सम्झनाका खण्डित आकृतिहरू

जे एन दाहाल
पेन्सिल्भिनिया, अमेरिका

यतिखेर, सम्झनाका खण्डित आकृतिहरू संयुक्त कविता कृति पुन:अध्ययन गर्दैछु। एउटा कुशल पाठक भएर पहिलो चरणको अध्ययन झन्डै चार महिना अघि नै भएको थियो। तर उस बेला समीक्षा लेख्छु भन्ने सोच नबनाएको हुँदा बुँदा टिपोट भएन।

यस कृतिमा प्राय कविका कविताहरूमा देश बोलेको छ।आफ्नो पहिचान र अस्तित्वका कुरा आएको छ। कतै प्रकृतिको बयान पनि गरिएको छ। केही ठाउँमा जीव जनावरको संवेदनमा पनि उतारिएको छ। तुम्बेहाङ लिम्बुको एउटा पद्य कविता शीर्षक ‘मृग विलाप’मा मृगको विलाप नै पढ्न मिल्छ। शिखरीणी छन्दमा प्रस्तुत उक्त कवितामा थुनिएको बाल मृगका अन्तरमनका कुरा पढ्न पाँईन्छ। यी जीव जनावरको संवेदना पढ्दा बुझ्न सकिन्छ कवि मन कत्ती कोमल छ। कत्ती चिन्तित छ।

यस्तै याम थुलुगंको ‘कमिलाहरू’ शीर्षकको कविता आएको छ। जसमा एकताको भाव झल्कन्छ। कमिलाहरूबाट सिक्न सक्ने कुरा यही हो। ‘आव्हान’ शीर्षक मणिराम थुलुङ‘मदन’ को एउटा कविताको सबै अक्षर अ शब्दबाट निर्माण गर्नु भएको छ। प्रयोगको रूपमा सुन्दर देखिए पनि पढ्न उति बिम्बात्मक छैन। कारण ‘आँखा’ शब्द पन्ध्र पल्टसम्म दोहोरिन्छन् र अरू शब्दको उच्चारणमा पनि पाठकले आन्नद लिन सक्दैन।

पृष्ठ नं. १५ ‘अमर-प्रीत’ नाम गरेको अर्को कविता अम्बिकाप्रसाद दुलालले १९८३ ड्रुकलोसेल, वर्ष चार अङ्क दुई भनेर कविले उद्रित गर्नु भएको छ। यसरी हेर्दा यी केही उमेरले पाका कविहरू भूटान भित्रै रहँदा देखिनै कविता सृजनामा लागेका थिए भन्ने प्रस्ट देखिन्छ।

आम कवितामा मूल विषय भनेको मानवीय चिन्तन नै छ। जीवन, सङ्घर्ष र व्यवहार र उर्तारचढावकै वरिपरि कविता घुम्छन्। यस कृतिमा विषय सूचिको आधारमा सन्चमान खालींग, याम थुलुङ, डेन्जोम राई र शिवलाल दाहालका चार चार कविता छन्। तुम्बेहाङ लिम्बु, लीला निशा, प्रतिमान सिवा, मनबहादुर थापा, टिकाराम राई ‘आँसु’का तिन तिन कविता छन्। डिल्लीराम आचार्य, डम्बर खरेल, प्रकाश धमलाका दुई दुई कविता समावेश छन्। यसरी नै रमेश गौतम, मित्रलाल धिताल, मणिराम थुलुगं, अम्बिका प्रसाद दुलाल, विप्लव आचार्य, पुरानाघरे, रघु ओस्ती, रुपनायारण पोख्रेल, भक्त घिमिरे, डम्बर ओस्ती, पशुपति तिम्सिना, नारायणप्रसाद उपाध्याय, गणपति दाहाल, गीताप्रसाद घिमीरे, विशु निछा, घनश्याम रेग्मी, टंक वयलकोटी, जितेन मुस्कानका एक एक कविता छन्।

पुस्तकभित्रकी एकमात्र नारी स्रष्टा लीला निशा द्वारा रचित कविता ‘ती क्याक्टस आँखाहरू’ को बिम्बात्मक कविता पढ्दा आज पनि शरणार्थी शिविरको बसाइको उत्तिकै झल्को दिन्छ। यसरी हेर्दा कवयित्रीले उक्त कविताबाट आज पनि पाठकको उत्तिकै माया पाउन सक्छिन्। सम्झनाका खण्डित आकृतिहरूमा कविहरूले कहिले छाँयाँको आकारमा, कहिले घण्टीको जीवन भएर, कहिले बिदाइको बेला भएर शिवलाल दाहाल, प्रतिमान सिवा र रमेश गौतम क्रमशः उदाएका छन्। यी कविहरू सरल वाक्य गठनमा जीवनका उर्तार-चढावहरु गम्भीर भावसहित प्रस्तुत गर्छन्। केही कवितामा भावना भन्दा अनुप्रास मिलाउन जोड दिएको पनि देखिन्छ। ‘घात’ शीर्षकको कविता त्यसको एउटा नमुना हो। कविले अनुप्रास भन्दा ज्यादा भावनात्मक प्रस्तुति तिर नै ध्यान दिंदा अझ अत्कृष्ठ लेख्न सकिन्थ्यो कि?

भक्त घिमिरेको ‘यस्तै यस्तै लाग्छ’ र प्रकाश धमलाको ‘रिटायर्ड डाक्टरको गलत औषधी’ मा सामाजिक व्यंग पढ्न मिल्छ। यस बाहेक केही फरक ‘रोबोट र मान्छे’ शीर्षकमा कवि सन्चमान खालीगंले विज्ञान कविताख्यान उतारेका छन्। सम्झनाका खण्डित आकृतिहरू सङ्ग्रहमा छवटा पद्य कविता पनि समावेश गरिएको छ।
डेन्जोम राईको ‘पर्दैन प्रिय’ पृष्ठ ११४ र सोही कविता पृष्ठ ११७ मा दोहोरिएको छ। जहाँ कि विषय सूचिको आधारमा ‘क्रम भगंगताको उत्कण्ठा’ शीर्षकको कविको सो पृष्ठमा हुनुपर्ने थियो।

सम्झनाका खण्डित आकृतिहरू, कविता कृति २०६७ सालमा बजारमा आएको हो। तिस भूटानी कविहरूका कविता सङ्ग्रहमा ११७ पृष्ठमा कविता छन् भने, पृष्ठ ११८ अन्तिम भागमा सबै कविहरूको नाम, इमेल र वर्तमान बसोबास गरेका देशको नाम उद्रित छ।

समग्रमा सम्झनाका खण्डित आकृतिहरूको दोस्रो चरणको अध्ययन फलदायी बनेको छ। झन्डै एक दसक अघि आएका यी कविता आज पनि उत्तिकै सान्दर्भिक छन्। त्यो समयमा लेखिएको भए पनि कविका दृष्टि निक्कै दूरदर्शी लाग्छन्।

यस कृतिमा शिवलाल दाहालको सम्पादन कार्य निक्कै उत्कृष्ट हुन पुगेको छ। साथै पुस्तकमै जनाइएको छ, रमेश गौतमको आर्थिक सहयोगमा पुस्तक निर्माण भएको हो।आवरण कला मणि राई र प्रकाशका रुपमा जी बी एल ओ’ नामक संस्था उल्लेखीत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *