समस्या

जीवनहरि शर्मा
इलाम,नेपाल

यो वाटिकाका सब पुष्प हामी
उद्यान नै यो बनियो बिरामी
दुष्कर्म गर्ने अब स्वाट्ट फाली
होस् एकताको मत शक्तिशाली।।१

फुल्छन् यहीँ नै बिरुवा हजार
देखिन्छ राम्रो रमणीय आज
पाखा लगाऊँ सब दुष्ट जाली
होस् एकताको मत शक्तिशाली।।२

कीटाणु पस्दै छ यता अनेक
यी फूल बास्ना लिन एक एक
पोशाक राम्रो बनिदैन टाली
होस् एकताको मत शक्तिशाली।।३

सामान्य सोच्ने तल पर्छ पर्छ
ब्वाँसो र बाख्रो भन साथ चर्छ
ती सत्यवादी जनको छ पाली
होस् एकताको मत शक्तिशाली।।४

भत्काउँदैछन् गमला र पेटी
खाए उनैले प्रिय जो लखेटी
लाऊँ नयाँ छन् बिरुवा र बाली
होस् एकताको मत शक्तिशाली।।५

इन्द्रवज्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *