सम्पादकीय

साहित्यमा विम्ब र प्रतीकको प्रयोग — कथ्यले प्रस्तुत गर्ने अर्थपूरकका रुपमा आउने सहवर्ती अर्थ विम्ब हो र जीवनजगतका विविध सन्दर्भ र सामग्रीबाट विम्बबिधान हुन सक्छ । विम्बलाई साहित्यमा एक प्रकारको अलंकार मानिन्छ । विम्ब कृतिको भावपरिपोषक तथा भावव्यञ्जक तत्व पनि हो ।विम्बहरु रचनामा खास गरी उपमानका रुपमा आउने गर्दछन् र ती विशेष चमत्कारी ठहरिन्छन् । विम्बहरु रचनाका गहना भएकाले सर्जकहरुले विम्बको प्रयोग रचनामा स्वभाविकरुपले गर्नु पर्दछ ।

साहित्यमा विम्बका अतिरिक्त प्रतीकको प्रयोग पनि हुन्छ । कुनै अनुपस्थित वस्तुलाई अर्को उपस्थित वस्तुद्वार झल्काउने कुरानै प्रतीक हो । प्रतीककारुपमा उपस्थित वस्तुले अनुपस्थित वस्तुको प्रतीति गराउनु नै प्रतीक प्रयोगको उद्घेश्य हो भन्न सकिन्छ । नेपाली साहित्यका अग्रज स्रष्टाहरुले सहजरुपमा आफ्ना अमूल्य कृति अन्तर्गत विम्ब( प्रतीकको प्रयोग गरेको पाइन्छ । मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदिका कृतिमा प्राकृतिकरुपमा नै ती अलँकार प्रयोग भएको पाइन्छ । अलंकारले नसजिएको साहित्य र श्रृँगार विहीन दुलहीको शोभा समान नै होला । शब्दको पुनःसम्भरण नहुनु, विम्ब-प्रतीक आदि जस्ता अलंकारविनाको साहित्यिक रचना साधारण बोलचालभन्दा माथिको नहुन सक्छ । रचनाले साहित्यमा स्थान पाउन स्रष्टाले  कसरत गर्नु पर्ने हुन्छ ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *