समर्पण
(लघु कथा)
मणिका शर्मा, गान्तोक (सिक्किम)
‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ । तिमी नै भन, के तिमी मबाट सन्तुष्ट
छौ ?’
लामो सास फेरेर उसले पत्नीतिर हेर्यो । निश्चल एउटा आकृति बन्यो उ । लामो सहयात्रापछि उसले पनि एका -अर्कालाई विपरीत दिशातर्फ गइरहेको पाएर प्रश्नहरु राखेको थियो ।
एउटा यात्रा, व्यस्तता र चिन्तनको बोझले थिचेर निशाले पनि एउटा दह्रो बोझ मनभित्र पालेकी थिई- के उ एउटी साँचो जीवन साथी बन्न सकी रजतको निम्ति ? झस्काइबाट बिउँझेर उसले छाम्न खोजी आफैंलाई ! दुवैबीच एउटा बोझ, एक्लोपन र तर्कहरु थिए । प्रत्येक दिन, प्रत्येक रात एउटा शून्यता दुवैले चुपचाप भोगी रहेथे । नजिक भएर पनि धेरै टाढा भएको अनुभव दुवैको निम्ति असह्य थियो । तर त्यही टाढिएको मन त्यस घरको वास्तविकता थियो । गल्ति कसको हो भनी तर्कहरु गर्दा एक अर्कालाई दोष दिने प्रसस्तै तथ्यहरु थिए । चुपचाप त्यो घरले आफूमा विद्रोह र कचिङ्गललाई अन्तरमा लुकाएको थियो !
रजत बिहान उठ्यो, निशा अघि नै बाहिर गइसकेकी थिई । रजतको मनमा व्यथा थियो । ती दुवै एक अर्काको नजिक भएर पनि आज टाढा भागी रहेका थिए । नियमित जस्तै आज पनि रजतले चिया बनायो । एउटा पर्खाइ थियो उसमा । निशाको बोझबिनाको अनुहार, रजतको मनपर्ने रंगमा सजिएको निशाको चहकिलो व्यक्तित्व रजतको जीवन थियो । एउटा मनपर्ने घर थियो त्यो आज खण्डहर भइरहेथ्यो । एक तमासको छट्पटीले उसलाई पोल्यो, सायद यही निशाप्रतिको साँचो प्रेम थियो उसको !
निशाको शरीरमा चिसो हावाले छोयो । बेगमा बढेका पाइलाले उसलाई आज अब घर फर्क भन्दै गरेको लाग्यो । चुपचाप बसिरहने, एक्लोपन रुचाउने उसको मनले रजतको सम्झना गरिरहेथ्यो । मानौं त्यो छट्पटी धेरै अघि देखिको हो । रजतको रिस र दुवै माझको शून्यता सम्झेर निशालाई वाक्क लग्यो ! वास्तवमा रजतमा यति परिवर्तन किन आयो उसले बुझ्न सकिन । यति वर्षसम्मको लामो सहयात्रामा उसले कहिले तेस्रो व्यक्तिको खाँचो अनुभव गरिन तर, आज त्यो भरोसा दिने साथी किन अर्कै भएको !
गहभरी थोपाहरु भरिए, उसले सम्हाल्न खोजी आफूलाई; त्यो भावनाको भेललाई । उसलाई हार्न मनलाग्यो रजतको घमण्डसँग, रजतको अहमसँग । उसलाई यो शून्यता, यो व्यथा रजतका अघि पोख्न मन भयो । घरको आँगनमा आएपछि उ झसंग भई, यही उसको रमाइलो संसार थियो, दुवैको सपनाको महल !
रजतलाई आँखा चिम्लिएर बसिरहेको देखेर चोट लाग्यो उसको मनमा, यो उदासी उसले दिन चाहेको प्रेमको सौगात थिएन । उसले रजतको हात समाउँदा रजतका आँखा खोलिए । दुवैले एक अर्कालाई परिवर्तन भएको पाए यो दिन । नयाँ भाव, नयाँ पल त्यहाँ उदायो । दुवैले एक- अर्काको हात दह्रो गरी समाए । त्यो मिलनमा नयाँ पाइला र समर्पणका अझै दह्रिला कसमहरु थिए !