समय र प्रश्न
– नवराज लम्साल
काठमाडौं
निमारो काटेथेँ
कुट्मेरो छासेथेँ – हिउँद डाकेर
खेत खनेथेँ – असारे गाएर
बूढा बा दरीमा बसेर
रातो टीकासँगै स्वस्ती वाचन गर्दै थिए
आमा सेल पकाउँदै
बहिनी माला उन्दै तिहारको……सानो संसार थियो मेरो !
एक साँझ चट्याड. पर्यो
बाको हात काटियो
आमाको चोली च्यातियो
बहिनी बलात्क्रित भई
सेल छरियो
आँगनभरि छरियो अक्षता………………
आज वर्षौपछि
म नदीतिरमा छु – ढुंगा मुसारेर
नील गगनमुनि छु, निराहार छु ……………
म अपराधी हुँला
मान्छे हुँ
गल्ती होलन् मेरा
तर सभ्य भनिनेहरूसँग मेरो प्रश्न छ –
दसैँको टीकाको के दोष?
तिहारको मालाको के अपराध?
नेपाली जाति हुनु
कुनै धर्म मान्नु
भिज्नु आफ्नै सँस्क्रितिमा लफ्रक्क
माग्नु आफ्ना अधिकार
कुन प्राक्रितिक सत्य विरुद्ध छ??
काटिने निमारो
छासिने कुट्मेरो
खनिने खेत
र मेरा अधिकार
एउटै एउटै कसरी हुँन्छन्??
हे समय
तिमीसँग जवाफ छ???
साभार: भूटानी कोपिला, अंक: दश