सम्पादकीय
साहित्य र वर्तमान
हामीले सदियौँ देखि साहित्यलाई समाजको दर्पण मानिआएका छौँ। साहित्य यस अर्थमा पनि समाजको दर्पण हो कि समाजमा जे घट्यो/भयो सहित्यदर्पणमा त्यही प्रतिविम्बित हुन्छ। यो परिभाषा अद्यापि सत्य छ। यद्यपि समाज समय सापेक्ष छ यानेकि परिवर्तनशील छ र त्यसैले साहित्य पनि समय सापेक्ष छ।
समय निरन्तर गतिशील छ र वर्तमान स्वयं पल पलमा परिवर्तनका अनेकन् लहरसँगै वेगिइरहेको छ। निश्चय पनि आज, हिजो जस्तो छैन र भोलि आज जस्तो हुने छैन । यी सबै कुरा साहित्यमा देखिइरहेका छन् हर समय।
विज्ञान, मानवशास्त्र, समाजशास्त्र, वातावरणविज्ञान, अर्थशास्त्र आदिका हरेक तह-तप्कामा आज नवीन सत्यहरु देखा पर्दै छन्। यसरी यी नवीन सत्यहरुले बाटो बनाउँदै गर्दा, ढोका खोल्दै गर्दा,यी क्षेत्रहरुमा मानिएका कतिपय सत्यहरु विस्थापित पनि भएका छन्। यी सबै कुराहरुको प्रभाव सबैभन्दा पहिला साहित्यमा स्थापित भएको छ।
आजको समाज हिजो हामीले परिकल्पना गर्ने गरेको मान्छेहरुको सानो समूह मात्र रहेन। प्रविधिले विकाशको चरमोत्कर्ष हासिल गरेको वर्तमान परिप्रेक्षमा एकातिर संसार अत्यन्तै सानो भएको छस संसार नै समाज भएको छ भने अर्कोतिर संसारका विभिन्न भागहरु एकआपसमा कहिल्यै भेट हुन नसक्ने दूरावस्था पनि झेल्दै छन् ।
विश्व परिप्रेक्षको साहित्यले धेरै चोटी काँचुली फेरिसक्यो। बुद्ध, क्राइस्ट वा गान्धीका शान्तिका आस्था हुन् वा मार्क्स, लेनिन वा माओका प्रगतिका बाटा, नित्शेका विचार हुन् वा सुकरातका दर्शन, आइन्स्टाइनको सपेक्षतावादको सिद्धान्त होस् वा हेइसेनबर्गको संदिग्धताको सिद्धान्त, यी सबै सबै साहित्यमा एकसाथ पोखिएका छन् ।
कुनै समय साहित्य स्तुतिगानमा निमग्न हुन्थ्यो, प्रेमालापका धुन सुसेल्थ्यो, कोइलीका धुनसँगै, वसन्ती हावाको झोक्कासँगै भावना र एकालापमा हराउँथ्यो कतै। समयको गतिशीलतासँगै, परिवर्तनका अनेकौँ संस्करणसँगै आफ्नो अनुहार बदल्दै आज साहित्य विचार र सिद्धान्तहरुको गतिलो भारी पनि भएको छ।
नेपाली परिप्रेक्षको साहित्य दुई दर्जनभन्दा बढी विचार र सिद्धान्तहरुलाई जन्म दिँदै परिष्कारको बाटोमा दगुरिरहेको छ। हामी आफैँ जटिल सञ्जाल भित्रबाट आफैँलाई खोजिरहेका छौँ यतिबेला।
वर्तमानको यही परिस्थितिजन्य पृष्ठभूमिमा उभिएर हामीले साहित्य लेख्नु परेको छ अब !
सम्पादक