सम्पादकीय

नयाँ वर्षसँगै उदाएको उत्साह

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
यावीणावरदण्डमण्डितकराया श्वेतपद्मासना ।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैःसदावन्दिता ।
सा माम् पातुसरस्वती भगवतीनिःशेषजाड्यापहा ।।

(जो विद्या (ज्ञानस्वरुपिणी) भगवती सरस्वती कुन्द नामक फूल, चंद्रमा, हिमराशि र मोतीको हारका समान धवल (श्वेत)वर्ण की छन् र जो श्वेत वस्त्र धारण गर्दछिन्, जसका हातमा वीणा (दण्ड) शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गरेकी छिन्  तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि समस्त देवताहरूद्वारा जो सदैव पूजित छिन् त्यस्ती सम्पूर्ण जड़त्व र अज्ञानलाई नाश गर्ने भएकी माता ।)

आज वसन्त पञ्चमी । पूर्वीय सभ्यता र समाजमा चिरपरिचित एउटा विशेष दिन जहाँ विद्या, ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको विशेष पूजा–अर्चना र बन्दना गरिन्छ । सरस्वतीलाई विद्या, कला र सङ्गीतकी आदिस्रोतका रूपमा लिइन्छ । सरस्वतीको कृपा र प्रेरणाले नै विद्याको आर्जन गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ । पूर्वीय वाङ्मयमा मात्रै होइन पाश्चात्य साहित्य पनि काव्यकारहरुले देवी–देवतालाई काव्यको आरम्भमा आव्हान गरेको पाइन्छ । यी दुवै काव्य चिन्तनले स्थापना गरेको मान्यता के हो भने एउटा महान् काव्यको रचना गर्ने सन्दर्भमा दैवी शक्तिको पनि आवश्यकता हुन्छ । यो दिन शिक्षाको पाठशालमामा प्रवेश गर्न लागेका शिशुहरूलाई अक्षर–आरम्भ गर्ने शुभ दिनका रूपमा पनि लिने गरिन्छ ।

वसन्त पञ्चमी समय परिवर्तनको सूचक पनि हो । यसै दिनबाट वसन्त ऋतुको आरम्भ भएको मानिन्छ । त्यस कारणले वसन्त पञ्चमी नव सृजनाको धोतक हो । यो समयमा नै रुख बिरुवाहरूले नयाँ पालुवा हाल्दछन्, नव बीजहरू अङ्कुराउँदछन् र धर्तीले हराभरा रूप धारण गर्दछिन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०१८ आरम्भ भएको केही दिन नबित्तै हामीले अर्को पर्व मनाउन पाएका छौँ । यस्ता दिनहरूले निश्चय नै हाम्रो जाँगर र उत्साहमा ऊर्जा थप्ने काम गर्दछन् ।

साहित्यको फाँटमा पनि हामीलाई नवीन उत्साह र क्रियाशीलता चाहिएको छ । साहित्य परिषद् भूटानले यो वर्षको आरम्भसँगै केही नयाँ कार्यनीति अघि सारेको छ । त्यसअन्तर्गत सम्पादन मण्डलीको विस्तार, प्रकाशनलाई पाक्षिक अङ्कका रूपमा विकास, पुरस्कारहरूको घोषणा र कृतिहरूको प्रकाशन छन् । लामो समयसम्म लगभग कविता र गजलमा मात्र सीमित रहेको हाम्रो साहित्यले यो वर्ष आख्यानका केही कृतिहरू प्राप्त गर्ने छ । त्यस कारण यो वर्ष हाम्रो साहित्यले हिजोकोभन्दा अलिक पृथक् र सम्मृद्ध बाटो पहिल्याउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।

विद्याकी देवी सरस्वतीले यो नव वर्ष २०१८ मा सबैमा सद्बुद्धि, ज्ञान र चेतना प्रदान गरुन् भनी वसन्त पञ्चमीको हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *