सम्पादकीय

इलेक्ट्रोनिक युग भूटानी साहित्य

भूटानमा साहित्य लेखनको इतिहास लामो छैन भनी  हामीले बारम्बार उल्लेख गरिसकेका छौं। सन् १९६७ मा क्युन्सेल प्रकाशनको सुरुवातसंगै भूटानमा लेखन संस्कृतिको औपचारिक थालनी भएको हो । त्यसो त यस अघि पनि लेखनका केही तरंग महसुस गरिएको भए पनि ती उति उल्लेखनीय छैनन्। भूटानभित्रबाट उस्तो उत्साहजनक रुपमा पुस्तकाकारहरु प्रकाशित पनि भएका छैनन् ।

पछिल्लो समयमा सन् १९९९ बाट देशभित्र इन्टरनेटको प्रयोग वैधानिक भएपछि भूटानी साहित्यले निक्कै सहज रुपमा इलेक्ट्रोनिक दुनिँयामा प्रवेश गरेको आभाष हुन्छ। यस कालखण्डपछि भूटानभित्रबाट ई-पत्रिकाको प्रकाशनमा निक्कै वृद्धि भएको छ। समाचारमुलक पत्रपत्रिकादेखि साहित्य र अन्य जीवन भोगाइसंग सम्बन्धित वेबसाइट र ब्लगहरुको प्रकाशन बढेको छ।  त्यसो त सन् २००० मा ५०० को संख्यामा रहेको भूटानी इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर सन् २०१० मा ५०,००० पुगेको छ। यो संख्या कूल जनसंख्या को ७.१ %  र २०००-२०१० को प्रयोगकर्ता वृद्धिको ९,९००%  हुन आउँछ । यसरी अत्यन्त छोटो समयावधिमै इन्टरनेटको प्रयोगमा भारत (६.९%) लाई समेत उछिन्दै भूटानले दक्षिण एसियामा चौथो स्थान हासिल गरेको छ ।

यता देशबाहिर  रहेका भूटानीहरुलाई पुनर्बास प्रक्रियाले इन्टरनेटको संसारसंग धेरै नजिक बनाएको छ । नेपालमा रहँदा साहित्य उत्पादन र प्रकाशनका माध्यम केही साहित्यिक गोष्ठी-सेमिनार र एकाध पुस्तकाकारमा सीमित थिए।  आज त्यो अवस्था परिवर्तित भएको छ । साहित्यका अनेकन् साइट र ब्लगहरु जन्मँदा छन् । लेखक, पत्रकार, कलाकार, संगीतकार, विश्लेषक र अन्य तहतप्काका मानिसहरुका व्यक्तिगत वेभपृष्ठले यस युगको बिकासमा आयाम थपेका छन् ।

कुनै पनि कुराको प्रवेश इन्टरनेटमा भएपछि  त्यसको फैलावट नाटकीय रुपमा बढेर जाने सम्भावनाको  सिर्जना हुन्छ। फेसबुक, ट्वीटर, माइ स्पेस, नेटवर्कट् ब्लग आदि जस्ता सामाजिक संजालको प्रयोगले साहित्यिक सिर्जनाको वितरण र फैलावटमा ठूलो भूमिका निर्वाह गरेका छन्। यी संजलाहरुमा प्रेषित लिंकहरुमार्फत सिर्जनाको संसारमा आउने पाठकहरुको संख्या उत्साहजनक छ।  अर्कोतिर यसरी प्रकाशित वेभपृष्ठका कैयन्   सामाग्रीहरु एक चोटी पनि नहेरिइकन अभिलेखमा सीमित रहने अवस्थासमेत सिर्जना हुन्छ। त्यस्तै  इलेक्ट्रोनिक जगतमा छिरेका सिर्जनाहरुको सर्वाधिकारको सुरक्षा, ती सिर्जनाहरुको मौलिकता आदिका सन्दर्भमा खडा भएका व्यावहारिक चुनौतीहरुलाईसमेत नजरअन्दाज गर्न सकिँदैन। यस अवस्थालाई कतिपय विश्लेषकहरुले मौलिकताको हत्या र लेख्ने संस्कृतिको ह्राशोन्मुखताको जटिल परिस्थिति भनी उल्लेख गरेका छन्।

यद्यपि वर्तमानको भौगोलिक प्रतिकूलता र वैश्विक संस्कृतिलाई ध्यानमा राख्दा भूटानीहरुले अवलम्बन गरेको प्रकाशनको यस प्रयोगलाई ‘आजको आवश्यकता’ भन्दा अत्युक्ति नहोला।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *