सत्संगको फल
डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका
सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका सामु क्रोधित हुँदै उफ्रियो । भन्न थाल्यो तँ पाखण्डी होस् ! तँ ढोंगी होस् ! हाम्रा गाँउमा पसेर मान्छे भड्काउँछस् ! उ खुब रिसायो । निकैबेर बुद्ध चुप लागेर सुनिरहे । बुद्धको कुनै प्रतिक्रिया न देखेर डाकु झन् रन्कियो । भन्न थाल्यो ‘म तेरो हत्या गर्छु’ ।
डाकुले बुद्धलाई हात छोड्नै आँटेको थ्यो, मूर्खको औषधी हुँदैन भन्थे I तर आज म एउटा वाणीरुपी औषधीको प्रयोग गर्नुपरो भन्ने शोचेर बुद्धले शान्त हुँदै त्यस डाकुलाई भने – ‘ ठिक छ तिमि मलाई मार्न सक्छौ, तर मेरो एउटा प्रशनको उत्तर तिमीले दिनुपर्छ’ । डाकुले बुद्धको प्रस्ताव स्वीकार्दै भन्यो -‘ठीक छ सोध ,के सोध्नु छ !’ बुद्धले विनम्र हुँदै भने -‘ डाकु भाइ तिम्रा घरमा पाहुना आउँछन् कि आउँदैनन् ? ‘अँ आउँछन् !’ डाकुले भन्यो ।
बुद्धले आफ्नो प्रश्नलाई अघि बढाउँदै भने -‘उसो भए मानिलेउ तिमी घरमा खाना पकाएर खान तैयार गर्दैगर्दा तिम्रो हितैषी मित्र आएको देखेर तिमीले उसलाई नसोधिकन खाना पस्कियौ र दुई भाग लगायौ, अनि मित्रलाई खान बोलायौ । तर, तिम्रो मित्रले खाना घरमै खाएर आएँ, म खाँदिन, तिमि खाऊ भने, उनले खान मानेनन् । त्यो अवस्थामा मित्रलाई पस्किएको खाना के गर्छौ, फ्याँक्छौ कि राख्छौ ?
डाकुले भन्यो मूर्ख साधु ! पकाएको खाना किन फ्याक्नु ? म मेरो भाग खाएर मित्रको भागलाई त्यही भाँडामा हालेर राख्छु अनि बेलुका खान्छु ।
बुद्धले भने – ओहो तिमी त धेरै बुद्धिमानी रहेछौ डाकु भाइ । तिमीले यतिबेरसम्म मलाई पस्किएको क्रोध र भय पनि मैले स्वीकारिन । त्यो तिम्रै भाँडामा राख ।
डाकु तिन छक्क परो र थुचुक्क भुइमा बस्यो । उसका आँखा पश्चात्तापले रसाए । उ बुद्धका पाउमा आफ्नो टाउको राखेर रुँदै क्षमा माग्न थाल्यो ।
बुद्धले डाकुलाई उठाएर र अंकमाल गरे । डाकु अब बुद्धको शिष्य बन्यो ।
उसले जीवनमा फेरी क्रोध,ईर्ष्या,घमण्ड,छल,कपट,लोभ आदि शत्रुलाई आउँन दिएन,उसले आफ्ना मनका सबै दुर्भावनाहरूलाई जीतेर एक सन्त बन्यो । डाकु अब डाकु होइन , एक सज्जन भक्त बन्यो । उसले बुद्धको संघमा रहेर धेरै बर्षसम्म बुद्धलाई धर्म प्रचारमा सहयोग गर्यो ।
त्यसैले मानवले सज्जनहरूको संगत गर्दै गर्नु पर्छ । भड्किएको मनलाई नियन्त्रण गर्न र दिशाहीन अवस्थाको अन्धकारबाट बच्ने महामन्त्रहरू र मार्गदर्शन मिल्दछन् । जसले गर्दा जीवनको नयाँ आयाम थपिन सक्छ । त्यसैले संस्कृतमा एउटा भनाई छ -‘सत्संगति कथय किं नकरोति पुंसाम्’ अर्तात् सत्संगतिले मान्छेलाई मानव बन्न सहयोग गर्दछ ।