समय र अर्थ
शिवलाल दाहाल
बिर्तामोड
वैशाखको पहिलो दिन,
कोठाको भित्तामा
उभिण्डो पारेर झुण्डाएको घडी देख्ता
यस्तो लाग्यो कि–
घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ
घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ
किन भने,
समयको गतिमा केही फरक थिएन
घडीका सुइराहरु विपरित दिशा घुमेका थिएनन्
समयको अभिराम गति चलिरहेको थियो
यथावत
मान्छेको आँखा हो झुकिन सक्छ
मान्छे हो दिग्भ्रमित हुन सक्छ
तर समय
दिग्भ्रमित हुन सक्तैन
गतिहीन हुन सक्तैन
दिन भन्नु
महिना भन्नु
वर्ष भन्नु
केही होइन
अनन्त समयको
एक–एक सानो प्रहर
यो नयाँ वर्ष
फगत समयको
एउटा सानो बूँद बाहेक केही होइन
फेरि पनि
कर्मभूमिमा ओ लिनु परेको छ
नयाँ उत्साह
नयाँ जाँगर
नयाँ संकल्प
र
आस्थाको हिमचुली उठाएर
घडीका सुइराहरुको गतिमा हिँड्नुपरेको छ
यो नयाँ वर्षको पहिलो दिन
पोहोर भन्दा अलिक भिन्न हुनुपर्छ
कमसेकम घडीको झुण्ड्याइमा पृथकता त आएको छ
घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ
घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ
त्यही समय र अर्थ बोध हुन्छ भने
यो नयाँ वर्षको पहिलो दिन हुँदै हो |
शिवलालजी !
घडीभित्र कति धेरै घडीहरू …… स्वादिलो, खँदिलो, भरिलो लाग्यो यो कविता मलाई l धन्यवाद !