सबुत !

सत्यवीर मगर
शरणार्थी शिविर, बेल्डाँगी

ती तिम्रै बाजे हुन्
जो धनुजस्तो ढाडले
मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई
जिन्दगी नाम दिएर
घिसारिरहेको छ पलपल

त्यो तिम्रै बाउको शरीर हो
जहाँबाट मूल फुटाएर
तिम्रो न्यायिक गर्जनको अभिलाषी पसिनाको धारा
मालिकको
सोखिन इच्छाहरूको मोल चुकाउन खातिर
वर्षातको भेल जस्तै बग्न बाध्य छन् दिनहुँ।

मेरो मित्र !
ओ…मेरो न्यायप्रेमी मित्र,
किन स्थिर छ करुणा भरिएको तिम्रो मुटु ?
यति बेला कहाँ छौ तिमी ?

के तिमी बच्चाको कलेटी ओठमा छौ ?
आतङ्क सल्बलाई रहेको
तिम्री आमाको विनीत अनुहारमा छौ ?
या, फुलझैँ फक्रेकी
तिम्री बहिनीको इज्जतको रखवाली गरिरहेको छौ ?
कहाँ छौ तिमी ?

जुगौँ पहिले
लत्पतिएको हो जाली तमसुकमा
तिम्रो च्याब्जुबाजेको औँठाछाप,
याद छ मालिकलाई
तर उसकै आँखा अघिल्तिर
दम लिइरहेको
तिम्रो भीमकाय छातीबारे
उ पनि बेखबर छ।

किन,
तिम्रो छाती
तिम्रो विचार र सपना
त्यो कागजको टुकडाभन्दा जीर्ण देखिन्छ ?

यस्तो लाग्छ
दुनियाँमा अस्तित्व नै छैन तिम्रो
वर्षौँ पहिले डी.बी गुरुङझैँ
बिकिसकेको हौ तिमी पनि।

मेरो मित्र !
ओ …मेरो न्यायप्रेमी मित्र,
निर्जीव भनिएको बादललाई हेर
र आकाशको गर्जनलाई सुन
आकाशै भएर झर्ने
वर्षाका बुँदहरू चिन
ती जम्मै बादलका अस्तित्वको सबुत हुन्।

र सक्छौ भने
पेस गर तिमी पनि
आफू अस्तित्वमा रहेको यस्तै कुनै सबुत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *