सबैको संसार
भानु ढुङ्गाना
क्यानेडा
एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ । चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने जनावरहरूमा हाहाकार मच्चिएछ । बाहिर भएका जनावरहरू यताउति भागेर ज्यान जोगाए छन् । तर एउटा बिरामी स्यालले भने त्यहाँबाट भाग्न नसकेपछि जङ्गलभित्रकै एउटा गुफाभित्र बसेछ र हसाङ-फस्याङ गर्दै स्याल गुफामा पसेछ । गाउँलेहरू आगो निभाउन भनेर जङ्गलमा गएछन् । गाउँलेहरूको अथक प्रयास पछि डढेलो नियन्त्रण भएछ । आगो नियन्त्रण गरैकै राती विशाल पानी परेछ । पानीका कारण चारैतिर भल-बाढी आएछ । त्यो भल-बाढीको एउटा ठुलो हिस्सा गुफाभित्र पसेछ । गुफाभित्र भल पसेपछि पहिलेदेखि गुफाभित्र लुकिरहेको बुढो स्यालले ए अब त पक्कै पनि आगो निभ्यो भन्ने लख काटेछ । अब भने पक्कै पनि बाँच्नेछु भनेर खुसीले गद्गद हुँदै गुफाबाट बाहिर निस्केछ । गुफा बाहिर डढेलोले सबै जङ्गल उराठ लाग्दो र भयावह अवस्थामा पुर्याएको उसले देख्यो । स्याललाई अचाक्ली भोक लागेको थियो । उसले खाने कुरा केही पनि देखेन । खाने कुराहरू नभेटेपछि भोकले उसलाई गाउँतिर डोराएछ ।
गाउँतिर लाग्दै गर्दा उसले बाटोमा एउटा घाइते मृगलाई देख्यो । डढेलोले आधा शरीर डढेको त्यो घाइते मृग लुरू लुरू हिँडेको देखेर भोकाएको स्याल निकै खुसी भयो । के खोच्छस् कानो आँखा भने झैँ स्यालले उफ्रिएर मृगलाई आक्रमण गर्ने बिचार गर्यो । मेरा पछाडि पछाडि मृत्यु आउँदै छ भन्ने कुरा मृगलाई पत्तै भएन । सबैलाई बाँच्ने मन लाग्छ । तर नमरी हुँदैन । मृग बाँच्ने आशा लिएर जति जति अघि बढ्थ्यो त्यति त्यति उसले मृत्युका भयावह स्थितिहरूसँग सामना गर्नुपर्थ्यो ।
अभरमा परेका प्राणीहरूको सेवा गर्ने पवित्र भावना पशुहरूमा त हुन्छ भने हामी चेतनशील मानव । दया र क्षमाभन्दा ठुलो धर्म अर्को छैन । सेवा र परोपकारभन्दा अर्को कर्तव्य छैन । संसार सबैको हो र यहाँ भएका हरेक प्राणीहरूले बाँच्न र रमाउन पाउनुपर्छ
अँजिगरको आहार दैवले जुटाउँछ भने झैँ केही दिनदेखि भोक र प्यासले अतालिएको स्याल एक्कासि उफ्रिएर मृगका अघि पुग्यो । हर्षले उद्वेलित हुँदै भन्यो ‘ए बुढो मृग कहाँ हिँडेको ?’ अचानक बाटो छेकेर सामुन्ने उभिएको कालको प्रश्न सुनेर घाइते मृग किंकर्तव्यविमूढ भयो । तर मृग धेरै बाठो र चतुरपनि थियो । तुरुन्त मृत्युबाट बच्ने जुक्ति निकाल्यो र मृगले नम्रता प्रकट गर्दै भन्यो ‘मित्र स्याल, यस डढेलोले हाम्रो घर मात्र नष्ट गरेन अपितु धेरै हाम्रा मित्रहरूलाई पनि खरानी बनायो । त्यसमा केही बलियाहरूले भागेर ज्यान जोगाउन सफल भए । तर सुत्केरी, बिरामी र अशक्तहरूले व्यर्थमा ज्यान गुमाउनु पर्यो । स्याल दाइ, एउटा बुढो स्याल अस्तिकै दिनदेखि गुफामा फसेको छ । उसको शीघ्र उद्धार गर्नुपर्छ भनेर मानिसलाई सहायता माग्नका लागि गाउँ हिँड्दै गरेको भन्ने जबाव दियो, मृगले ।
मृगको चलाखी बुझे झैँ गर्दै स्यालले भन्यो
‘सब्जी घरमै आइपुग्यो भनेर काटेर खाए भने?’
‘मेरो पीडा देखेर मानिसहरूलाई अवश्य दया जाग्नेछ । विपत्तिमा परेका बेला तिमीले त क्षमा गर्यो भने मानिस त चेतनशील प्राणी । हाम्रो यस्तो अवस्था देखेर मानवता पक्कै पनि पग्लिने छ । र उनीहरूबाट सहयोग र सहानुभूति अवश्य पाइनेछ।’ मृगको सहयोगी भावना सुनेर स्यालका मनमा पनि करुणा जाग्यो । उसले भोक र आक्रमणलाई स्नेह र मित्रतामा परिणत गर्यो ।
स्यालले मनमनै भन्यो ‘वाह, कति दयालु र उदार रहेछ यो मृग ! जन्मजात शत्रुको उद्धारका लागि अर्को शत्रुसँग मित्रता गाँस्ने यस मृगको कति पवित्र र उपकारी विचार !’ अब मृगको यस महान् कार्यमा सहयोग गरेर जीवनलाई सार्थक पार्छु भन्ने उसलाई लाग्यो । पहिलाका दुर्भावनाप्रति पछुतो गर्दै स्यालले भन्यो ।
‘मित्र, यस पवित्र कार्यमा सहयोग गर्ने मलाई मौका दिन सक्नु हुन्छ ? कि नदिनु मित्र ।’
‘यस्तै मित्रको खोजीमा हिँडेको । आउनुहोस् यस यात्रामा स्वागत छ तपाइलाई ।’
मृगले भन्यो । दुवै जना हिँड्दै एउटा गाउँका नजिकै पुगेछन्। गाउँ नपुग्दै रात परेछ । रात परेको देखेपछि डराउँदै स्यालले भनेछ,
’मित्र, तिमी कोठेबारीमा गएर बस्दै गर । म चाहिँ यहीँ बस्छु । भोलि बिहान भेट हुनुपर्छ ।’
स्यालको चलाखी बुझेर मृगले भन्यो- ’किन डराएको मित्र । यति पवित्र काममा खुट्टा नकमाउनु होस् ।’
‘खुट्टा कमाएको होइन मित्र । मैले यस गाउँका धेरै बाख्रा र कुखुरा खाएको छु । उनीहरूले देख्ने बित्तिकै मेरो ढाड बाँच्ने छन् र गुफामा फसेका जन्तुहरूको उद्धार गर्ने तिम्रो योजना भताभुङ्ग हुनेछ । बरु, म यतै बस्छु,’ भनेर स्याल बारीको सानु ओडारमा गएर लुकेछ।
‘त्यसो हो भने ठिकै छ नि त,’ भन्दै मृग पनि एक सज्जन मानिसको कोठेबारीमा गएर बसेछ ।
झमक्क साँझ परेछ । त्यसै बेला त्यो घर मालिक कोठेबारी नजिकैको ग्वालीमा गाईलाई घाँस हाल्न पुगेछ । गाईलाई घाँस हालेर फर्किँदै गर्दा उसले एउटा जम्मै शरीर डढेर छट्पटाइरहेको घाइते मृगलाई देखेछ । आफूतिर आइरहेको मानिस देखेर मृगपनि डरले परपर सर्न थालेछ । मृगको अवस्था देखेर त्यस मानिसलाई पनि दया र करुणा जागेछ । मृग घिस्रिदै स्याल बसेको गुफामा पुगेछ र स्यालका कानमा सुटुक्क भनेछ,
‘स्याल दाइ, भाग्न चाहिँ नभाग्नु है भने छ।’ मृगको आग्रह स्वीकार गर्दै स्यालले पनि नभाग्ने निर्णय गरेछ ।
यसरी जन्मजात शत्रुका रूपमा रहेका स्याल र मृग एउटै गुफामा बसेको देखेर त्यस मानिसले दया, करुणा र स्नेहको हात अगाडि बढाएछ । मृगले पनि सौहार्दताको हात बढाउँदै मानवताप्रतिको हार्दिकता स्वीकार गरेछ । स्याल पनि उद्धार र कल्याणकारी कार्यमा अघि बढेका मानिस र मृगका पछि पछि लागेछ ।
यसरी स्याल, मृग र मानिस मिलेर गुफामा फसेका जनावाररूको उद्धार गर्न सफल भएछन् । अभरमा परेका प्राणीहरूको सेवा गर्ने पवित्र भावना पशुहरूमा त हुन्छ भने हामी चेतनशील मानव । दया र क्षमाभन्दा ठुलो धर्म अर्को छैन । सेवा र परोपकारभन्दा अर्को कर्तव्य छैन । संसार सबैको हो र यहाँ भएका हरेक प्राणीहरूले बाँच्न र रमाउन पाउनुपर्छ भन्ने चेत मानिसमा जागृत भयो । सबै गाउँले मिलेर पशु प्राणी संरक्षणका लागि वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरेछन् । आपसी द्वेष, शत्रुता,घृणा र वैमनष्यता बिर्सिए सबै जीव, जन्तु र मानिस एउटै परिवार भएर बाँच्ने निर्यात गरेछन् ।