सम्पादकीय: देवकोटा र उनको काव्यकारिता
देवकोटा नेपाली कविता तथा निबन्ध जगतका अद्वितीय प्रतिभा हुन् । खास गरिकन देवकोटा नेपाली काव्य संसारका विराट प्रतिभा हुन् । दश वर्षको उमेरदेखि कविता लेख्न आरम्भ गरेका देवकोटाको पचास वर्षको उमेर नपुग्दै काव्य–यात्रा टुङ्गियो । तर यति छोटो समयमा उनले जुन काव्य साधना गरे त्यो नेपाली साहित्य जगतको विशिष्ट प्राप्ति हुन पुग्यो ।
मुनामदन खण्डकाव्य देवकोटाको प्रथम काव्य हो र पहिलो प्रेम पनि । यो उनको काव्य–यात्राको प्रथमोत्घोष थियो, प्रतिभाको प्रस्फुटनको वैचित्त्र्यता पनि । मुना र मदन बिचको अमर प्रेमको वियोगान्त चित्रणले मात्रै होइन, नेपाली माटो र मुटुलाई स्पर्श गर्न सक्ने कला-साधना र तत्कालीन समाजलाई प्रेरित गर्ने मानवीय सन्देशले पनि देवकोटाको प्रख्यातिलाई प्रारम्भमै आकर्षित गर्यो । यस काव्यमा देखिएको उनको प्रकृति प्रेम, मानवीय भावनाको उच्च वैचारिक दृष्टिकोण तथा आध्यात्मिक र भौतिकताको अन्तर्संघर्ष उनका परवर्ती रचनाहरूमा विस्तारित र विकसित हुन पुग्दछ ।
अनेक भाषाका ज्ञाता देवकोटा, पूर्वीय र पाश्चात्य दुवै थरी साहित्य चिन्तनबाट प्रभावित र प्रेरित छन् । देवकोटाको प्रतिभा यी सबै कुरा भन्दा माथि छ । नेपाली काव्य–रचनालाई मौलिक स्वरूप, विशिष्टता र दृष्टि प्रधान गर्नु देवकोटाको महान् उपलब्धि हो । प्राचीन आर्य सभ्यता र संस्कृतिप्रति उनको झुकाव भए पनि उनी आफ्ना रचना मार्फत नेपाली माटोप्रति गर्ववोध गर्न, मानवीय आकाङ्क्षा र जीवनका महान् आदर्शहरू स्थापित गर्न चाहन्छन् । देवकोटाको साहित्य हेतु उडन्ते भावुकता र कल्पनको मायावी संसार होइन । देवकोटाले प्रकृति र मानव जीवनका उदत्तपक्ष–प्रेम, सहानुभूति, दया, सेवा, कर्तव्य र परोपकार जस्ता उच्च भावनाको विस्तारमा जोडिएका छन् ।
देवकोटाका शाकुन्तल, सुलोचना, मुनामदन जस्ता महान् काव्यहरूमा मात्रै होइन यात्री, भिखारी, पागल जस्ता फुटकर कविता र के नेपाल सानो छ, हाई ! हाई ! अङ्ग्रेजी जस्ता निबन्धमा उनको चिन्तनको गहिराई, मानवीय भावना र बौद्धिकताको सघनता पढ्न पाइन्छ ।