सन्देश प्रेयसीलाई
मलाई थाह छ तिमी चाहन्छौ
एउटा कोठाजस्तै कोठा होस,
कोठामा झ्यालहरू हुन्
एउटा ढोका पनि होस्
ती ढोका र झ्यालहरू बन्द हुन्
पर्दा लगाइएका हुन्
नीलो मधुरो बल्ब जलाइएको होस्
हूँ म तिमीसँग र सन्नाटा पनि
अनि खोलूँ म,
तिम्रा लाजका पर्दाहरू सुस्तरी सुस्तरी
अनि खेलूँ म,
तिम्रो बैंसालु शरीरको एक्वारियममा
रंगीन माछा झैं,
तिम्रो भाषामा माया यस्तै हुन्छ,
सायद तिमी ठिकै छ्यौ
तर, सम्झने कोशिश गर प्रिया
हाम्रो सुहागरातसम्म गल्लीमा गुज्रियो !
तिमीसँग हिँड्दा हिँड्दै
मलाई ठेस लाग्न सक्छ
तिमीसँग म हाँस्दा तिम्रो मित्र
र, मेरो पनि रुन सक्छ
मेरो अँगालोमा तिमी झुमिरहेको बेला
मैले तिमीलाई चुमिरहेको बेला
मेरो चुम्बनको नशाले लोलित भई
आँखा बन्द गरी तिमी पुलकित भएको बेला
यमलोकको बासिन्दा भए पनि
भूलोकको वफादार जागिरे यमराजले
काम सकेर घर फर्कने बेला
सुटुक्क मलाई अपहरण गर्न के बेर,
तिमीमाथि बज्र पर्न के बेर !
छालालाई भन्दा चालालाई माया गर्ने
म भावुक मान्छे चाहन्न कि हाम्रो माया
कुनै परिसरभित्र कैदी बनोस्
मेरो इच्छा हो हाम्रो प्लेटोनिक प्रेम
सार्वजनिक हुँदै विश्वाव्यापीकरण होस् ।
यो दुनियाँलाई हाम्रो मायाका
मन्त्रहरूद्वारा दीक्षित गर्न चाहन्छु,
मायाको धर्मगुरु भई हाम्रो मायालाई
प्रचार गर्दै एउटा पुस्तादेखि
अर्कोलाई हस्तान्तरण गराएर
सनातनता कायम गर्न चाहन्छु
लैला-मज्नु र रोमियो-जुलियटलाई
नेपथ्यमा राखेर हाम्रो
प्रेमकहानीको मञ्चन गर्न चाहन्छु ।
त्यसैले म तिम्रो अनुपस्थितिमा
तिमीले चाहे जसरी
माया गर्न चाहन्छु तिमीलाई,
कविताका हरफहरूमा तिमीले भनेजस्तै गरी
तिम्रो तिर्सना नमेटिउन्जेल
तिमीलाई अघाउँजी चुम्बन गर्छु,
युग युगसम्म
जन्म जन्मसम्म !
२५ अगस्ट २००९, एड्लेड