सफल प्रेमी

रोमा लम्साल #नुरा”

-काठमाडौं/नेपाल

 

तिम्रै हो झैँ लाग्छ

ऊ … त्यो बादले आकृति

त्यसैले घुमिरहन्छ आँखा वरिपरि ,

गुलाबको वास्ना झैँ लाग्छ

तिमीले आधा  तानेका चुरोटका ठुटा,

टेबुलले स्ट्रेलाई

छातीमा टाँसेर चुपचाप लोलाएको

देखेपछि

मनले भन्छ-

तिमी छौ मेरो हृदयको छानामा स्ट्रे जस्तै

मायालु अङ्गालो भित्र

सुस्ताइ रहेका छौ प्रेमिल संसारमा।

जिउँदा प्रमाण छन् म सँग

पत्यार लागेन ? यी… हेर तिमी स्वयम्

परेली ओभाउन दिएका छैनन् तिम्रा यादहरुले

तिमी आँखामा छौ र त चुहिन्छ प्रेम

थाहा छ, युग-युग

एक अर्कालाई हेराहेर गरेर पनि बाँच्न सकिन्छ

मिलन कहाँ भएको छ र ?

नदीका दुई किनाराको ?

हैन र परिपूरक  एक अर्काका ?

अनुभूतिहरूले दुखी हुने छुट छैन मलाई

मिलन पछिको बिछोडमा पनि

नितान्त फरक कुरा हुन्

सँगै हुनु/सँगै नहुनु ,

सफल हुनु/सफल नहुनु

तर यति नै जीवन हैन

तर यति नै प्रेम हैन

यसर्थ बहुत गर्वसाथ भन्छु

म एक सफल प्रेमी !-

 

हरपल नाँचिरहन्छ यी आँखामा तिम्रै तस्वीर

सपनामा होस् या बिपना

निन्द्रा होस् या तन्द्रा

यस्तो लाग्छ-

तिमी नै मेरो पहिलो स्पर्श !

तिमी नै मेरो पहिलो प्रेम !

 

सूर्यको प्रभाती किरणले गर्छ जब स्पर्श

शुभसन्ध्या भन्दै हात हल्लाए झैँ लाग्छ

गोधूलि नाप्दै गरेको रातो सूर्यको मौन दृष्टि

शुभप्रभात भन्दै उभिएझैं लाग्छ

कहाँनेर भेटिन्छ असफलताको सुराग ?

 

तिम्रो अभाव हुन दिएको छैन हामी बसेको चौतारीले

हामीले कुँदेको देउरालीले

म गईरहन्छु र, भेटिरहन्छु उसैगरी

मेरा साथी जस्तै बनेका छन् उनीहरू

ठुस्किन्छन् भेट नहुँदा मसित

रैवारे बतास पठाउँछन्

र, बोलाई रहन्छन् बेला- बेला

 

यस्तो लाग्छ-

मलाई बोलाउने चौतारी होइन, तिमी हौ

मलाई जिस्क्याउने देउराली होइन, तिमी हौ

हामी सँगै छौं,अलग भएर पनि

म भित्रै छौ तिमी, फरक भएर पनि

यही होइन र –

साँचो प्रेमको गाथा ?

सफल प्रेमको सार ?

 

ए टुक्रिएका मुटुहरू सुन !

म त संसारको सफल प्रेमी !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *