समुदाय अर्थात् मागी मागीखाने भाँडो

 यतिराज अजनवी
अष्ट्रेलिया

कुनै बेला म बन्द थिएँ
तिमीले
मलाई अहिले नाउँनाउँमा खोल्यौ
ठाउँठाउँमा खोल्यौ
धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो
जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ
बट्टा खोलिएपछि कपुरको सुवास सकिन्छ
अन्डरवियर खोलिएपछि लोग्ने स्वास्नीमाझ लाजसरम सकिन्छ !
तिमीले
कैले मेरो डुँडो हात देखार माग्यौ
कैले मेरो आघात देखाएर माग्यौ
कैले मेरो कुँजो आङ देखाएर माग्यौ
कैले मेरो बुढो चाङ देखाएर माग्यौ
कैले मेरो अटल आस्था देखाएर माग्यौ
कैले मेरो दयनीय अवस्था देखाएर माग्यौ
कैले मेरो दुर्दिन देखाएर माग्यौ
मेरालागि किनेको भनेर तिम्रो आफ्नै दूरबीन देखाएर माग्यौ
अनावश्यक र अनामन्त्रित चासो देखाएर माग्यौ
कैले मेरो गलाको पासो देखाएर माग्यौ
कैले मेरो कायलपन देखाएर माग्यौ
कैले मेरो घायालपन देखाएर माग्यौ
कैले मेरो असल चरित्र देखाएर माग्यौ
कैले मेरो वृत्तचित्र देखाएर माग्यौ
कैले मेरो मनस्थिति अशान्त देखाएर माग्यौ
कैले मेरो वृतान्त देखाएर माग्यौ !
संस्था नामक पसल खोलेर तिमीले
कैले मेरो नाउँ बेच्यौ
कैले मेरो घाउ बेच्यौ
कैले मेरो लङ्गडो खुट्टा बेच्यौ
कैले त्यही खुट्टा छोप्ने जुत्ता बेच्यौ
कैले मेरो फुटेको सम्बन्ध बेच्यौ
तिम्रो सिसीमा भरेर मेरो सुगन्ध बेच्यौ
कैले मेरो अनुहार बेच्यौ
तिम्रै बाले दिएको मेरो गलाको हार बेच्यौ
मेरो हाड त कैले मासु बेच्यौ
कैले मेरो आँसु बेच्यौ
कैले मेरो कानो आँखा बेच्यौ
कैले सन्तान, शाखा बेच्यौ
कैले मेरो चिना बेच्यौ
कैले मेरो पसिना बेच्यौ !
मञ्च नाउँ गरेको दोकानको पेटीमा उभिएर
चिच्याई चिच्याई मेरो पोसाकै बेच्यौ
सबै बेचिसकेपछि अन्तमा
काटेर मेरो नाकै बेच्यौ
आजसम्मको मेरो धाकै बेच्यौ !
रहन सबैभन्दा सारो
जस्तो कि समुद्रीतटको बालुवामा पदचिन्ह
छालले नछोउन्जेलसम्म मात्र रहन्छ
बहन सबैभन्दा सजिलो
जस्तो कि कर्कलाको पातमा थोपा खस्ने बित्तिकै बहन्छ !
सामान्य आदरले नहुने
उच्च आदरले पनि नहुने
सधैं अत्युच्च आदर चाहिँने
जनाशय नबुझ्ने
हे आदरार्थी महाशय !
माग्नु भनेको बेचिनु हो
बेचिनु भनेको रित्तिनु हो
रित्तिनु भनेको सकिनु हो
तिमी समाज सेवाको बर्कोभित्रको व्यापारी हौ
यौटी वेश्याको कोटि
उच्च लाग्छ तिम्रोभन्दा कयौं चोटि
किन कि ऊ आफू बिके पनि
अरूलाई उसले कैल्यै बेच्दिन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *