सम्पादकीय
पर्व र साहित्य
साहित्यको आयाम समय सन्दर्भका गतिशीलताहरुले निर्धारण गर्दछ भनी निक्कै अघिदेखि उल्लेख गरिँदै आएको हो | यही कुरा लामो समय अघिदेखि हाम्रो साहित्यमा पनि मुखरित हुँदै आएको छ | हाम्रो रहनसहन, पर्व, संस्कृति आदि भित्रका संस्कारगत कुराहरु साहित्यमा प्रतिध्वनित हुँदैछन् अनि अन्तरसांस्कृतिक बहसका छनकहरु पनि लेखिँदैछन् कतै |
देशविहीन बनाइएको भूटानी समुदायले बिगत दुई दशकदेखि धेरै कुरा गुमाउनुको पीडा उद्बोधनसंगै पर्व मनाउँदै छ | आजको अवस्था झनै पृथक छ | पृथक समय, पृष्ठभूमी, संस्कारगत मान्यता र अझ व्यस्तताको साँघुरो घेराभित्र प्रस्फुटित हुँदैछन् कतिपय एकालापहरु:
न मैंले माथ्ला घरकी
चमेलीलाई गुहारेर
आँगनको दूबो खुर्कनु छ,
न त रातो माटोले
घर पोतेर, कमेरोले सिँगार्नु छ
यहाँ त घडीको काँटाले
दिने चालसँग
मेरो प्रत्येक क्षण बितिरहेछ
भर्खरै दशैँ सकिएको छ | दशैं विजयको पर्व हो भनियो | “कति विजया, कति पराजय”को गणित एकातिर थन्क्याएर दशैंलाई पारिवारिक जमघटको अवसरका रुपमा विकसित गर्दै लगियो | आज त्यो पनि विशृंखलित हुँदैछ :
बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन दशैँमा
आमा र बाको हातबाट टिका लाइँन दशैँमा
त्यसो त भूटानी समुदायले जहाँ भए पनि संगै रहन निक्कै प्रयत्न गरेको छ | सांस्कृतिक कार्यक्रम र सामुहिक टिकाको अवसर अबको संस्कार जस्तै बन्दै जाने छ | साहित्य हाम्रा मंगलकामनाहरुलाई अर्को रुपमा मूल्यांकन गर्दै छ :
भातृत्त्वको खेत-बारीमा प्रेम बीउ छर
लिन सबै अघि बढ्छन् दिने बानी गर
सद्भावनाको गंगा जलले आत्मा पार शुद्ध
आफैंभित्र भेट्टाउने छौ महान् ज्ञानी बुद्ध।
अबको साहित्य केवल कल्पनाका जहाज चडेर भावनाको संसार मात्र परिक्रमा नगरोस् ; किन्तु आफ्ना वरिपरि असरल्लै छरिएका यी र यस्तै यथार्थहरुसँग यो नजिक पनि रहोस् – कामना गरौँ !
सम्पादक