सम्पादकीय
हाम्रो साहित्यले नवीन बाटो पहिल्याओस्
‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । आजकल नेपाली साहित्यको स्तर विश्वसाहित्यको हाराहारीमा पुगिसकेको दाबी पनि गरिँदैछ तर, केही विकसित देशहरूको साहित्यसँग दाँजेर समानान्तर नभएको विलाप अलाप्तै निराश र हतास साहित्यकारहरू पनि छन् नेपाली साहित्यजगतमा ।
अझ, केही आधुनिक बुद्धिजीवीको लालमोहर पाएकाहरू त नेपाली साहित्यका आउँदा दिनहरू अड्कलेर महत्त्वहीन मान्दै अंग्रेजीमा लेख्न चाहन्छन्, अंग्रेजीकै विकासमा जोड दिइरहेका छन् उनीहरू । अयथार्थ र अतिरञ्जित सोचको परिणामबाट आएका यी दृष्टिकोणहरूलाई आजका साहित्य सर्जकहरूले मेटाउन प्रयत्न गर्नुपर्छ ।
वास्तबमा नेपाली साहित्यलाई विगतको अवस्थाको परिप्रेक्ष्य तथा सापेक्षतामा आजलाई दाँजेर मूल्याङ्कन गरिनुपर्छ । नेपालभित्रको कुरा गर्दा विसं २००७ भन्दा पहिले र त्यसपछिको नेपाली साहित्यलाई दाँजेर विकासको लेखा–जोखा गरिए नतिजा के आउन सक्छ? त्यहाँ अवश्व स्तरको अन्तर रहन्छ नै !
त्यसपछि मात्र नेपाली साहित्यको गुणस्तरलाई छिमेकी राष्ट्रहरूको साहित्यमा दाँज्दै अन्त्यमा युरोप र अमेरिकाको साहित्यस्तरमा दाँजेर नेपाली साहित्यको विकासस्तरको मूल्याङ्कन गर्नु उपयुक्त हुनसक्छ । यसरी गरिएको अध्ययन र मूल्याड्कनमात्र वैज्ञानिक पद्धतिको हुन्छ । नेपाली साहित्यका सर्जकहरूले विश्वसाहित्यको दाँजोमा पुग्ने महत्त्वाकांक्षा लिनु नहुने अर्थ लगाउन खोजिएको भने होइन यहाँ। तर, पहिले आफ्नै र नजिक मुलुकको क्षेत्रीय साहित्यको अनुभवबाटै शिक्षा ग्रहण गर्दै हाम्रो साहित्यका अपूर्णताहरूलाई पन्छाउँदै वस्तुवादी ढाँचाबाट नेपाली साहित्यको विकासतर्फ सबै साहित्यकारहरू लाग्नुपर्छ ।
हाम्रो साहित्यको सेरोफेरो कुरामा, भूटानको न्यून शिक्षास्तर तथा पछौटे अर्थतन्त्र अनि राजनीतिक प्रक्रियाबाट लागू गरिएको जातीय दमनलाई दृष्टिगत गर्दा भूटानी ‘नेपाली’ साहित्यको अहिलेको स्तरबाट निराश भैहाल्नुपर्ने स्थिति छैन ।
अझ, निर्वासित अवस्थामा नेपाली साहित्य बहुपक्षीय प्रयासबाट विकसित र स्तरीय हुँदै आएको छ । साहित्यका विभिन्न विधाहरूमा नवीनतम कृतिहरूको रचना, साहित्यिक संस्थाहरूको स्थापना र तिनले गर्ने अन्तरक्रिया, विचारगोष्ठी तथा सम्मेलनहरू, नेपाली भाषामा अन्य भाषाका सामग्रीहरूको रूपान्तरण, प्रकाशन तथा कृतिकारलाई सम्मान दिनेजस्ता कार्यहरूले नेपाली साहित्यको उज्वल भविष्यको शुभसंकेत दिएका छन् ।
अबउसो पनि मात्रात्मक भन्दा गुणात्मक काममा सबै लागेर, बग्रेल्ती अनावश्यक नयाँ संस्था नखोली, पुराना संस्थाहरूले पनि आवश्यकतामा जन्मिएका र जन्मने संस्थारूलाई ‘सौता’ मात्र नठानेर उनीहरूसँग समझदारीपूर्ण सहकार्य गर्दै भाषा–साहित्यको गुणस्तर श्रीवृद्धिमा साझेदारी अपनाउनुपर्छ । आजको अवस्थाले भूटानको नेपाली साहित्यले प्रगतिवाद अंगाल्नुपर्ने स्थिति देखाएको छ । तर, त्यहाँको नेपाली वाङ्मय नै नछिप्पिएकोले विभिन्न प्रतिकुलतारू पार गर्नुपर्ने अवस्था पनि ज्यूँदै छ ।
पहिलो कुरा त, आजसम्म भूटानको नेपाली साहित्य कर्मकाण्डी ढाँचागत संरचनामा बन्दी भएर रहेको छ । साहित्य र भाषा परिष्कारप्रति अरुको कम सक्रियता र चासो अनि अवहेलनाले यसो भएको हो भन्न सकिन्छ ।
अर्को कुरा, सर्जकहरूलाई आर्थिक स्रोत–साधनको अभाव, शैक्षिक संस्था र साहित्यिक प्रतिष्ठानबाट असहयोग भएको र आफ्नै पनि पहुँच नपुगेको अनि कहिलेकाहीं त्यस्ता प्रतिष्ठानको हचुवामा बनाइएको पूर्वाग्रही नीति र व्यवहारले भूटानको नेपाली साहित्यलाई छुटकारा दिएर प्रगतिपथमा पाइला टेक्ने बनाउन निकै कठिन देखिन्छ ।
धर्मवादीहरूले साहित्यलाई धर्म र सम्प्रदायकै एउटा अंगको रूपमा अघि सार्न खोज्छन् भने अर्का थरीहरू धर्मको नाम आएपछि त्यो विशुद्ध साहित्य हुनै नसक्ने जोड गर्छन् । भूटानको नेपाली साहित्यमा यो धार सक्रिय हुँदै आएको छ । साहित्यमा बाहिरबाट आएको आक्रमणबाहेक सर्जकहरूभित्रैको नकारात्मक अन्तरद्वन्द यसका लागि झन खतरा सावित भएको छ । त्यो फाटो र विभाजनले साहित्यको प्रगतिमा गतिरोध आउनसक्छ ।
यसप्रति नेपाली भाषाका बुजुर्ग प्रदर्शकहरूले कपाल दुखाएका बुझिएको छैन । अबउसो भूटानी साहित्यकारहरूले आफूभित्रका जडसूत्रवादी चिन्तन प्रणाली र यान्त्रिक शैलीजस्ता दोष तथा दुर्बलताहरूबाट टाडिँदै सिर्जनात्मक प्रयोग, कलात्मक परिष्कार तथा समाज र समयानुकुल सुधारतर्फ लागेर आफ्ना भावना र विचारलाई नवीनता दिन जरुरी छ ।
सम्पादक