको थियो । दोकानदार र व्यापारीहरूको लाइसेन्स् र अन्य आवश्यक कागजपत्रहरू सबै जफ्त गरिएको थियो । न्यायालय र शिक्षण संस्थानहरु पुलिस र सशस्त्र सेनाका ब्यारेकमा परिणत भएका थिए । दक्षिणभरि सासै फेर्न नसक्ने उकुसमुकुसको साम्राज्य थियो । कृष्णवीरका घरमा कान्छो छोरो राजन, श्रीमती र स्वयम् गरी ३ जना बसोबास गर्थे । दिउँसो दिउँसो आएपनि कृष्णवीरको २ महिनादेखि घरमा बास थिएन । कृष्णवीराई आर्मीको कुटाइबाट बचाउन रुपमतीलाई आपत् परिरहेको थियो । श्रीमतीको पटक पटकको आग्रह र छिमेकीहरूको सुझावपछि कृष्णवीरले घर छोडेर नेपाल जाने मन बनाए । उनको मन त मानिरहेको थिएन । तर पनि श्रीमतीको आग्रह र मित्रजनहरुको सल्लाह नमाने कृष्णवीरलाई धरै थिएन । कि देश छोड्नु पर्यो कि त आर्मीसँग आत्मसमर्पण सिबाय उनीसँग अर्को विकल्प पनि थिएन । लुगाफाटा र केही खाने कुरा झोलामा हालेर कृष्णवीरुलाई दिँदै रुपमतीले भनिन्” सलामी र गोपिनीमा पनि आर्मी छ्यापछ्याप्ती बसेकाछन् भन्छन् । साँझ पर्नुभन्दा पहिला नै लालीखर्क काटिहाल्नु । दिउँसो डराइहाल्नु पर्दैन, र पनि होसियारीका साथ जानु । भाग्यवश बाटोमा अरू साथीहरू पनि भेट्नुहुनेछ ।”श्रीमतीका अगाडि ‘हुन्छ, त्यसै गर्छु त’ भने कृष्णवीरले तर मन गह्रौँ भएर आयो । श्रीमतीसँग बिदा भएर हिँड्न खोज्छन् तर पाइलो सरेन । मन दह्रो बनाएर उनी आँगनमा निस्किए । कुइँ कुइँ गर्दै पाङ्ग्रे कुकुर आयो र कृष्णवीरका खुट्टामा लुटुपुटु हुनथाल्यो । मानौँ मलाई एक्लै छाडेर नजानुहोस् मालिक भनेर आग्रह गरेझैँ लाग्यो कृष्ण्वीरलाई । १० वर्षअघि भोटे मितले उपहारमा दिएको आँखै नउग्रेको छाउरो । छोराछोरी जस्तै स्नेह गरेर हुर्काएको पाङ्ग्रेप्रति कृष्णवीरुको स्नेहको सागर उर्लियो । पशु भए पनि पाङ्ग्रे धेरैकुरामा मानिस भन्दा चलाख थिायो । कुनै पनि शंकाजनक र अपरिचित मानिसहरूका लागि पाङ्ग्रे कठोर थियो । उसको अनुमतिविना मानिस मात्र होइन ,स्याल,ब्वाँसो र चितुवा जस्ता जानवरहरुलाई पनि आफ्ना जमिनभित्र पस्न दिँदैनथ्यो पाङ्ग्रे । बन्दुक बोकेका आर्मी आएका देखेरे कुइँकुइँ गर्थ्यो र सिकुवाको खाटमुनि पस्थ्यो । पाङ्ग्रेसँगको बियोग हुने भयबाट कृष्णवीर भावुक बने । भोक लाग्दा कुइँकुइँ गर्दै खुट्टा सुँघ्ने पाङ्ग्रेको बानी सम्झेर भित्रभित्रै भक्कानिए कृष्णवीर । उनी जति टाडिइन खोज्थे त्योभन्दा बढी आत्मीयता पाङ्ग्रेसित गाँसिदै जान्थ्यो । यस्तै के के संझिदै कृष्णवीर आँगनका बीचामा पुग्नलागेका मात्र थिए । कटेरामा बाँधेको साँझको एक पाथी दूधदिने माली गाईले ड्वाँ ड्वाँ गरेको सुने । माली गाईको आवाजले कृष्णवीरको पाङ्ग्रेप्रति पोखिएको स्नेह र सद्भावको डोरी छिनायो । मेरो अभावमा मालीलाई घाँसपानी कसले गर्छ दूध दूहेर कसले बजार पुर्याउँछ, भनेर कृष्णष्णवीरका मनमा प्रश्नै प्रश्नको थाक लाग्यो । उनको मन माली गाईमाथि गएर थुर्यो । मालीलाई त केही क्षण भुल्न पनि सक्थे होला कृष्णवीरले, तर टाट्नामा बाँधेको सानु बाछोलाई कसरी बिर्सिन सक्थे । फेरि त्यति नै बेला अम्मा गरेर बाछो करायो । बाछाको आवाज सुनेर कृष्णवीर भावुक हुँदै टाट्नामा पुगे । बाछालाई सुम्सुम्याउँदै स्नेह र ममता दर्साए । अब यो बाछाको भाषा कसले बुझिदिएला नि नारान् भनेर विरहका वेदनाले छटपटाए । केही बोल्न खोजे कृष्णवीरले तर त्यो भाव अभिव्यक्त गर्न शब्द आएन, वाक्य बनेन । बोली निस्किएन । अव्यक्त वेदनाका पीडाहरू आँखाबाट आँसुका रूपमा वर्षाइरहे । स्नेहसिञ्चित आँसु मालीको बाछोमाथि वर्षाइरहे ,वर्षाइरहे । जीव वा निर्जीव जीवनामा आफूले आर्जन गरेका विषयहरूप्रतिको मोहबाट कृष्णवीर जति जति फुत्किन खोज्छथे त्यति त्यति कसिँदै जान्थे । पाङ्ग्रे,माली र बाछाप्रतिको मोहलाई छिनाउँदै कृष्णवीर आँगनको पल्लो छेउमा पुगे । त्यति नै बेला बारी भरि पएँलपुर भएर पाकिरहेका सुन्तलाको बगानमा कृष्णवीरका आँखा पुगे । मानौँ सुन्तलाहरू भन्दै थिए….’मालिक तपाईँको अभावमा हाम्रो दबाइपानी अब कसले गर्छ ! फल टिपेर हामीलाई कसले फेरि फल्ने फुल्ने वातावरण बनाउला !’ हुन पनि १५ वर्षदेखि छोरा छोरी जस्तै गरेर हुर्काएका सुन्तलाहरू । सुन्तोलाका रुखहरूले हामीलाई छोडेर नजान बिन्ती गरेझैँ लाग्यो कृष्णवीरलाई ।
सिजनमा सुन्तला दिने भनेर व्यापारीबाट लिएको ५० हजार बैनाको पनि कृष्णवीरलाई सम्झना आयो । अब सुन्तला टिपेर देउकी पुर्याउने मानिसै नभएपछि बैना दिने व्यापारी मित्रहरूले विश्वास घाती भनेर सराप्नेकुरा पनि कृष्णवीरुले सम्झे । ६० वर्षे जीवनमा बिर्सिएर पनि कसै माथि अविश्वास र झैझगडा नगरेको उनले सम्झे । यस्तै यस्तै सोच्दै कृष्णवीर आँगनको डिलमाथि उक्लिए । अब यो डिल काटेपछि घर देखिने छैन । नेपाल गएपछि फेरि फर्केर आइने हो वा होइन भनेर घरतिर फर्के । सबै वस्तुहरूसँग बिदा हुँदै गएका कृष्णवीरलाई घरको मायाले तान्यो । हुन पनि २ वर्षअघिमात्र जीवन भरि कमाएको सम्पत्ति सबै रित्याएर बनाएको ३ तले घर,च्यादरको छानो विभिन्न कलाकृतिहरूले सजिएको बरन्डा भएको, गाउँकै नमुनाका रूपमा निर्माण गरेको भूटानी शैलीको घर थियो कृष्णवीरको । जीवनको अन्तिम सास फेर्न बनाएको जीवनकै ठुलो पौरख । सम्पत्ति,पसिना र बुद्धि लगाएर बनाएको घरलाई बिर्सिन कृष्णवीरलाई हम्मे हम्मे भइरहेको थियो । त्यही घडेरीमा कृष्णवीरका दुई पुस्ता बिते । जुन ठाउँको माटो छोएर उनीहरू गए । त्यही माटो छोएर मर्ने कृष्णवीरको सपना थियो । मर्ने बेलामा आत्मालाई शरीर छोड्न जति साह्रो पर्छ कृष्णवीरलाई घरबार छाड्न त्यो भन्दा गाह्रो भइरेको थियो ।
विद्यालय जस्तो पवित्र संस्था डम्फू स्कुल आर्मीको ब्यारेक बनेको थियो । स्कुलको एउटा कोठामा लगेर कृष्णवीरलाई आर्मीले कुट्न थाल्यो । रब्बीको दश डण्डा पिठ्रयुमा बजारिएसँगै कृष्णवीर अइया,पानी भन्दै भुइँमा पछारिए । बिहान १० बजे उनको होस खुल्यो । कृष्णवीरको होस खोल्नेबित्तिकै छामी आएर “पार्टीलाई डोनेशन कति दिइस् ओए बुरा” भनेर पुनः धम्क्याउन थाल्यो । मैले आन्दोलनका नाउँमा कसैलाई पनि एक पैसा दिएको छैन हजुर भनेर कृष्णवीरले हात जोडे । बुढाले कुरा बिगारे ! अब मार्ने भो भनेर छिमीको कठोर यातनाको अनुभव भोगिसकेका केही मानिसहरू पर्तिर कोठाबाट हातको पञ्जा देखाएर ५ हजार दिएको भन्नु भनेर सङ्केत गर्दैथिए । तर कृष्णवीरले सत्य छोडेनन् । छिमीले घोप्टो पारेर पिठ्युमा डण्डा बजारिरह्यो । तर पनि उनले दिएको छैन भनेर बिहोस नहुञ्जेलसम्म भनिरहे । ४ घण्टापछि कृष्णवीर पुनः होसमा आए ।यमराजले छोड्ला तर छिमीले छोडेन । छिमी एउटा हातमा कागज,कलम र अर्को हातमा फेरि त्यही डण्ठा लिएर आयो । पार्टीलाई ५ हजार डोनेशन दिएको हो भनेर छिमीले कृष्णवीरलाई खाली काजमा सही गर्न धम्क्यो । अब बाँचिँदैन भन्ने कृष्णवीरलाई पक्का भयो । यतिकैमा पल्लाकोठाबाट एकना पीडितले हो भन नत्र मार्छ भन्ने सङ्केत गरे । कृष्णवीरले उनको सङ्केत बुझेर ५ हजार दिएको हो हजुर भनेर शिर हल्लाएर स्वीकृति जनाए । जीवनमा पहिलो पटक कृष्णवीरले असत्यलाई बोले । असत्यालाई सत्य बनाउँदापो देश छोड्नु पर्दैन भन्ने कृष्णवीरलाई थियो, तर त्यसो भएन । ३ दिनभित्रमा राजीखुसीसाथ देश छोडेर जान्छु भन्ने काजमा पनि सही गर्नुपर्यो कृष्णवीरले । सत्य बोल्दा पनि कुटाइ खानुपर्यो । असत्य बोल्दा देशै छोडेर हिँड्न विवश हुनुपर्यो । नचाहेर पनि असत्यको जीतलाई स्वीकार्नु पर्यो कृष्णवीरले । ३ पुस्ता बिताएको भूमि छाडेर बिदेशिनु पर्यो । सधैँ सत्यको जीत हुन्छ भन्ने विश्वप्यापी मान्यता हो । तर कृष्णवीरका लागि सत्य पनि असत्य सिद्ध भयो । उनका मनमा सधैँ सत्यको हार र असत्यको जीत बनिरह्यो ! बनिरह्यो !