सम्पादकीय

देश, काल र परिस्थितिले डोर्याएतिर नै सबै मान्छेहरू दौडिनुपर्ने नियति विगतदेखि वर्तमानसम्म मानव इतिहासले भोग्दै आएको कुरा हो । हामी पनि अहिले त्यही घड़ीमा आएर उभिएका छौं । हाम्राअघि अनेकौं चुनौती र सम्भावनाहरू छन् । देश, काल र परिस्थिति नयाँ भएकोले हाम्रो मनस्थिति पनि नयाँ बनाउन जरुरी भएको छ आज । हाम्रो चालचलन, सामाजिक ढाँचा, सांस्कारिक आचार, हाम्रो शास्त्र, साहित्य सबैमा रूपान्तरण-गुणान्तरण आवश्यक भएको छ । समयको गतिसँगै दौडिन नसक्ने र परिस्थितिको मोड़मा घुम्न नसक्ने मान्छेहरूले सामाजिक जीवनको खास यात्रा गर्न सक्दैनन् । हामी सामाजिक जीवनको लामो यात्रामा यात्रारत छौं ।
त्यसैले, अब हामीले पुराना, थोत्रा विचारहरू, काम नलाग्ने सन्दर्भहीन संस्कारहरू, रइस र मालिकवर्गको आरती उतार्ने साहित्यलाई पनि फेरबदल गर्नुपर्ने भएको छ अब । हामी पनि धरतीमाथि जन्मिएका मान्छे हौं, धरतीको जुनसुकै कुनामा टेक्न पुगे पनि टेकेको पाइला हाम्रै हो । त्यसर्थ, धरतीलाई ‘हाम्रो’ भन्न सिकाउने साहित्य लेखिनुपर्छ अब । हाम्रा पुर्खाले स्वदेशलाई कहिल्यै ‘हाम्रो’ भन्न सिकाएनन् । रिसाएर नराम्रो भन्दा, ‘…..चिहान’ भने अनि खुशी भएर राम्रो भन्दा पनि ‘फलामको बाकस’-सम्म भने । फलामको बाकस भनेको अन्धकार कालरात्री समेट्ने कैदखाना रहेछ । फलानाको चिहान कहिल्यै हामी मर्दाको चिहान भएन, चारदाम तिरेर हाम्रो चिहानको माटो किनिन्थ्यो त्यहाँ ! नतिजा सोही अनुरूप भयो ।
हाम्रै देश हो भनेर डटी संघर्ष गरेका भए हामीले निश्चित नै न्याय पाउने थियौं । त्यसैले अब जहाँ टेकेको छ, त्यो स्थानमा स्वामित्व जमाउने मनिस्थिति बनाउनुपर्छ, किनकि हामी धरतीका हौं र धरती हाम्रो हो । अब पुराना ती विचारलाई रद्दीमा मिल्काएर नयाँ विचार पैदा गर्ने साहित्य लेखिनुपर्छ । र, धरतीका सबै कुनाबाट सधैं सधैं अन्याय र दूराचारका विरुद्ध विद्रोहको ज्वाला ओकल्ने साहित्य लेखिनुपर्छ । मान्छेले मान्छेलाई घृणा गर्दा धर्म बुझ्ने, छिः छिः र दूरदूर गर्दा चोखो भएको बुझ्नेहरूलाई मानवताप्रेम सिकाउने साहित्य लेखिनुपर्छ । साहित्य समाजको दर्पणमात्र होइन, आत्मा पनि हो, त्यसैले हाम्रो आत्मा सामाजिक सेरोफेरोमा गतिशील हुने ढाँचाको हुनुपर्छ । हाम्रोपन नबिर्साउने तर सकारात्मक धारको परिवर्तनमुखी साहित्य सबैले लेख्नु आवश्यक भएको छ । समयको माग र परिस्थितिको आवश्यकता यही हो आज, साहित्यले नै स्वर्णीम भविष्यका लागि आमूल परिवर्तनमुखी सड़क तयार गर्नेछ । त्यसैले सबै कलमवीरहरू कलम उध्याएर नवसाहित्य सिर्जनार्थ अघि आउनुस्, हामी आह्वान गर्दछौं ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *